NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एसिसी प्रिमियर कपको सेमिफानइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने

काठमाडाैं । एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल भोलि बिहान ९ बजेदेखि सुरु हुनेछ । नेपाल समूह चरणको अन्तिम खेलमा हिजो कतारलाई ६८ रनले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा रही सेमिफाइनलमा पुगेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग वर्षाका कारण प्रभावित भएपछि अङ्क बाँडेको थियो । समूह ‘बी’ मा रहेको कुवेतले हिजै भएको समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनल नेपालसँगको भेट पक्का गरेको हो ।

भोलि नै हुने अर्को सेमिफाइनल खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । समूह ‘ए’ को उपविजेता ओमानले समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र कुवेत तथा ओमान र युएईबीचको विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल यही वैशाख १८ गते हुनेछ भने तेस्रो स्थानका लागि यही वैशाख १७ गते खेल हुनेछ ।