NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
पोलिसी डायलग

‘प्रशासनिक हैरानीले उत्पादन क्षेत्रमा काम गर्न मन लाग्दैन’

उत्पादनमा अन्तर्राष्ट्रिय स्ट्याण्डर्ड कायम गर्न सरकारले कुनै लगानी गरेको छैन

छिल्लो समय देशमा आयात बढ्दो छ । यो आँकडामाथि धेरैले चिन्ता जताइरहेका छन् । आयात वृद्धिमाथि चिन्ता जाहेर भइरहँदा यो अवस्था निम्तिनुका पछाडि कुन–कुन कुरा जिम्मेवार छन् ? सम्बोधनतिर जानुपर्छ ।

छिमेकी मुलुकको तुलनामा हाम्रो उत्पादन लागत धेरै छ । यसको एउटै मात्र कारण नभएर विविध छन् । पहिलो, कारण लागत समय हो । उत्पादनका क्रममा यहाँका कामदारले धेरै समय लगाउँछन् भने छिमेकी मुलुककाले कम । कुनै पनि वस्तुको उत्पादनका लागि कच्चा पदार्थ आवश्यक हुन्छ । यस्ता कच्चा पदार्थ छिमेकी मुलुकबाट आयात गर्नुपर्ने बाध्यतामा हामी छौं । यसले पनि लागत बढाएको छ । पूर्वाधारको अवस्था पनि त्यस्तै छ । जग्गा खरिद होस् या कलकारखाना निर्माण, लागत एकदमै धेरै छ । भूपरिबेष्टित राष्ट्र भएकाले सामान उत्पादन गरेर निर्यात गर्दा ढुवानी खर्च महँगो हुने गरेको छ । विकट र दुर्गम भेगबाट राजधानीसम्म सामान ओसारपसार गर्दा यातायतमा उत्तिकै रकम खर्च हुन्छ । गुणस्तर नियन्त्रणमा पनि समस्या छ । तोकिएको गुणस्तर कायम गर्न हामी अझै सफल भएका छैनौं । उत्पादित सामान बिक्री गर्न पनि उत्तिकै असहज छ ।

हामीसँग केही वस्तुहरूको उत्पादन व्यापक रूपमा गर्नसक्ने क्षमता छ । तर त्यसको गुणस्तर कायम गर्न आवश्यक पर्ने अन्तर्राष्ट्रिय प्रविधि हामीसँग छैन । सरकारले पनि यसतर्फ लगानी नगरेको अवस्था छ । कारण जति नै उत्पादन गरे पनि निर्यात बढाउन सक्ने स्थिति छैन ।

उद्यमी यी र यस्तै अनेकन समस्यामा पिल्छिएका छन् । यसबारे सरकार जानकार पनि छ । तर आजको मितिसम्म समाधान निकाल्ने गरी काम हुन सकेको छैन ।

हाम्रा उत्पादनहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जानका लागि मुख्यतः नीतिगत सुधार हुनुपर्छ । नीति, नियमलाई प्राथमितकामा राख्नुपर्छ ।

हामीसँग केही वस्तुहरूको उत्पादन व्यापक रूपमा गर्नसक्ने क्षमता छ । तर त्यसको गुणस्तर कायम गर्न आवश्यक पर्ने अन्तर्राष्ट्रिय प्रविधि हामीसँग छैन

मौजुदा जे जस्ता नीति छन्, तिनको कार्यान्वयन नहुनु पनि अर्को समस्या हो । हाम्रो नीतिले एकद्वार प्रणालीको रटान लगाएको दशकौं भयो । साँच्चै भन्ने हो भने नेपालको सन्दर्भमा नीति गज्जबको आउँछ तर प्रशासनिक संरचनाले ती कार्यान्वयनमै जाँदैनन् । एकैछिनमा हुने कामलाई पनि झुलाइरहने प्रशासनिक जटिलता यति पट्यारलाग्दो छ कि मान्छेहरूले उत्पादन गर्नुको साटो सामान नै ल्याएर बिक्री गर्न सहज मान्छन् । अझ महिलालाई त ऋण पाउनै महाभारत छ ।

कृषि कर्जा भनेर किसानले पाँच प्रतिशत ब्याजदरमा ऋण पाउँछन् । तर उदेकको कुरा त्यसबाट उत्पादित वस्तुको उद्योग सञ्चालन गर्न भने कर्जा पाइँदैन । उदाहरणका लागि टमाटर फलाउँछु भन्दा पाँच प्रतिशत ब्याजदरमा कर्जा पाइन्छ । तर त्यही टमाटरको जुस बनाउँछु भन्दा कर्जा दिइन्न ।

कृषकले उत्पादन गर्ने कच्चा पदार्थको मूल्य पनि अब वृद्धि गर्नुपर्छ । यसो गर्दा मूल्य नपाएर सडकमा तरकारी फाल्नुपर्ने अहिलेको परिस्थिति आउँदैन ।

अति सामान्य कुरा जस्तै पूजा सामग्री पनि हाम्रोमा विदेशबाट आयात हुन्छ । पूजा सामग्री हामी किन बनाउन सक्देनौं ? अहिले आयात भएर आउने अबिरमा अत्यधिक केमिकल प्रयोग गरिएको हुन्छ । जुन हाम्रो छालाको लागि समेत घातक छ । अबिर त बेसार र कागतीबाट बन्ने रहेछ । यो दुवै चिज हामीसँग छ र पनि बनाउन सकेका छैनौं ।

अबिर त छाडौं हुँदाहुँदा जनैसमेत चीनबाट आउँछ । जनै त हामीले यहींँ मज्जाले बनाउन सक्छौं नि ।

तराईका क्षेत्रमा मज्जाले उत्पादन गर्न सकिने पानसमेत हामीले आयात गरिरहेका छौं । महिला उद्यमीहरूले मज्जासँग बनाउन सक्ने अर्को उत्पादन खादा हो । जुन चीनबाट आयात भइरहेको छ ।

रासायनिक मल नपाएर हाकाकार हुन थालेको वर्षौं भयो । यसको उत्पादन नेपालमा गर्न सकिन्छ । तर सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।

अबिर त बेसार र कागतीबाट बन्ने रहेछ । यी दुवै चिज हामीसँग छ र पनि बनाउन सकेका छैनौं

बजारीकरणको समस्या पनि उत्तिकै छ । सरकारले देश–विदेशमा प्रदर्शनीको आयोजना गरिदिने हो भने यो समस्या रहने थिएन । यहीँ पनि हाम्रा स्थानीय साम्रगीको प्रवर्द्धनका लागि कोसेली घरको अवधारणा आएकै हो । तर यो त्यति प्रभावकारी हुन सकिरहेको छैन ।

यस्ता कोसेली घरहरू स्थानीयदेखि प्रदेशगतस्तरमा पनि खुल्नुपर्छ । आयात प्रतिस्थापनका लागि हामीले धेरै पनि गरिरहनु पर्दैन । हामीले यसलाई नारामा मात्रै सीमित नराखेर आफ्नै दैनिक जीवनमा पनि लागूू गर्न सक्छौं । कार्यालयहरूमा कसैलाई मायाको चिनो दिनुपरेमा आफ्नै मौलिक वस्तु उपहारस्वरूप दिन सक्छौं । हामीले गर्ने खपतमा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्यो भने सरकारले बजारको व्यवस्थापन गरिदिनुपर्छ ।

सरकारको खरिद नीतिमा पनि परिवर्तन ल्याउन आवश्यक छ । यी विषयमा व्यापक सुधार ल्याउन सरकारी कार्यालयबाटै सुरुवात गरिनुपर्छ ।

(नेपालवाचको टेलिभिजन प्रस्तुति ‘पोलिसी डायलग’मा महिला उद्यम महासंघकी अध्यक्ष निरू रायमाझी क्षेत्रीले राखेको विचारको सम्पादित अंश)