NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मुख्यमन्त्रीकै खल्तिबाट रू. ५० हजार चोरिएपछि…

काठमाडौं । आइतबार बिहान मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठकै अगाडि आफू असुरक्षित भएको गुनासो पोखे ।

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटनका लागि मन्त्री श्रेष्ठ जनकपुरधाम पुगेका थिए । उद्घाटन सभामा विशेष अतिथि रहेका मुख्यमन्त्री यादवले सभामुख हुँदा गृहजिल्ला गएको बेला आफ्नो गोजिबाट रु. ५० हजार चोरी भएको सुनाए ।

मर्यादाक्रममा सातौं स्थानमा रहेका भीआईपीले नै असुरक्षित रहेको गुनासो पोखेपछि सबैलाई स्तब्ध बनाएको थियो । यसैगरी वैशाख १० मा भएकाे उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवको विजय जुलुसमा सहभागी भएको समयमा पनि पैसा चोरी भएको भन्दै उनले सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठाए ।

‘यसअघि म सभामुख हुँदा गृहजिल्ला गएको थिएँ । त्यतिबेला मेरो गोजी नै काटेर रु. ५० हजार चोरी भयो । अस्ति पार्टी अध्यक्ष उपेन्द्र यादवज्यूको विजय जुलुसमा जाँदासमेत पैसा चोरी भयो’, उनले गृहमन्त्रीमाथि प्रश्न तेर्याउँदै भने, ‘जहाँ मुख्यमन्त्री र मन्त्रीसमेत असुरक्षित छन् भने जनताले कसरी सुरक्षाको प्रत्याभूति पाउँछन् ?’

यसरी सँधै कडा सुरक्षा घेराबीच रहने तीनै भीआईपीको खल्तीबाट पैसा चोरी भएको सुन्दा जो कोहिलाई आश्चर्य लाग्न सक्छ तर  मुख्यमन्त्रीले नै भनिसकेपछि नपत्याउने  कुरै भएन ।