NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

रविलाई रोजेकै मन्त्रालय दिन प्रधानमन्त्री तयार

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री र रास्वपा सभापति रवि लामिछानेबीच बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले सम्मानजनक शक्ति बाडफाँटसहित सरकारमा फर्किन प्रस्ताव गरेका हुन् ।

रास्वपाले भने स्थिर सरकारको सुनिश्चितता खोजेको छ । १० वैशाखको उपनिर्वाचनपछि प्रधानमन्त्री र चितवन २ बाट निर्वाचित लामिछानेबीच पहिलोपटक भेटवार्ता भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रास्वपालाई पुनः सरकारमा आउन प्रधानमन्त्रीले प्रस्ताव गरेको तथा सभापति लामिछानेसँग सकारात्मक छलफल भएको बताए ।

‘प्रधानमन्त्रीले सरकारमा आउन प्रस्ताव गर्नुभएको छ । उहाँहरूले पार्टीभित्र छलफल गर्छौँ भन्नुभएको छ । सकारात्मक छलफल भएको छ । शक्ति बाँडफाँटको विषय गठबन्धनमा रहेका दलहरूबीचको छलफलबाट टुंग्याउन सकिन्छ भन्ने छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने ।

रास्वपा महामन्त्री मुकुल ढकालले प्रधानमन्त्री प्रचण्ड रास्वपालाई रोजेकै मन्त्रालय दिन तयार भएको दाबी गरे । ‘अब सरकारमा आउनुस्, त्यसका लागि के गर्नुपर्छ, म तयार छु,’ महामन्त्री ढकालका अनुसार सभापति लामिछानेलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव थियो । तर, जवाफमा लामिछानेले तत्काल प्रतिपक्षमै बस्ने मनस्थिति रहेको जवाफ फर्काएको महामन्त्री ढकालले बताए । प्रधानमन्त्रीसँगको भेटमा सभापति लामिछानेले ‘एकातिर सरकार स्थिर हुने अवस्था पनि देखिँदैन । अर्कोतिर हामी नयाँ पार्टी छौँ, संगठन निर्माण केन्द्रित हुनुपर्ने सोचेका छौँ’ भन्ने जवाफ दिएको महामन्त्री ढकालले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।