NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

रास्वपाकी सांसदको नयाँ अभ्यास : रिपोर्ट सार्वजनिक गर्दै पारदर्शीताको झल्को

काठमाडौैं । मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट सांसदमा पहिलो उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले संसदमा नयाँ अभ्यासको सुरूवात गरेकी छन् ।

रास्वपाका समानुपाति सांसदसमेत रहेकी उनले हिउँदे अधिवेशनभर आफूले गरेका काम, संसदमा उठान गरेका विषय, उपस्थिति जनाएको दिन, बुझेको तलबलगायतका विषय समावेश गरी प्रगती विवरण सार्वजनिक गरेकी हुन् ।

निर्वाचित जनप्रतिनिधिहरूको पारदर्शिताबारे प्रश्न उठिरहँदा सांसद डाँगीले प्रगाती विवरणसहितको रिपोर्ट कार्ड सार्वजनिक गरेपछि उनको  अहिले सर्वत्र प्रशंसा भइरहेको छ ।

कानुन बनाउने अधिवेशनको रूपमा लिइने हिउँदे अधिवेशन १५ वैशाखमा समाप्त भएको छ । उनले संसदको पहिलो बैठक बसेको पुस २५ देखि वैशाख १५ गतेसम्म आफूले गरेका काम, संसद बैठकमा भएको उपस्थिति विवरण सार्वजनिक गरेकी हुन् ।

संसदमा गणपुरक संख्या उपस्थिति नहुँदा दुई–दुई पटक बैठक नै बस्न नसकेकाे भक्दै रास्वपाका सांसदहरूले सभामुखमार्फत ध्यानाकर्षण गराएका थिए ।

जसकाकारण विधेयक पास हुनेजस्ता महत्वपूर्ण कामहरू प्रभावित भएको छ । सांसद डाँगीको कामले संसदमा उपस्थित नभइ हाजिरी गरेर भत्ता लिने सांसदहरूलाई गतिलो झापड भएको छ ।

यस्तो छ डाँगीको प्रगती विवरण 

डाँगीले सार्वजनिक गरेको उक्त प्रगती विवरणअनुसार उनले संसदकोे जम्मा २८ वटा बैठकमध्ये २६ वटामा सहभागिता जनाएकी छन् ।
त्यस्तै, यो अवधीमा उनले संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन दर्ता गरेकी छन् ।

पुस, माघ, फागुन, चैत महिनाको तलब, फर्निचर खर्च र बैठक भत्तावापत उनले दुई लाख ६८ हजार ९३४ रूपैयाँ बुझेको उनले उल्लेख गरेकी छिन् । जसमध्ये उनले पार्टीलाई लेबी स्वरूप ७५ हजार रूपैयाँ बुझाएकी छिन्, ६ हजार ७१६ रूपैयाँ पारिश्रामिक कर बुझाएकी छिन् भने सामाजिक सुरक्षा कोषमा दुई हजार ७९३ रूपैयाँ भुक्तानी भएको जनाएकी छिन् ।

झापाकी सांसद डाँगीले आफ्नो भौगोलिक उपस्थिती, उपस्थिती जनाएका छलफल तथा सहभागी कार्यक्रम र सदनमा उठाएका विषयलाई पनि बुँदागत रूपमा उक्त प्रगती विवरणमा समावेश गरेकी छिन् ।

सांसद डाँगी आफूले रिपोर्ट सार्वजनिक गरेपछि पार्टीका अन्य सांसदले आफूले पनि अनुसरण गर्ने बताएका छन् । ‘मलाई यो काम गर्ने आइडिया आफैं आयो । किन सुरु नगर्ने ? भनेर गरिहालें,’ नेपालवाचसँगको कुराकानीमा उनले भनिन्, ‘भोलि पर्सीबाट अन्य सांसदहरूले आफू पनि यो अभ्यास गर्ने बताउन थाल्नुभएको छ ।’

राजनीतिमा सक्रिय नहुँदा डाँगीलाई नेताहरूले गर्ने काम, उनीहरूले बुझ्ने पारिश्रामिकबारे निकै कौतुहुलता हुन्थ्यो । अहिले उनी आफैं राजनीतिमा सक्रिय भएपछि जनतालाई हुने यस्तो जिज्ञासालाई मेटाउनुपर्ने जुक्ति आएको बताउँछिन् । ‘म आफैंलाई नेताले उठाउने विषय, गर्ने काम र पारिश्रामिक बारे चासो रहने हुँदा आफैंबाट सुरुवात गरौं भन्ने जुक्ति आएको हो,’ उनले भनिन्, ‘संसद सचिवालयले त सबै सांसदले उठाएका विषयको विवरण सार्वजनिक गर्छ नै । तैपनि व्यक्तिगत रूपमा पनि गरौं भन्ने लाग्यो ।’

आफ्नो गतिविधिबारे पारदर्शितामात्रै नभएर यो अभ्यासले अर्को अधिवेशनमा झन् राम्ररी काम गर्न उत्प्रेरणा दिने पनि उनको बुझाइ छ । ‘यो अधिवेशनमा समिति नबन्दा काम नै गर्न पाइएन । अधिकांश समय निष्क्रिय भएजस्तो लाग्यो,’ उनले भनिन्, ‘यो रिपोर्ट हेरेपछि अर्को अधिवेशनमा झन् धेरै काम गर्छु भन्ने प्रेरणा जाग्छ । आफ्नै लागि सुधारको कडी हुन्छ ।’

पहिलोपटक संसद प्रवेश गरेकी डाँगीलाई सांस्दमा उपस्थिती नजनाउनेहरूदेखि अचम्म लाग्ने गरेको बताउँछिन् । ‘कतिपय त हाजिर गर्ने अनि जाने । उहाँहरू जानुहुन्छ चाहीं कहाँ ?,’ उनले गुनासो गरिन्, ‘कतिपय त बैठकमा एक शब्द पनि बोल्नु हुन्न । बोल्दै नबोल्ने हो भने उहाँहरू सांसद किन बन्नुभएको होला जस्तो लाग्छ ।’ यस्ता समस्यालाई चिर्नका लागि बरू सबै सांसदलाई व्यक्तिगत रूपमा आफ्नो प्रगती विवरण सार्वजनिक गर्न लगाउनुपर्ने उनको बुझाइ छ ।