NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नक्कली शरणार्थी प्रकरणबारे नारायणकाजी– जोसुकै तानिऊन्, पछि हट्दैनौं

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमाथिको अनुसन्धान र छानबिन केही दिनदेखि चर्चामा छ । यो प्रकरणमा बहालवाला सचिवदेखि मन्त्रीका पूर्वसल्लाहकारसम्म पक्राउ परिसकेका छन् भने एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यो संगठित ठगीमा पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत तानिएका छन् ।

संगठित ठगीमा संलग्नको आरोपमा आफ्ना पार्टीका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमालेले कस्तो भूमिका खेल्छ भन्ने चासो थियो । विगतमा गतल गतिविधिमा जोडिएका नेताको बचाउमा उत्रिँदै आएका ओलीले यो प्रकरणमा पनि उही पुरानै शैली दोहोर्याएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग रायमाझीविरुद्ध छानबिन गरिएको विषयमा नै आपत्ति जनाएका छन् । पक्राउ पुर्जी जारी गरिएकोप्रति त उनले आक्रोस नै पोखेका छन् ।

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि यो प्रकरणमा संलग्न रहेको विभिन्न व्यक्तिका वयानलाई उद्धृत गर्दै समाचार बाहिर आएका छन् ।  ठगी गिरोहमा संलग्नको आरोपमा पक्राउ परेका व्यक्तिले सचिव टेकनारायण पाण्डेमार्फत मन्त्रीसँग चिनजान गरेर पछि उनीमार्फत नै यो काम अघि बढाएको र यसबापत आर्थिक लाभ लिएको बयान दिएका छन् । टोपबहादुरमाथि पक्राउ पुर्जी जारी भइसक्दा खाणसँग भने अहिलेसम्म कुनै वयान लिइएको छैन । शरणार्थी ठगी प्रकरणमा सत्तासाझेदार दलकै नेता संलग्न भएकाले कतै यो छानबिन एमाले अध्यक्ष ओलीले दाबी गरेजस्तो प्रतिशोध र पूर्वाग्रहीपूर्ण हुने त होइन भन्ने आशंका अहिले उत्पन्न भएको छ । लहरो परैसम्म जाने भएकाले त्यत्तिकै फासफुस हुने अनुमान पनि भइरहेका छन् । प्रधानमन्त्री प्रचण्ड र गृह मन्त्री श्रेष्ठ यो प्रकरणमा हात हालेका कारण अप्ठ्यारोमा परेकाले फेस सेभिङको खोजीमा लागेको चर्चा पनि चलेका छन् ।

तर गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो प्रकरणमा दोषी देखिएकालाई कुनै पनि हालतमा नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अनुसन्धान प्रक्रिया चलिरहेकाले टुंगिनेबित्तिकै दोषीउपर कारबाही गर्ने भन्दै उनले ढुक्क हुन आग्रह गरे ।

‘अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्‍याएर दोषी र अपराधीलाई कारबाहीको विन्दुमा पुर्‍याउँछौं । त्यसमा ढुक्क हुनका लागि म आग्रह गर्न चाहन्छु,’ शनिबार एक दैनिक पत्रिकासँग संक्षिप्त कुराकानी गर्दै उनले भनेका छन् ।

यो प्रकरणलाई निस्तेज पार्न भइरहेका दबाबका सन्दर्भमा उनले प्रष्ट पारेका छन् । मन्त्री श्रेष्ठका अनुसार, कसैले पनि भ्रष्टाचार, ठगीजस्ता अपराधजन्य कार्यको समर्थन गर्न हुँदैन । यदि कसैले त्यस्तो गरेमा त्यसलाई निस्तेज पारेर सरकार अघि बढ्छ, रोकिँदैन ।

पक्राउ पुर्जी जारीपछि एमाले नेता टोपबहादुर रायमाझी फरार भएको र त्यसले सरकारलाई फाइदा नै गरेको पनि उनले बताए । खोजी तीव्र पारिएकाले विदेशमै गएर लुके पनि सफल नहुने मन्त्री श्रेष्ठले बताए ।

‘यसरी ‘फरारी’ भएपछि त त्यसले हामीलाई मद्दतै गर्छ नि । एक–दुई दिन फरार भए पनि हामीले निकाल्न त निकाल्छौं नै । इन्डिया गएकै भए पनि कति बसिरहने र ? निगरानी त हामीले गरिरहेकै छौं,’ उनले भने ।

ताजा अपडेट

नेपालवाच विशेष