NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

रायमाझीका कारण पार्टीको प्रतिष्ठामा आँच पुगेको एमाले निष्कर्ष, तर भएन आन्तरिक कारबाही

काठमाडौं । एमालेले नेपालीलाई भुटानी शरणार्थीका नाममा अमेरिका पठाइने भन्दै भएको ठगीमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीमा उपस्थित हुन भनेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ पर्ने डरले फरार रहेका रायमाझी प्रहरीमा उपस्थित भएर अनुसन्धानमा सघाउनुपर्ने निर्णय एमालेले गरेको हो ।

मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रहरी अनुसन्धानलाई सहयोग गर्ने जानकारी गराएर फरार रायमाझीका कारण पार्टीको प्रतिष्ठामा समेत आँच पुगेको निष्कर्षसमेत निकालेको छ । अर्घाखाँचीमा छँदा पक्राउ पुर्जी जारी भएपछि काठमाडौंका लागि हिँडेको जानकारी गराएका उनी पाँच दिनदेखि फरार छन् । उनलाई पक्राउ गर्न प्रहरीले सोमबार देशभरका प्रहरी युनिटहरूलाई निर्देशन दिएको थियो । त्यसैअन्तर्गत मंगलबार प्रहरीले ललितपुरस्थित उनको निजी निवासमा खानतलासी गरेको छ ।

‘एमालेविरुद्ध नियोजित रूपमा पनि विभिन्न षड्यन्त्र भइरहेको छ, तर पक्राउ पुर्जी नै जारी भइसकेपछि संविधान, कानुन र विधिको शासन मान्ने पार्टीको नेताले त्यसलाई सम्मान गर्दै निर्दोष भए स्पष्ट पारेर सफाइ पेस गर्नुपर्छ र प्रहरीको अनुसन्धानलाई सहयोग गर्नुपर्छ भन्ने पार्टी अध्यक्षदेखि सबै नेताहरूको साझा निष्कर्ष छ,’ बैठकपछि उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘त्यसैले तत्काल उपस्थित भएर उहाँले अनुसन्धानलाई सहयोग गर्नुपर्छ भन्ने विषयमा बैठकले सर्वसम्मत निर्णय गरेको छ ।’

बैठकमा सचिवालयका सबै नेताले रायमाझी फरार हुँदा पार्टीको प्रतिष्ठामा आँच पुगेको धारणा राख्दै अनुसन्धानमा सहयोग गर्न ढिलाइ गर्न नहुने विचार राखेका थिए । एमालेले रायमाझीमाथि प्रमाण नपुर्‍याई पार्टीमाथि पूर्वाग्रह साँधेर पनि पक्राउ पुर्जी जारी गरिएको हुन सक्ने र वास्तविकता उपस्थित भएर बयान दिएपछि मात्रै थाहा हुने निष्कर्ष पनि निकालेको छ । अनुसन्धान प्रारम्भिक चरणमै रहेका कारण तत्काल अनुशासनको कारबाही गरिहाल्नुपर्ने अवस्था भने नरहेको निर्णय गरेको छ ।

उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले रायमाझीमाथिको अनुसन्धान प्रारम्भिक चरणमै रहेको र राज्यका तर्फबाट अभियुक्तका रूपमा पनि दोषी ठहर भइनसकेकाले पार्टीले हतारमा कुनै कारबाहीको निर्णय गरिहाल्नुपर्ने अवस्था नरहेको बताए । ‘उहाँ दोषी ठहर हुनुभएको छैन, प्रहरीको अनुसन्धान पनि प्रारम्भिक चरणमै छ, अहिल्यै निष्कर्ष आइसकेको छैन,’ बैठकपछि गुरुङले भने, ‘त्यसैले कसरी निष्कासनको निर्णय हुन्छ ? हामी यसबारे कुनै हतारोमा निर्णय गर्दैनौँ ।’ एमाले विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले प्रक्रियासम्मत ढंगबाट गरिने अनुसन्धानमा रायमाझीले सहयोग पुर्‍याउनुपर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।