NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मनोज बाजपेयीको फिटनेस: १४ वर्षदेखि खाएका छैनन् खाना, भोक मेटाउन पानी पिउँथे

एजेन्सी । कलाकारहरू सधै आफूलाई फिट राख्न आफ्नो जीवनशैलीमा विशेष ध्यान दिन्छन् । उनीहरु जति आफ्नो काममा लगाव राख्छन्, त्यति नै फिटनेसमा पनि । आफूलाई फिट राख्न उनीहरु घण्टौंसम्म खाना त्याग्छन् भने जिममा पसिना पनि त्यतिकै बगाउँछन् ।

यही जीवनशैलीले उनीहरु उमेर ढल्के पनि सधैं जवान र फिट देखिन्छन् । खासगरी फिटनेसको कुरामा भारतीय कलाकार अझ सक्रिय छन् । यस्ता धेरै भारतीय कलाकार छन् जसले आफ्नो फिटनेसलाई महत्वपूर्ण मान्छन् ।

यसै मध्ये पर्छन् भारतीय अभिनेता मनोज बाजपेयी । उनले हालै एक अन्तर्वार्तामा आफ्नो फिटनेसको राज खोलेका छन् । उनले विगत १४ वर्षदेखि आफूले रातको खाना (डिनर) नखाएको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले डिनर नखाएको १४ वर्ष भयो । मेरो हजुरबुबा धेरै पातलो हुनुहुन्थ्यो र सधैं धेरै फिट देखिनुहुन्थ्यो यस्तो अवस्थामा उनले जे खान्थे म पनि पछ्याउँछु भन्ने लाग्यो । त्यसपछि मैले पनि यो गर्न थालें ।’ डिनर खान छोडेपछि तौल पनि नियन्त्रणमा रहनुका साथै स्वस्थ महसुस भइरहेको उनी बताउँछन् ।

जब उनले डिनर छाडे उनले आफूलाई निकै उर्जावान ठानेको र स्वस्थ पनि भएको महसुस गरेका थिए । उनले सुरु सुरुमा डिनर नखाँदा आफूलाई धेरै गाह्रो भएको बताए । भोक मेटाउन उनले पानीको सहयाता लिन्थे र विस्कुटको मात्रै खान्थे । ‘भोक मेटाउन धेरै पानी पिउँथे सुरुमा यो दिनचर्या कायम गर्न निकै गाह्रो लाग्थ्यो,’ उनले भने ।

सुरुमा उनले दिनको १२ देखि १४ घण्टासम्म फास्टिङ गर्ने गर्थे । त्यसपछि विस्तारै उनले डिनर छाडे । उनी अहिले १८ घण्टासम्म फास्टिङ गर्छन् । उनी बिहानको ९ देखि दिउँसो ३ बजेसम्म मात्र स्वस्थ खानेकुरा खाने गर्छन् ।

उनले यस्तो जीवनशैली अपनाएमा निकै प्रभावकारी नतिजा प्राप्त हुने र मधुमेह, कोलेस्ट्रोल र मुटुसम्बन्धी रोगबाट शरीर टाढा रहनेसमेत बताएका छन् ।