NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

‘सर्पमा साइबर स्यालले भ्रम छरे, भ्रष्टाचार विरोधी आन्दोलनको नेतृत्व मै गर्छु’

अब गठबन्धनको काम छैन, एमालेसँग पनि एकता हुँदैन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको पछिल्लो शासन प्रणाली, शासक र प्रशासकका वास्तविक चरित्र उदाङ्गिएको छ ।

बिचौलियासँग मिलेर नेपालीलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा उच्च शासक र प्रशासकबीचको कनेक्सनले विश्व मञ्चमा नेपालको प्रतिष्ठामाथि आँच पुग्ने देखिन्छ । यस प्रकरणले मुलुकको शासन सत्ता राजनीतिज्ञको हातमा नभई संगठित गिरोहबाट चलिरहेको पुष्टि हुन्छ ।

राजनीतिक दलहरू सत्ता र शक्ति संघर्षमा लिप्त हुँदा आमनागरिकमा चरम निराशा देखिन्छ । सत्ता स्वार्थकै कारण प्रचण्ड नेतृत्वको सरकार पाँच महिना नपुग्दै धरमराएको छ । सरकार गठन र विघटनको श्रृंखला जारी छ । परम्परागत दलहरूप्रति जनआक्रोस बढ्दै गएको पछिल्लो चुनावी परिणामले देखाउँछ ।

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भ्रष्टाचारमाथि निर्मम प्रहार गर्नुपर्ने बताउँछन् । नेपालीलाई भुटानी बनाएर अमेरिका लैजाने प्रकरणमा प्रधानमन्त्री नै संलग्न भए पनि छाड्न नहुने उनको मत छ ।

भ्रष्टाचारको पछिल्ला काण्ड, दलहरूबीचको शक्ति संघर्ष, परम्परागत दलहरूमाथि आमनागरिकको वितृष्णालगायत विषयमा खनालसँग नेपालवाचकर्मी गणेश पाण्डेले गरेको सवाल :

नक्कली भुटानी शरणार्थी प्रकरणले देशको राजनीति तरंगित छ, यसलाई तपाईंले कसरी लिनुभएको छ ?

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरण नेपालको इतिहासमै सबैभन्दा लज्जास्पद घटना हो । यो प्रकरणमा उच्च राजनीतिक नेताहरू, कार्यकर्ताहरू, गृहमन्त्रालयसमेत तानिएको छ । यो लहरो तानिँदै जाँदा कहाँसम्म पुग्छ, अझै बाहिर आइसकेको छैन । यसविरूद्ध वर्तमान सरकारले जुन अग्रसरता देखाएको छ, त्यसमा कुनै दायाँबायाँ नगरी, दबाबमा नपरी अगाडि बढ्नु पर्छ । जस्तोसुकै ठूला माछा किन नहुन्, त्यसका विरुद्ध सरकार दृढतापूर्वक उभिनुपर्छ । भ्रष्टाचार नेपालमा खतरनाक प्रवृत्तिको रूपमा विकसित भइसकेको छ । भ्रष्टाचारका अनेक काण्डमध्ये यो एउटा हो । यसबाट जनताहरू आहात छन् । भ्रष्टाचारकै कारण दलहरूप्रति वितृष्णा फैलिरहेको छ । त्यसकारण यस्ता प्रवृत्तिविरूद्ध सरकार, राजनीति दल दृढ भएर जुध्न सक्नुपर्छ । जो–जो यसमा दोषी छन्, तिनीहरूमाथि गम्भीर कारबाही होस् । कारबाहीका नाममा निर्दोष भने नफसून् ।

देश राजनीतिज्ञले चलाइरहेको भन्ने विश्वास थियो । तर यो प्रकरणमा राजनीतिज्ञ र प्रशासकको चरित्र हेर्दा त बिचौलियाले चलाइरहेको जस्तो देखिन्छ नि ?

राजनीति आमजनताप्रतिको समर्पण हो, देशलाई समृद्धितर्फ अगाडि बढाउने भिजन हो । तर भिजनविहीन, दृष्टिकोणविहीन, लोभ, स्वार्थ र लुटपाट गर्ने प्रवृत्तिका नेताहरूको नेतृत्वका कारण यी सबै भएको हो । बिचौलिया त जहाँ पनि छन् । ती बिचौलियाले भूमिका खेल्छन् । त्यस्तालाई राजनीति नेतृत्वले चिनेर हटाउन सकिन्छ । तर उनीहरूकै इच्छा, स्वार्थबमोजिम नेतृत्व चल्ने र त्यो प्रकारका योजनाहरू बनाउने प्रवृत्ति देखापरेको छ । यो अत्यन्तै खतरनाक छ । यसलाई समयै निर्मूल नपारेसम्म मुलुकलाई अगाडि बढाउन गाह्रो हुन्छ ।

वर्तमान सरकारको एक घटक एकीकृत समाजवादी पार्टी पनि हो । यो प्रकरणमा कांग्रेसका प्रभावशाली नेता तिनका श्रीमतीसमेत जोडिएका छन् । यस्तो अवस्थामा घटनाका दोषी सबैलाई सरकारले कारबाही गर्न सक्छ ?

कारबाही गर्ने तागत राख्न सक्नुपर्छ । म एकीकृत समाजवादी, आमजनताको तर्फबाट भन्न चाहन्छु कि नेतृत्व पंक्तिसम्म यो लहरो पुगिरहेको छ, प्रधानमन्त्रीसम्म पुगे पनि कारबाही अगाडि बढाउनुपर्छ । अन्य देशमा राष्ट्रप्रमुख, प्रधानमन्त्री जेलमा छन् । हाम्रो देशमा प्रधानमन्त्रीले अपराध गरे भने उसलाई छुट दिने कुरा आउँदैन । अपराध गरेको छैन भने डराउनु पर्दैन । सरकारले पनि कारबाही गर्न डराउनुपर्ने अवस्था छैन । सरकार ढल्ने भयले प्रधानमन्त्री वा गृहमन्त्री डराउनु हुँदैन । सरकार ढलेको अवस्थामा फेरि अर्को बन्ने भएकाले सत्य, तथ्य पत्ता लगाएर अपराधीलाई जनतासामु परिचित गराउनुपर्छ ।

प्रधानमन्त्रीले पूर्वलडाकुको नाममा लाखौं रकम निकासी गर्ने कार्यविधि बनाएका छन् । तपाईं सत्ता घटकका एक उच्च नेता भएकाले जनताले प्रष्ट बुझ्ने भाषामा भन्दिनुस् कि यसरी राज्यको ढुकुटी दोहन गर्न मिल्छ ?

यसलाई विभिन्न कोणबाट हेरिनुपर्छ । पहिलो त यस्ता विषयमा निर्णय लिँदा पक्ष÷विपक्षबीच आम सहमतिबाट हुनुपर्छ । तर मेरै पार्टी सत्तामा छ । मलाई नै यस विषयमा थाहा छैन । पार्टीभित्र नै छलफल भएको छैन । ‘कोलिसन पार्टनर’बीच पनि राम्रो ढंगले छलफल भएको छैन । यो एउटा डिफेक्टको विषय हो । तर शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन हिजो जहाँजहाँ कमजोरी भएको छ, ती व्यक्तिहरूलाई चित्त बुझाएर लैजान राज्यले केही न केही त्याग र योगदान गर्नुपर्ने हुन सक्छ । यद्यपि, सरकारले पार्टीहरूबीच सहमति गरेर अगाडि बढेको भए विवादरहित हुनसक्थ्यो । त्यसो नहुँदा यो विवाद उत्पन्न भएको म देख्छु ।

भ्रष्टचारीलाई कारबाही गर्ने सम्बन्धमा तपाईंले स्पष्ट कुरा राख्नुभएको छ । अडियो प्रकरण देउवा पत्नीसम्म पुगेको छ । यस्तो अवस्थामा सरकारले कारबाही गर्ने आँट गर्न सक्र्ला ?

पहिलो कुरा, अपराध भनेको अपराध नै हो । अपराध कर्ममा लागेका कसैका श्रीमान्, कसैको श्रीमती होलान्, कोही ठूलो नेता होलान्, कोही मन्त्री होलान्, कोही ओहदामा होलान्, कोही नहोलान् । जोसुकै भए पनि अपराध गर्नेलाई कारबाही गर्नुपर्छ । जसरी अहिले बहालवाला सचिव गिरफ्तारमा छन् । बहालवाला सचिव भनेको पनि ब्युरोक्रेसीको माथिल्लो व्यक्ति हुन् नि । त्यसैगरी, त्योभन्दा माथि राजनीतिक धरातलबाट कसैले काम गरिरहेको छ भने सत्यतथ्यका आधारमा कारबाही हुनुपर्छ । त्यसका लागि सरकारले जस्तोसुकै चुनौतीको पनि सामाना गर्नुपर्ने हुन्छ । कारबाही प्रक्रिया अगाडि बढ्दा कोही सरकार छाडेर हिँड्न सक्छन्, त्यसले केही फरक पार्दैन । सरकार खुट्टा नकमाइ अगाडि बढोस् ।

यो प्रकरणमा मुछिएका पूर्वमन्त्रीसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी अहिले फरार छन् । उनलाई बचाउन पूर्वप्रधानमन्त्री ओलीको दौडधुप निकै बढेको छ । यस्तो दबाबबीच तपाईंले भनेजस्तै सरकारले कारबाही गर्न सक्छ ?

यो कारबाही प्रक्रियामा कोही चुलीमा पुग्लान्, कोही सडकमा पुग्लान् । जहाँ–जहाँ पुग्छन्, यी घटनाक्रमले आफैं निर्माण गर्छ । घटनाबाट डराएर कोही ढाकछोप गर्न खोज्छन्, कोही अपराधीलाई लुकाउन खोज्छन्, कोही दौडधुप गर्लान्, कोही फरार होलान् । यदि गल्ती गरेको छैन भने सबैसामु सार्वजनिक भएर राज्यका निकायलाई सहयोग गर्नुपर्छ । आफू दोषी छैन भने डराउनुपर्ने आवश्यकता नै छैन । अपराध गरेको छ भने जुनसुकै बेला फेला पर्छ । भागेर कहाँ जाने ? यस्ता थुप्रै घटनाक्रम छन्, ती विस्तारै आउँछन् । संयुक्त सरकार भए पनि दोषीलाई कारबाही गर्न डराउन पर्दैन ।

‘हाई प्रोफाइल’ मुछिएका कारण टालटुल गर्न खोजियो भने व्यक्तिगत रूपमा तपाईंको प्रतिक्रिया के हुन्छ ?

जुन प्रकरण अहिले आइरहेको छ र अरू ठूला माछा पनि जालमा पर्न सक्ने सम्भावनाहरु बढिरहेको बेलामा यसलाई ढाकछोप गर्न र बचाउनका लागि कुनै अन्यथा कदम चालियो भने यो देशमा जनआन्दोलनको अर्को आँधी सुरू हुन्छ । म त्यो आन्दोलनको नेतृत्व लिन तयार छु । यस प्रकारका षड्यन्त्र र भ्रष्टाचारलाई ढाकछोप गर्ने कुनै पनि काम भयो भने त्यो सहन हुँदैन । यो कुरा सरकार र सम्पूर्ण राजनीतिक पार्टीका नेताहरूले सुनुन् ।

सरकारलाई दिएको समर्थन नै फिर्ता लिएर सडकमा जानुहुन्छ ?

स्वाभाविक रूपले म त आन्दोलनमा जान्छु, जान्छु । मेरो पार्टी गएन भने पनि म जान्छु ।

त्यो समयमा सडकमा उत्रिनु राम्रो पनि हो । योसँगै तपाईंकै पार्टी अध्यक्ष बालुवाटार प्रकरणमा मुछिनुभएको छ । उहाँले त्यो छानबिनलाई षड्यन्त्र भन्नुहुन्छ । प्रश्न त यहाँ पनि उठ्छ नि होइन ?

देशमा जति पनि ‘काण्ड’ भनेर आइरहेका छन्, यी सबै काण्डहरू साफ गर्नुपर्ने जरुरत छ । कसको कति भूमिका हो या होइन, सम्बन्धित कुरा अगाडि आयो भने सबैले सफाइ दिने मौका पनि पाउँछन् । त्यो सफाइ दिने मौका सबैलाई दिनुपर्छ । घटनाक्रमको बारेमा छानबिन गरेर त्यसलाई सफाचट बनाउने काममा सबै लाग्नुपर्छ । कुनै पनि घटनाक्रमलाई छोप्ने र अन्यथा गर्ने काम कसैले गर्नु हुँदैन ।

तपाईंकै विषयमा प्रश्न उठ्यो भने पनि छानबिन गर्नुपर्छ होइन त ?

मेरोबारेमा कुनै कुरा उठेको छ भने म त कठघरामा उभिन सम्पूर्ण रूपले तयार छु ।

तपाईंको विषयमा कुनै प्रश्न उठेका छन् भन्ने लाग्छ कि लाग्दैन ?

अहिलेसम्म मैले त्यस्तो कुनै काम गरेकै छैन । एकले अर्कालाई बदनाम गर्ने प्रयत्नहरू हुन्छन् । त्यो बदनाम गर्ने प्रयत्नमा मैले विभिन्न समयमा सामना गरेको छु । ती नितान्त षड्यन्त्रपूर्ण अभियान हुन् । जस्तै ‘सर्प काण्ड’ । जुन कुरामा न मेरो लगानी छ न संलग्नता । मैले खालि मधेशमा हुने सर्पको बिगबिगी, विध्वंश र मान्छेहरू अकालमा मर्ने स्थितिबाट जनतालाई जोगाउन केही काम गरौं भन्दा मलाई जोडेर अनावश्यक प्रचार गरियो । यी साइबर स्याल र अपराधीहरू हुन् । यी अपराधीहरू मेरोसामु आएर आँखा हेरेर कुरा गर्न तयार छन् ? यी सबै अरूले खुवाएका तत्त्वहरू मात्रै हुन् । यी कुराको मलाई केही पनि डर छैन । किनभने, मैले यो सिंगो ६० वर्षको जीवनमा आफूलाई ‘निट एण्ड क्लिन’ राखेर राजनीति गर्दै आएको छु । अरू कुरा गर्नु थियो भने म राजनीतिमै लाग्दिनँ थिएँ ।

भुटानी शरणार्थी प्रकरणमा ओलीको दौडधुपलाई तपाईंले कसरी हेर्नुभएको छ ?

ओलीले योबीचमा दुई पटक प्रधानमन्त्रीलाई भेटेको देखिएको छ । यही ‘केस’मा कोही मान्छेलाई बचाउन दौडधुप गरेका हुन् कि वा अन्य कुनै उद्देश्यका लागि ? प्रष्ट भएको छैन । अनुमानका भरमा बोल्न मिल्दैन । प्रमाणित कुरामा मात्र तर्क र विचार दिनुपर्छ ।

पछिल्लो चुनावी परिणाम हेर्दा परम्परागत दल कांग्रेस र कम्युनिस्टमाथि जनतामा धेरै वितृष्णा देखियो । वैकल्पिक भनिएका नयाँ शक्तिप्रति जनलहर देखिएको छ । जनताको चरम निराशालाई विद्रोहमा परिणत हुन नदिन तपाईंहरूको एजेण्डा के के छन् ?

पहिलो त, कांग्रेसको बारेमा केही भन्न जरुरत छैन । ऊसँग कुनै भिजन छैन, न त नीति तथा कार्यक्रम नै छ । त्यसैले कांग्रेसले केही गर्न सक्दैन ।
दोस्रो, एमालेको कुरा हो, नयाँ संविधान जारी भएपछि ०७४ मा पहिलो निर्वाचन भयो । वामपन्थी समूह मिलेर बनेको गठबन्धनले दुई तिहाइ बहुमत पायो । त्यो दुई तिहाइ ल्याएको पार्टीले धेरै ठूलो काम गर्न सक्थ्यो । त्यसले धेरै अवसर पाएको थियो । भूमि सुधार, कृषि क्रान्ति, औद्योगिक क्रान्ति, शिक्षा, स्वास्थ्य, रोजगार ठुल्ठूला परिवर्तन ल्याउन सक्थ्यो । तर त्यसले केही पनि गरेन ।

ओली सरकारले संसदलाई जुन ढंगले विघटन गर्ने काम गर्यो, संसद् विघटन नेपाली राजनीतिमा धेरै ठूलो भूकम्प हो । त्यही भूकम्पको परकप्पले गर्दा अहिले मुख्य दलहरूमाथि जनताको चरम निराशा, आक्रोश, विद्रोह देखिएको छ । यही विद्रोहका कारण अहिले पुराना दलहरू तिरस्कारमा परेका छन् । जनता विकल्प खोज्दैछन् ।

विकल्प राम्रा पाए भन्ने होइन । जसले पुराना पार्टीको विरोध गर्छन्, तीनले पो राम्रो काम गर्छन् कि भनेर जनताले मत दिएको देखिन्छ । अहिलेको उपनिर्वाचनको परिणाम पनि त्यस्तै देखियो । यो एउटा अस्थायी रूपमा देखापरेको प्रवृत्ति हो । यदि दलहरू बेलैमा सच्चिएनन् भने नयाँ–नयाँ पार्टी र विचार आउन सक्छन् ।

भिन्न विचार र दर्शन दिने भनेर एमालेबाट अलग हुनुभयो । ७० वर्ष इतिहास बोकेको दाबी गरेका तपाईंहरूलाई जनताले रुचाएको देखिएन नि ?
तत्कालीन एमाले नेतृत्वमा देखिएको दक्षिणपन्थी अवसरवादको विरोधमा हामीले विद्रोह गरेको हो । विद्रोहपश्चात हामीले क्रान्तिकारी कार्यदिशा, कार्यनीति, सिद्धान्त र कार्यक्रम दिन सक्नुपथ्र्यो । त्यसो नगरी ‘गठबन्धन’का ‘गठबन्धन’ भनेर गठबन्धनका पछि लाग्ने, सम्झौता गर्ने, साँठगाँठ गर्ने काम भयो । कहिले कांग्रेस त कहिले माओवादीलाई भोट हाल्ने भोटर जस्तै भयौं । नेतृत्वले जसरी स्वतन्त्र पहलकदमीबाट निर्णय लिनुपथ्र्यो ती कुरामा ठीक नीति लिन नसक्दा पार्टी अप्ठ्यारोमा परेको छ । यसबारे हामी पार्टीभित्रै बहस गर्दैछौं । पार्टीलाई रूपान्तरण गर्नुपर्ने, सुदृढीकरण र पुनर्गठन गर्नुपर्ने आवश्यकता छ । आम रूपमा पार्टीलाई दक्षिणपन्थी अवसरवादी भड्काउबाट कसरी मुक्त गर्ने र क्रान्तिकारी दिशातर्फ लैजाने भन्नेबारे व्यापक बहस र छलफल हुन्छ । त्यसका लागि चाँडोभन्दा चाँडो पार्टीको महाधिवेशन गर्छौं । महाधिवेशनपछि सिंगो वामपन्थी र लोकतान्त्रिक आन्दोलनलाई एउटा नयाँ दिशातर्फ लिएर जान्छौं ।

हाम्रो बुझाइमा नेतृत्व भनेको महासचिव वा अध्यक्ष भन्ने हुन्छ । महाधिवेशनमा तपाईंले नेतृत्व गर्नेगरी जानुहुन्छ कि हुँदैन ?

हाम्रो पार्टीलाई राजनीतिक, वैचारिक, सैद्धान्तिक, संगठनात्मक सबै हिसाबले पुनर्गठन गर्नुपर्छ । पार्टी पुनर्गठन ज्यादै गम्भीर विषय हो । त्यसका निम्ति आफैंले नेतृत्व लिनुपर्छ भने पनि म तयार छु ।

प्रष्ट रूपमा भनिदिनोस् न तपाईंले नेतृत्व लिने हो कि होइन् ?

त्यसका लागि परिस्थिति अहिले बनिसकेको छैन । यसबारे पछि बोल्छु ।

तत्कालीन एमालेलाई उचाइमा पुर्याउन तपाईंको निकै ठूलो भूमिका थियो । अहिले पनि पार्टी पुनर्गठन गर्न तपाईंको नेतृत्व आवश्यक होला नि त ?

त्यसरी हेर्ने हो भने जम्माजम्मी मसँग ६० वर्षको इतिहास छ । फगत त्यो मात्र होइन । नेकपा (माले) बनाउनुअघि हामीले को–अर्डिकेसन केन्द्र बनायौं । माले बनायौं । मेरो नेतृत्वमा माले ८ वर्ष चल्यो । पार्टीको नीति सिद्धान्त, कार्यदिशा र कार्यक्रम बनाउन मेरो भूमिका छ । एमाले हुँदा ०६५ देखि पाँच वर्ष अध्यक्ष भएँ । विभिन्न कालखण्डमा महासचिव भएँ ।

एमालेसँग विद्रोहदेखि अहिलेसम्म आइपुग्दा हामीले कस्ता–कस्ता नीति लियौं ? कुन ठीक, कुन बेठीक थिए ? त्यसमा गम्भीर समीक्षा गर्न जरुरी छ ।

तपाईंले पार्टीलाई पुनर्गठन गर्ने दाबी गरिरहँदा पुराना अनुभवी नेता तथा कार्यकर्ता एमाले फर्किएका छन् । माओवादीसहित पार्टी एकता र समाजवादी मोर्चा बनाउने भनेर डा. वेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन भएको थियो । अहिले त्यो काम कहाँ पुगेको छ ?

पहिलो कुरा, हाम्रो पार्टी पुनर्गठनको चरणमा छ । प्रथम महाधिवेशन पनि भएको छैन । अहिले यो पार्टी ‘एडप्ट’ पार्टी हो । निमित्त पार्टी हो । हाम्रा विचार, नीति, सिद्धान्त सबै निमित्त हुन् । यस्तो अवस्थामा कुनै पार्टीसँग एकता हुन सक्दैन । बाहिर जुन हल्ला चलिरहेको छ, त्यसको पछाडि कोही पनि लाग्नु जरुरी छैन । हाम्रो पार्टी पहिला आफैंलाई बनाउने पक्षमा छ । राष्ट्रिय महाधिवेशन गरी त्यसले लिने नीति, सिद्धान्त र कार्यदिशाको आधारमा वैचारिक, राजनीतिक, सैद्धान्तिक र कार्यदिशा मिल्नेसँग पार्टी एकता हुन सक्छ । विचार सिद्धान्त नमिल्नेसँग हामी कार्यगत एकता वा समाजवादी मोर्चा बनाएर जान्छौं ।

समाजवादी मोर्चा बनाउने नेतृत्वको दाबी देखाउन मात्र गरिएको हो ? प्रधानमन्त्री र पार्टी अध्यक्षले बोलेका कुरा झुट हुन् ?

पार्टी स्थापना दिवसको भोलिपल्ट एउटा गोष्ठीमा प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षले एक हप्ताभित्र मोर्चा बन्छ भनेर बोलेका हुन् । त्यहाँ म पनि वक्ता थिएँ । त्यसो भनेको दुई साता बितिसक्यो । तर खोई त मार्चा बनेको ? बोलेर मात्र हुँदैन । जतिसुकै ठूला नेता हुँ भने पनि फङ्फङ्ती बोलेर हुँदैन । त्यसका लागि परिस्थिति बन्नुपर्यो । आत्मगत स्थिति तयार हुनुपर्यो । सम्बन्धित पार्टीबीच राम्रोसँग छलफल हुनुपर्यो । आवश्यक छैन भने जुनसुकै बेलामा गीत गाउने कुरा होइन । गीत गाउँदा वा बजाउँदा पनि कुबेला पर्यो भने त्यसको अर्थ हुँदैन । र मज्जा पनि आउँदैन । घरबाट बिरामी भएर निस्किएको छ, त्यतिबेला सनही बजाइयो भने मज्जा आउँछ र ? बेहुलाबेहुली हुँदा सनही बजाइयो भने मात्र मज्जा आउँछ । त्यसकारण नेताले पनि समय चिन्नुपर्छ । कुन बेला, के बोल्ने भनेर बुझ्न जरुरी छ । यी कुरामा उहाँहरूले आत्मसमीक्षा गर्न जरुरी छ । त्यत्रा कार्यकर्तासामु बोल्नुभयो । उनीहरूले के भन्छन्, जवाफ छ ?

शीर्ष नेताहरूसँग आमनागरिकको भविष्य जोडिएको छ । तथापि नेताहरू हावादारी तरिकाले बोलिरहेका हुन्छन् । किन होला ?

नेपालको कम्युनिस्ट आन्दोलनमा आम रूपमा नेतृत्व पंक्तिमा दक्षिणपन्थी अवसरवाद हाबी भएको छ । यतिबेलाको अवस्थामा नेपाली समाजको प्रमुख अन्तर्विरोध के हो ? अहिले कुन खालको समाजमा हामी आइपुग्यौं ? ०६२÷६३ को परिवर्तन भनेको पुँजीवादी जनवादी क्रान्ति हो । त्यसपछि नेपाली समाज पुँजीवादी भयो । यो समाजमा भएको वर्गीय संरचनामा दलाल पुँजीवाद नै हाम्रो मुख्य अवरोध र निशाना हो । त्यो निशानाको विरूद्धमा सबै शक्तिहरूलाई ऐक्यबद्धता गर्ने कुरा कम्युनिस्ट पार्टीहरूको आजको आवश्यकता हो । तर दलाल पुँजीवादलाई नै प्रतिनिधित्त्व गर्ने शक्तिहरूसँगै अंकमाल गर्न थालेपछि के हुन्छ ? त्यसले त क्रान्ति नभएर यथास्थितिवादतर्फ लैजान्छ । त्यसकारण सपना मात्रै देखेर हुँदैन । सही लाइन अगाडि सार्न सक्नुपर्यो । त्यसले मात्रै वस्तुस्थिति बनाएर जान्छ र साँचो मोर्चा बनाउँछ ।

तपाईंको संकेत कांग्रेससँग सहकार्य गर्नु घातक थियो भन्ने हो ?

राजतन्त्र र प्रतिगमनविरूद्धको समग्र संघर्षमा कांग्रेससँगको एकता आवश्यक थियो । हामीले त्यसै गर्यौं । तर अब यो गठबन्धन आवश्यक छैन । यो नेपाली जनताको इच्छा र आकांक्षा पनि होइन । स्वयं कांग्रेसभित्र पनि गठबन्धन चाहँदैन भन्ने आवाज उठिरहेको छ । वास्तवमा आम जनतामाझ गएर अहिले हामी पार्टी निर्माण गर्नुपर्ने बेला हो । हामी गठबन्धन गरेर हिँड्ने बेला होइन । श्रमिक वर्गका बीचमा गएर उनीहरूलाई जागृत गर्ने, संगठित गर्ने, एकताबद्ध र आन्दोलित गर्ने बेला हो । कम्युनिस्ट पार्टी शोषण र दमनमा पिल्सिएका जनताको पार्टी हो । त्यसकारण उनीहरूको बीचमा गएर मात्रै कम्युनिस्ट पार्टी बन्छ ।

अस्ति भर्खरै माधव नेपालले सुर्खेत पुगेर माओवादीसँग केही हुनेवाला छैन, उसमा दम्भ पलायो र गणना गर्न छाड्यो भन्नुभयो । वास्तवमा माओवादीले तपाईंहरूलाई प्रयोगमात्रै गरेको हो कि मन्त्री बन्न नपाएर यस्तो अभिव्यक्ति आएको ?

माधव नेपालले कहाँ के बोल्नुभएको छ, मलाई थाहा छैन । त्यसबारे म कुनै टीका टिप्पणी गर्न पनि चाहन्न । उहाँले यस्ता कुरा पार्टीको बैठकमा राख्नुहोला । म त्यहीँ छलफल गर्छु । तर मैले भनिसकेँ कि नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी भड्काउ छ । त्यो भडकाउले हाम्रो पार्टीलाई पनि राम्रै ढंगले हिलोमा डुबाउन खोजिरहेको छ । त्यसबाट मुक्त हुनु आजको कम्युनिस्ट आन्दोलनको पहिलो आवश्यकता हो । दक्षिणपन्थी अवसरवाद अहिले कम्युनिस्ट आन्दोलनको वैचारिक विकासको सबैभन्दा ठूलो अवरोध हो । यसलाई नपन्छाएसम्म कम्युनिस्ट आन्दोलनले नयाँ गति र उचाइ लिनै सक्दैन ।

यसको मतलब अब कांग्रेससँगको सहकार्य छोडेर एमालेसहितको वृहत् वामपन्थी एकता अहिलेको आवश्यकता भन्न खोज्नुभएको हो ? या एमालेसँग पार्टी एकताको पहल भइरहेको छ ?

सबैभन्दा पहिला हामी मार्क्सवादी हौं । मार्क्सवादी हुनु भनेको द्वन्द्वात्मक भौतिकवादी हुनु हो । यो भनेको समाजलाई वर्गीय हिसाबले हेर्नु हो । कुन पार्टी कुन वर्गको पार्टी हो ? हरेक पार्टीको एउटा वर्ग हुन्छ । त्यो वर्गलाई उसले प्रतिनिधित्व गरिरहेको हुन्छ । त्यसो हुनाले अहिलेको अवस्थामा नेपाली कांग्रेससँग वर्गीय हिसाबले पनि कार्यगत एकता गर्ने कुनै आवश्यकता छैन । त्यो बनाउन थालियो भने गलत हुन्छ । त्यसकारण कुन पार्टीसँग एकता गर्ने या नगर्ने भन्ने कुरा प्रधान होइन । सबैभन्दा पहिला त हामै पार्टीको आफ्नै कार्यदिशा, नीति, सिद्धान्त बलियो हुनुपर्यो । यो कामलाई प्राथामिकता दिएर अघि बढ्नुपर्छ । कार्यगत एकता गर्नुपर्यो भने स्वाभाविकै हामी मिलेर अघि बढ्ने सम्भावना छ ।

तत्काल एमालेसँगको एकता के हुन्छ ?

यदि नेकपा एमाले आफूभित्र भएको दक्षिणपन्थी भड्काउवादी कार्यदिशालाई सच्याएर क्रान्तिकारी निर्देशिका, नीति, सिद्धान्त लिएर अघि बढ्छ भने एकताको सम्भावना बढ्छ । तर अहिलेकै अवस्थामा एमालेसँगको एकता बिलकुल असम्भव छ ।

अहिलेको सत्ता संघर्षलाई हेर्दा वर्तमान सरकार कतिसम्म टिक्छ या तपाईंहरूले कहिलेसम्म टिकाउन सक्नुहुन्छ ?

पहिलो यो एउटा सामान्य घटनाक्रम हो । अहिलेको पुँजीवादी संसदीय व्यवस्थामा एउटा पार्टीले बहुमत ल्याउँछ र सरकार चलाउँछ । कहिले त्रिशंखु हुन्छ । यस्तो भएपछि अनेकन पार्टीहरूको बीचमा एकपछि अर्का समीकरण बन्ने प्रक्रिया सुरु हुन्छ ।

दोस्रो निर्वाचनपछि संघदेखि प्रदेशका आठै वटा संसदमा त्रिशंखु संसद् छ । बहुमत नभएको अवस्थामा अनेकन समीकरण हुन्छन् । बन्ने र टुट्ने श्रृंखला चलिरहन्छन् । कतिवटा बन्छन् र टुट्छन् भनेर कसैले पनि भन्न सक्दैन । यो सरकार कति दिन टिक्छ भनेर भन्न कोही ज्योतिषी छैन । यो कुरा कुनै ज्योतिष मात्रै नभएर राजनीतिज्ञले पनि भन्न सक्दैन ।

स्वार्थमा टकराव हुनेबित्तिकै कुनै पनि दिन सरकार ढल्न सक्छ । त्यसका लागि यी १२ वटा पार्टी तयार भएर बसे हुन्छ । यदि बुद्धि पुग्छ भने प्रगतिशील नीति, योभन्दा बढी क्रन्तिकारी, आमूल परिवर्तनकारी नीतिहरूको आधारमा राष्ट्रियतालाई बलियो बनाउने कार्यक्रम ल्याउनुपर्छ । समाजिक, शैक्षिक,आर्थिक परिवर्तन गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउने कार्यक्रमका आधारमा वामपन्थी एकता बनाउनु पर्छ । यही आधारमा वामपन्थी सरकार बन्यो भने तुलनात्मक रूपमा प्रगति हुन्छ ।

वामपन्थी सरकार बन्ने सम्भावना पनि प्रचुर छ । तथ्यकै कुरा गर्ने हो भने एमालेसँग ७९, माओवादीसँग ३२ र हामीसँग १० सिट छ । जसपाको १३, जनमोर्चाको १, नेमकिपाको १ र प्रभु जीसँग भएको दुई सिट भएमा बहुमत पुछ । संसदमा वामपन्थीहरुको मात्रैै पनि बहुमत पुग्छ । प्रगतिशील सरकार बनाएर जाँदा दिगो रूपमा जान्छ । तर वामपन्थी नेताहरू आपैंm यो चाहँदैनन् ।

यस्तो सम्भावना भएमा केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनाएर जाने अवस्था हुन्छ ?

केपी शर्मालाई मात्रै प्रधानमन्त्री बनाउने व्यक्तिगत कुरा गरेर एकता हुँदैन । वामपन्थीहरूबीच एकता हुने हो भने त्यसका निम्ति नीतिगत, कार्यक्रमिक र योजना चाहिन्छ । साथै नेतृत्वको संरचना कस्तो हुन्छ भन्नेबारे पनि सबैलाई मान्य हुने सूची निकालेर अघि बढ्न सकिन्छ । कांग्रेसलाई त मान्न तयार भइएको छ, केपी ओलीलाई मान्न कुन छुवाछुतको कुरा हो र ? त्यसो हुनाले हामीले सही नीति र योजनाका साथ मुलुकलाई अघि बढाउन सक्छौं कि सक्दैनौं, त्यो प्रमुख कुरा हो ।

कांग्रेस र माओवादीबाहेकको सत्ता समीकरण गर्नका लागि एमालेले भित्रभित्रै कसरत गरिरहेको कुरा छ । त्यसको लागि तपाईंहरूलाई पनि एमालेले फकाइरहेको भन्ने कुरा छ नि ?

जुन समीकरण बने पनि यो मुलुकको निम्ति अहिले ठूलो तरक्की केही हुनेवाला छैन । मैले भनिसकेँ, वामपन्थी समीकरण भयो भने केही न केही परिवर्तनका सम्भावना छन् । त्यो भन्दाबाहेकका कुनै पनि समीकरणहरूको जति अभ्यास गरे पनि यो देशमा आज ज्वलन्त रूपमा उठेका कुनै पनि समस्यालाई समाधान गरेर जान्छ भन्ने मलाई लाग्दैन । त्यसले समस्यालाई अझै बढाउने, गिजोल्ने र चर्को बनाउनेजस्ता कामहरू पक्कै गर्छ ।