NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?

काठमाडौं । सन् २०२२ को ग्लोबल क्यान्सरको तथ्यांक अनुसार विश्वमा २३ लाख महिला स्तन क्यान्सरबाट प्रभावित रहेको पाइयो । नेपालमा यसको संख्या एक हजार ९७३ छ ।

नेपालमा देखिएको क्यान्सरको प्रवृत्तिको आधारमा स्तन क्यान्सर तेस्रो नम्बरमा पर्छ । कतिपयलाई स्तन क्यान्सर महिलामा मात्र हुन्छ भन्ने भ्रम पनि छ तर यो क्यान्सर महिलामा मात्र नभई पुरुषमा पनि हुने गरेको छ ।

स्तन क्यान्सर हुनुको प्रमुख कारण जीवनशैलीमा आएको परिवर्तन जस्तै: मोटोपना, मद्यपान तथा धुम्रपान, अस्वस्थकर खानपान, चिल्लो बोसोयुक्त खाना र बच्चालाई स्तनपान नगराउनु आदि हुन् ।

कसरी पहिचान गर्ने स्तन क्यान्सर ?

स्तन क्यान्सर भएको खण्डमा केही लक्षणले पत्ता लगाउन सकिन्छ । जस्तै, स्तन वा काखीमुनि नदुख्ने गिर्खा आउने, स्तनको आकारमा परिवर्तन हुने, स्तनको निप्पल (मुन्टा) भित्रपट्टी जान थाल्ने वा पिप, रगत र पानी जस्तो तरल पदार्थ बग्ने लक्षण देखिएमा स्तन क्यान्सर भएको यकिन गर्नुपर्छ ।  यसबाहेक, स्तन दुख्ने र सुन्निने, स्तनको छालामा निको नहुने घाउ आउने जस्ता लक्षण देखापर्छ । यस्तो अवस्थामा चिकित्सको परामर्श आवश्यक छ ।

स्तन क्यान्सरको जोखिमबाट कसरी बच्ने ?

१) धुम्रपान तथा मद्यपान नगर्ने

२) व्यायाम तथा योग गर्ने

३) तौललाई नियन्त्रणमा राख्ने

४) पोषणयुक्त खानपान गर्ने

५) स्तनको नियमित जाँच वा परीक्षण गर्ने

६) स्तनपान गराउने