NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

टर्कीसँग झुक्यो ट्विटर, मस्कलाई दिए बेल्सले ‘कक्षा’

काठमाडौं । एलन मस्कले ट्विटर खरिद गरेयता यसलाई विवाद र काण्डले छाडेको छैन । अक्सर मस्क सनकका भरमा कुनै काम गर्छन् र विवादमा परिहाले पनि झुक्न जान्दैनन् । तर एउटा घटनामा झुक्दाझुक्दै पनि मस्क प्रश्न र आलोचनाले घेरिन पुगेका छन् ।

हालै टर्की सरकारले राष्ट्रपति रेसेप तैयप अर्दोनको आलोचकले साझा गरेको ट्विटर सामग्री हटाउन माग गरेको थियो । यी निर्देशनहरू पछ्याउँदै ट्विटरले आलोचकको उक्त ट्विट डिलिट गरिदियो । त्यसयता मस्क निरन्तर अभिव्यक्ति स्वतन्त्रताका हिमायतीको आलोचनाको सिकार बनिरहेका छन् ।

यसरी आलोचना गर्नेमध्ये एक हुन्, विकिपिडियाका संस्थापक जिम्मी वेल्स । जसले टर्कीको उदाहरण दिँदै मस्कलाई अभिव्यक्ति स्वतन्त्रताको ‘कक्षा’ नै दिएका छन् ।

‘हामी हाम्रो सिद्धान्तमा दृढतापूर्वक उभियौं र यस्तै मुद्दा अदालतमा लिएर जाँदा जित्यौं । यो अभिव्यक्ति स्वतन्त्रताको साँचो अर्थ हो । मात्रै योसँग सम्बन्धित नारा होइन,’ उनले ट्विटरमा लेखेका छन् ।

उल्लेखनीय कुरा के छ भने विकिपिडियालाई टर्कीमा लगभग दुई वर्ष प्रतिबन्ध लगाइएको थियो । राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै त्यहाँको दूरसंचार विभागले यस्तो कदम चालेपछि विकिपिडिया अदालतको ढोका ढक्ढकाउन पुगेको थियो । जसमा अदालतले सरकारको कदमलाई गलत करार गर्दै विकिपिडियाकै पक्षमा फैसला दियो ।

राष्ट्रपतिविरुद्ध गरिएको ट्विट हटाइएपछि प्रश्न गर्नेमा पत्रकार धेरै छन् । यसमा ब्लूमबर्ग स्तम्भकार म्याथ्यू इग्लेसियास पनि मिसिएका छन् । उनले मस्कको आलोचना गर्दै टर्की सरकारले ट्विटरलाई चुनावअघि आफ्नो विपक्षमा प्रयोग हुन नदिन भनेको र मस्कले त्यसलाई स्वीकार गरेको जनाएका छन् । उनको मतमा यसमा एउटा रोचक ट्विटर फाइल स्टोरी रिपोर्टिङ हुनसक्छ ।

हतपत्त कसैसँग नदप्ने स्वभावका मस्कले पुरानै चिरपरिचित लयमा इग्लेसियासको उक्त ट्विटप्रति असन्तुष्टि जनाएका छन् । उनले भने,‘इग्लेसियास, तपाईंको दिमाग शरीरबाट बाहिर गएको हो । विकल्प भनेको ट्विटरलाई पूर्ण रूपमा दबाउनु वा केही ट्वीटहरू प्रतिबन्ध लगाउनु हो। तपाईं के चाहनुहुन्छ ?’