NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

टेलिकमले घटायो भारत र थाइल्यान्डको रोमिङ शुल्क

काठमाडाैं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनिय रुपमा कमी गर्ने भएको छ ।

मे १७ मा मनाइने ITU Day 2023  को अवसरमा भोलिदेखि लागू हुने गरी नयाँ महसुल दर कायम हुने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् । नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट ७ रूपैयाँ मात्र शुल्क लाग्ने छ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट ७ रूपैयाँ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस  ७ रूपैयाँ नै लाग्ने छ ।

हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रूपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा  रूपैयाँ एसएमएस गर्दा २४ रूपैयाँ लाग्ने व्यवस्था छ ।

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट ५० मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट रु. २५ र एसएमएस गर्दा प्रति एसएमएस रु. १० लाग्ने छ ।

हाल कुनै नम्बरमा कल गर्दा १३५ रूपैयाँ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रूपैयाँ लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस ३४ रूपैयाँ लाग्छ ।

त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी ४० रूपैयाँ शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने टेलिकले जनाएको छ । यस अनुसार प्रति एमबी करिव ५  रूपैयाँ मात्र लाग्ने छ ।

अन्य देशमा जाँदा/रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ ।