NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

शरणार्थी प्रकरणलाई ‘ट्रेलर’ भन्ने प्रधानमन्त्रीले ललिता निवासको फाइल खोल्नुपर्छ

काठमाडौं । सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ललिता निवास प्रकरणको पनि फाइल खोल्न आग्रह गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमाथि भएको छानविनलाई प्रधानमन्त्री दाहालले ‘ट्रेलर’ मात्रै भएको संज्ञा दिएका थिए । यदि यसलाई ट्रेलर मान्ने हो भने ललिता निवास प्रकरणमाथि भएको छानविनका आधारमा पनि कारवाही अघि बढाउनुपर्ने त्रितालले बताएका हुन् ।

ललिता निवासको सरकारी जग्गा अधिग्रहण या जफत भएको भन्ने विषयमा उनको संयोजकत्वको समितिले महत्त्वपूर्ण प्रमाण फेला पारेको थियो । ती जग्गा सरकारले अधिग्रहण गरेर पछि व्यक्तिको नाममा गएको भन्ने तथ्य फेला पारेसँगै समितिले केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)लाई पनि छानविन गर्न सिफारिस गरेको हो ।

तर सिआइबीले छानविन गरेको प्रतिवेदनमाथि सरकारले हालसम्म कुनै कारवाही प्रक्रिया अघि बढेको छैन ।

त्रितालले नक्कली भुटानी शरणार्थी प्रकरण आन्तरिक रूपमा भ्रष्टाचार र तस्करीमात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा हाम्रो लागि साह्रै ठूलो बेइज्जतीको प्रश्न भएको बताए ।

‘यसलाई गम्भीरतापूर्वक लिनैपर्छ । यसमा तेरो मेरो, को कसको भनेर बचाउने प्रयास भयो भने यो दुर्भाग्यपूर्ण हुन्छ,’ उनले भने, ‘अब हामीले बाहिर जानुपरे पनि शरणार्थी हुन आएको त हैन भनेर प्रश्नको सामना गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । सत्तामा बस्ने त सोच्नै पर्यो । नागरिकहरूले आफ्नो ठाउँमा बसेर के गर्न सकिन्छ भनेर प्रयास गर्नुपर्छ ।’

योसँगै कोही किन शरणार्थी बन्न बाध्य भएका छन् भन्ने विषयमा पनि अध्ययन हुनुपर्ने उनले बताए । ‘नागरिकले म नागरिक हुन्न भनेर जानेहरुको बारेमा पनि वास्तविक अध्ययन गरिनुपर्छ । देशभित्र अवसर एकदमै कम छ,’ उनले भने, ‘बाहिर अवसर पाइन्छ भन्ने सोचाइको विकास छ । जसकारण बाहिरै जाने क्रम सुरु भएको छ । यसलाई कसरी रोक्न आन्तरिक अवसरको सिर्जना गर्नुपर्छ । यो गर्ने सरकारले हो । प्रशासन आफैंले गर्न सक्दैन ।’

प्रस्तुत छ त्रितालसँग गरेको कुराकानीको पूरा भिडियो