NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

खाँण निलम्बनको विषयले कांग्रेसमा दुई धार

काठमाडौं ।नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणलाई पार्टी केन्द्रीय सदस्यबाट निलम्बन गर्ने विषयमा कांग्रेस केन्द्रदेखि तल्लो तहसम्म विभाजित बनेको छ । पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई मुद्दाको किनारा नलागेसम्म पार्टीको जिम्मेवारीबाट अलग राख्ने विषयमा कांग्रेसमा दुई धार देखिएको हो । संस्थापन समूह तत्काल निलम्बन नगर्ने पक्षमा छ भने इतर समूहले निलम्बन गर्दा पार्टी हितअनुकूल हुने मत राख्दै आएको छ । हालसम्म यस विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

प्रवक्ता डा. प्रकाशशरण महतले खाणको विषयमा अनुसन्धान टुंगो नलागेसम्म कुनै निर्णय लिने तयारी नभएको बताएका छन् । मंगलबार राजधानीमा पत्रकार भेटघाटमा प्रतिक्रिया दिँदै उनले अनुसन्धानबाट नतिजा आइसकेपछि निर्णयमा पुग्ने बताए । उनले कांग्रेस सांसदद्वय आरजु राणा र मञ्जु खाणको विषयमा आधार अनर्गल प्रचार र मिडिया ट्रायल भएको उनको जिकिर थियो ।

‘नक्कली शरणार्थी प्रकरण गम्भीर विषय हो । पार्टीले गम्भीरताका साथ लिएको छ । आरोपित व्यक्तिमा बालकृष्ण खाण पनि हुनुहुन्छ । उहाँले आफूलाई निर्दोष साबित गर्छु भन्नुभएको छ । नक्कली शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस् । पार्टी स्पष्ट छ, निर्दोष नफसून्, दोषी नउम्किऊन् । परिपक्व अनुसन्धानबाट नतिजा आइसकेपछि हामी के गर्ने भन्ने निर्णय गर्छौँ,’ उनले भने, ‘मञ्जु खाणको विषयमा विदेश पुग्नुभयो भनेर आएको छ । यसमा पार्टीले फलो गर्ने कुरा भएन । आरजु राणाको केसमा उहाँले आफ्नो भनेर आएको अडियो छानबिन होस् भनेर आफैँले साइबर ब्युरोमा उजुरी गर्नुभएको छ । आधारविना मिडिया ट्रायल गरेर दोषी करार गर्नुहुँदैन ।’

सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसँग भने छलफल र राय लिइरहेका छन् । निर्णय लिन कार्यसम्पादन या कार्यसमितिको बैठक भने आह्वान गरिएको छैन । यसकारण तत्काल खाणलाई निलम्बन गर्ने निर्णय हुने अवस्था छैन । कांग्रेसका एक पदाधिकारीका अनुसार खाण पक्राउ परिसकेको अवस्थामा पनि संस्थापन केही नेताहरू भने निलम्बनको विपक्षमा छन् । महामन्त्री गगन थापाले मंगलबार नै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको जिम्मा पार्टीले नलिने स्पष्ट पारेका छन् । शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने भन्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । थापाले पटक–पटक यस विषयमा आफूले पार्टी बैठकमा धारणा राखेको, तर सुनुवाइ नभएको वक्तव्यमा उल्लेख गरेका छन् ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।