NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते
मदन–आश्रित स्मृति दिवस

दासढुंगा दुर्घटना : छानविनमा एमालेले गुमाएको अवसर, उमेशको दाबीमा ओलीले किन दिए चासो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले रहस्यमय दासढुंगा जिप दुर्घटनामा निधन भएका पूर्वमहासचिव मदन भण्डारीको हत्या सम्बन्धका सत्यतथ्य समय आएपछि बाहिर ल्याउने जिकिर गरे ।

३० औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन नगर बल्खुमा बुधबार आयोजित कार्यक्रममा मदनको हत्या हो कि दुर्घटना हो भन्ने विषयमा मुख खोलेका हुन् । पुराना कांग्रेस नेता उमेश गिरिले केही समयअघि मदनको हत्या सम्बन्धमा दिएको अन्तर्वार्ताको सन्दर्भ कोट्याउँदै उनले सत्यतथ्य बाहिर ल्याउने जिकिर गरेका हुन् ।

‘कहाँ र कसरी उहाँहरूको हत्या भएको थियो, त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तर्वार्ता दिनुभएको थियो केही अगाडि । त्यसमा उहाँले मदन भण्डारीको हत्या गर्ने काम मलाई जिम्मा दिन खोजिएको थियो तर मैले जिम्मा लिन मानिनँ भनेर खुलस्त पार्नुभएको छ । फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर नामै तोक्नुभएको छ । यो सबैको समयक्रममा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’

ओलीले नाम लिएका गिरी को हुन् ? उनलाई यी सबै कुरा कसरी थाहा भयो जस्ता प्रश्न उठ्न सक्छ । गिरीले ७ महिनाअघि मदनको हत्या सम्बन्धमा दिएको एक अन्तर्वार्ता निकै चर्चित छ । त्यस अन्तर्वार्तामा उनले मदनको दुर्घटना नभइ पूर्वप्रधानमन्त्री गिरिजाप्रसादको योजनामा हत्या भएको खुलासा गरेका थिए । उनको आरोप सही हो वा होइन, त्यो रहस्यकै विषय छ । तर त्यस अन्तर्वार्तामा उनले मदनको दुर्घटना हुनु ६ महिनाअघि नै आफूलाई योजनाकाबारे थाहा भएको दाबी गरेका थिए । त्यतिबेला उनले दिएको अन्तर्वार्ताको केही अंश ओलीले लिएर अभिव्यक्ति दिएका हुन् ।

यस्तो छ उनको अन्तर्वार्ता केही अंश :

मदनको दुर्घटना हुनुभन्दा ६ महिनाअघि १६ कात्तिक, ०४९ गते नै उनको हत्या योजनाबारे आफूलाई थाहा भएको दाबी गरेका छन् । उनलाई हत्या गर्ने जिम्मा तत्कालीन प्रधानमन्त्री कोइरालाले आफूलाई दिएको गिरीको दाबी छ । उनले सोही दिन विहान विराटनगरको कोइराला निवासस्थित नोना कोइराला बस्ने कोठामा तत्कालीन प्रधानमन्त्री कोइराला, नोना र आफूबीच कोठाको ढोकाको चुक्कुल लगाएर मदनका बारेमा गोप्य कुराकानी भएको उनले बताए ।

‘कात्तिक १६ गते मोरङको कर्सियामा बीपी कोइरालाको सालिक सिलन्यास गर्नका लागि कात्तिक १५ गते गिरिजाबाबु बिराटनगर आउनु भएको थियो । कार्यक्रमपछि उहाँहरु कोइराला निवास फर्किनु भयो । साँझ ७ बजे नोना कोइरालाले मलाई फोन गरेर उमेश, एउटा सिरियस कुरा छ, तिमीसँग सल्लाह गर्नु छ । भोलि विहान जतिसक्दो चाँडो आऊ न भनेर बोलाउनु भयो’, त्यतिबेलाको घटना स्मरण गर्दै उनले भने ।

नोनाको फोन आएपछि आफू भोलिपल्ट बिहानै कोइराला निवास पुगेको उनले बताएका छन् ।

‘म भोलिपल्ट विहान छ बजे कोइराला निवास पुगेँ । घरमा माथिल्लो तल्लामा उक्लिँए । त्यहाँ नोनाको कोठा थियो । म नोना आमाको कोठामा बसें । भित्र गरिजाबाबु हुनुहुन्थ्यो’, त्यतिबेलाको अवस्थाबारे जानकारी गराउँदै उनले भने, ‘त्यसपछि गिरिजाबाबुले ढोकाको चुक्कुल लगाऊ भन्नु भयो । म चुकुल लगाएर भूईमा बसें । नोना कोइराला र गिरिजाप्रसाद कोइराला पलंगमा बस्नु भएको थियो । गिरीजाबाबुले चुरोट तानिरहनु भएको थियो।’

अन्तर्वार्तामा घटनाको सविस्तार जानकारी गराउँदै उनले मदनको हत्या योजना विषय खुलासा गरेका छन् ।

‘कोठा एकदम चकमन्न थियो । त्यसपछि गिरजिाबाबुले मलाई भन्नु भयो, कुरा सिरियस छ, मदन भण्डारीलाई ‘सीन आउट’ गर्नु प¥यो । मैलै आश्चर्य मान्दै यो काम मबाट हुन सक्दैन भने । मैले अस्वीकार गरेपछि उहाँले सम्झाउँदै भन्नुभयो, मदन भण्डारीलाई ‘सीन आउट’ गर्न सकिएन भने नेपाली कांग्रेस नै ‘सीन आउट’ हुन्छ’, उनले भनेका थिए ।

आफू अन्य जुनसुकै काम गर्न तयार रहेको तर मदनको विषयमा केही गर्न नसक्ने भन्दै त्यहाँबाट बाहिरिएको उनले जिकिर गरेका छन् । त्यसपछि मदनको हत्या भएपछिमात्र कोइरालाई काठमाडौंमा भेटेको उनले बताएका छन् ।

‘गिरिजाबाबुलाई भेटेको र ‘के गर्नु भएको’ भनेर मैले सोधें । जवाफमा उनले भने, ‘सक्कियो अब त्यो कुरा नगर’, उनको जिकिर थियो ।

को हुन् गिरी ?

किशोर उमेरमै कांग्रेसको राजनीतिसिमा आबद्ध रहेका उनी २०३० सालको चर्चित विमान अपहरणको योजनाकार थिए । त्यसको नेतृत्व दुर्गा सुवेदीले गरेका थिए । गिरीविरूद्ध हवाई अपहरण काण्डमा नेपालमा पक्राउ पुर्जी जारी भएपछि उनी निर्वासित भए । त्यसपछि भारतमा बसेर कांग्रेसको सशस्त्र आन्दोलनलाई सघाए । त्यतिबेला उनलाई पार्टीले हतियार खोज्न, खरिद गर्न र तिनको व्यवस्थापन गर्न जिम्मा दिएको थियो ।

ओखलढुङ्गाकाे टिमुरबोटमा २०३२ सालमा भएको सशस्त्र हमलाका लागि गिरीले नै हतियार र बन्दोबस्तीका सामान पठाएका थिए ।
२०३३ मा सर्वोच्च नेता बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किए पनि गिरी भारतै बसे । बीपीको आग्रहमा तत्कालीन राजा वीरेन्द्रले राजबन्दी र निर्वासित कार्यकर्तालाई आममाफी दिएपछि मात्रै उनी २०३७ सालमा स्वदेश फर्किएका थिए । २०५८ मा विराटनगरका उद्योगपति तुलसीराम अग्रवाललाई अपहरण गराउने मुख्य योजनाकार गिरी नै थिए । तर  नोनाकै हस्तक्षेपका कारण प्रहरीले मुद्दा चलाउन सकेन । त्यसपछि भारतमै गएर बसेका उनी २०५९ असोज १८ गते तत्काली राजा ज्ञानेन्द्र शाहले सत्ता कब्जा गरेपछि स्वदेश फर्किएका थिए ।

नोनाका भाइका छोरी ज्वाइँसमेत भएकाले गिरीले कोइराला परिवारबाट लाभ लिँदै आएका थिए । दासढुङ्गा दुर्घटनापछि २०५० मा काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई हराउन मुख्य भूमिका खेलेको उनीमाथि आरोप छ । २०६२/०६३ को दोस्रो जनआन्दोलन पछि मधेश केन्द्रीत दलमा लागेका उनी २०७४ को निर्वाचको मुखमा एमाले प्रवेश गरेका हुन् ।

मदनको वास्तविकता छानविनमा एमालेले गुमाएको अवसर

आजभन्दा ३० वर्षअघि अर्थात् ३ जेठ, २०५० सालमा मुग्लिन–नारयणगढ सडकखण्ड अन्तर्गत जिप दुर्घटना हुँदा भण्डारीसहित संगठन विभाग प्रमुख जीवराज आश्रितले ज्यान गुमाएका थिए । ३० औं वर्ष पार गर्दासमेत त्यो घटना दुर्घटना हो वा हत्या भन्ने विषय अहिलेसम्म रहस्यकै गर्वमा छ । घटनाका एकमात्र साक्षी चालक अमर लामाको समेत ११ साउन, २०६० कीर्तिपुरमा हत्या गरिएपछि घटना झनै रहस्य बन्यो । त्यतिबेला कांग्रेसका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । आफ्ना नेताको दुर्घटना नभइ हत्या भएको आरोप लगाउँदै तत्कालीन एमालेले देशभर आन्दोलन चर्काएको थियो ।

स्थिति सरकारको नियन्त्रण बाहिर जाने स्थिति देखिएपछि सरकारको तर्फबाट सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा आयोग गठन भएको थियो । सो आयोगले चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रतिवेदन दिएपछि एमाले झनै आक्रोसित भएर आन्दोलन चर्कायो ।

आन्दोलनबाट आत्तिएको सरकारले पुनः सर्वोच्च अदालतका न्यायाधीश त्रिलोक प्रताप राणाको अध्यक्षतामा अर्को छानबिन आयोग गठन गर्यो । राणा नेतृत्वको आयोगले पनि हत्या वा दुर्घटना भन्ने सम्बन्धनमा कुनै निष्कर्ष दिन सकेन । सरकारबाट गठन भएको दुईवटा आयोगको प्रतिवेदन चित्त नबुझेपछि नागरिक समाजले पदमरत्न तुलाधरको अध्यक्षतामा आयोग गठन ग¥यो ।

तुलाधर आयोगले दुर्घटनालाई रहस्यमय भएको निष्कर्ष निकालेको थियो । बिभिन्न आयोगले निकालेका निश्कर्ष चित्त नबुझेपछि नेकपा एमालेले पार्टीको तर्फबाट छानविन गर्न नेता केपी ओलीको नेतृत्वमा आयोग गठन ग¥यो । ओली नेतृत्वको आयोगले दासढुँगा काण्ड दुर्घटना नभइ रहस्यमय हत्याकाण्ड भएको निष्कर्ष निकाल्यो । तर प्रतिवेदन सार्वजनिक गरेन । एउटै हत्याकाण्डका लागि चार चार वटा आयोग गठन भए । फाइल त्यतिकै दराजमा थन्किएर बस्यो ।

मदनको निधनपछि उनका उत्तराधिकारी माधवकुमार नेपाल १४ वर्ष पार्टी महासचिव बने । झलनाथ खनाल ५ वर्ष अध्यक्ष भए । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली अहिले अध्यक्ष छन् । तीस वर्षमा एमाले पटक पटक सरकारमा गएको छ । एमालेबाट मनमोहन अधिकारीसहित नेपाल, खनाल र ओली चार जना प्रधानमन्त्री भए । तर आफू सत्तामा हुँदा घटनाको छानिवनको सम्बन्धमा उच्चरण गर्नसमेत चाहेनन् ।

देशको दुई पटक प्रधानमन्त्री भएका ओलीका लागि घटनाको विषयमा छानविन गर्न सुवर्ण अवर प्राप्त गरेको थियो । २०७४ को निर्वाचनमा वामपन्थीले देशभर दुई तिहाइ बढी मत पाएको थियो । ओली शक्तिशाली प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री भएपछि राज्यका महत्वपूर्ण निकालयलाई प्रधानमन्त्रीको मातहतमा ल्याएका थिए ।

संयोग नै मान्नुपर्छ मदनको सच्चा अनुयायी आफू भएको दाबी गर्ने ओली प्रधानमन्त्री हुँदा मदनका धर्मपत्नी विद्यादेवी भण्डारी देशको सर्वोच्च पद राष्ट्रपति थिइन् । राष्ट्रप्रमुखको हैसियतमा सात वर्ष शितल निवासमा बसेकी उनलेसमेत आफ्नो पतिको हत्या वा दुर्घटना के हो भन्ने सम्बन्धमा चासो देखाइनन् । वामपन्थीको एकल सरकारको नेतृत्व गरेर ४२ महिना सिंहदरबारको नेतृत्व गरेका ओलीले चाहेको भए यसविषयमा छानविन प्रक्रिया अगाडि बढाउन सक्थे तर फाइल खोल्न आवश्य ठानेनन् ।

सत्ता बाहिर हुँदा राजनीति खपतका लागि भाषण दिँदै आएका एमालेका नेताहरू सत्तामा पुग्दा बुझिनसक्नुको मौनता साँच्दै आएका छन् ।
लेनिनले स्थापित गरेको सोभियत समाजवाद सन् १९९० मा ढलेपछि विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको थियो । मदन तिनै नेता हुन् जसले, नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे । मदनको त्यहि जबजको ब्याज एमालेले अहिलेसम्म खाँदैछ । संसदका दोस्रो ठूलो दल रहेको एमाले समकालीन राजनीतिक दलहरूमध्ये शक्तिशाली  छ । विश्वबाट कम्युनिस्ट शासन पतन भएको अवस्थामा मदनकै कारण नेपालमा अझै वामपन्थीहरूको जनमत बढी छ ।