NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रधानमन्त्रीले आज संसदमा गर्दैछन् सांसदको प्रश्नको सामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको सामना गर्दैछन् ।  प्रधानमन्त्रीमा नियुक्त भएको ६ महिना गुज्रिए पनि अहिलेसम्म सांसदसँग प्रचण्डको प्रश्नोत्तर चलेको छैन ।

प्रतिनिधिसभा नियमावली, २०७९ मा   प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुपर्ने प्रावधान छ । नियमावलीको नियम ५६ मा भनिएको छ– प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नसक्नेछन् ।’ नियमावलीको सोही व्यवस्थाअनुसार आज प्रधानमन्त्री र सांसदबीच प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम राखिएको हो ।

संसद् सचिवालयले बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यतालिका तय भएको जानकारी दिएको छ ।

संसद् सचिवालयले यसअघि प्रश्नोत्तर कार्यक्रमबारे बारे जानकारी गराउँदै सांसदहरूसँग आफ्ना प्रश्न माग गरेको थियो । जसमा नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पुर्याउने नाममा भएको ठगी, टीकापुर घटना, प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयसँग सम्बन्धित २० प्रश्न सांसदले उपलब्ध गराएका छन् । ती प्रश्न प्रधानमन्त्री कार्यालय पुगिसकेको र प्रधानमन्त्रीले तीमध्ये १५ प्रश्नको बिहीबार जवाफ दिने संसद् सचिवालयले जनाएको छ । निययावलीअनुसार एक प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले १५ वटा प्रश्नको मात्र जवाफ दिनुपर्ने व्यवस्था छ ।

नियमावलीअनुसार, सांसदहरूले लिखित रूपमा उपलब्ध गराएका प्रश्न उनीहरूले प्रधानमन्त्रीलाई सोध्नेछन् । प्रधानमन्त्रीले सांसदद्वारा राखिएको जिज्ञासाको जवाफ तत्काल दिनुपर्नेछ ।

संसद् सचिवालयका अनुसार, आजको प्रश्नोत्तर कार्यक्रममा एमालेका पदम गिरी, रघुजी पन्त, विद्या भट्टराई, कांग्रेसकी ईश्वरी न्यौपाने, रामहरि खतिवडा, दीपक गिरी, दिलेन्द्र बडु, माओवादी केन्द्रका पूर्णबहादुर घर्ती, रास्वपाका शिशिर खनाल, जनमत पार्टीकी अनिता देवी, नागरिक उन्मुक्तिका गंगाराम चौधरीलगायतले आफ्ना आफ्ना प्रश्न राख्नेछन् ।