NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० जेठ १४ गते

शारीरिक अपाङ्गता भएका सौरभले शिक्षा हासिलदेखि जागिरसम्ममा झेल्नुपरेका अप्ठ्यारा

काठमाडौं । के शिक्षा सबैका लागि समान छ ? यो प्रश्नमा व्यक्तिअनुसार जवाफ आउन सक्छ । नीतिगत तहमा काम गर्नेको जवाफ एउटा हुनसक्छ अनि पिँधमा रहेकाको अर्कै ।

शारीरिक अपाङ्गता भएका सौरभ कार्कीको नजरमा शिक्षा सबैका लागि बिलकुल समान छैन । शिक्षा प्रमाणपत्रमा भन्दा व्यक्तिको आचरणमा झल्किनुपर्ने भए पनि त्यसो हुन नसकेको उनको अनुभव छ । उनको मतमा ढुंगे युगमा जेजस्ता घटना घट्थे अहिलेको शिक्षित समाजमा पनि त्यही दोहोरिनु संगतपूर्ण कुरा होइन ।

शिक्षाले समाजको अवस्था परिवर्तन नभएको विचार उनको आफ्नै भोगाइको उत्पादन हो । शारीरिक अपाङ्गतामा जन्मिएका उनले आधारभूत मानिने शिक्षा लिन चुनौतीका पहाड सामाना गर्नुपर्यो ।

संविधानले त शिक्षालाई आधारभूत आवश्यकताको रूपमा दर्ज गरिदिएको छ । तर आधारभूत सुविधा पाउन ठूलो समय खर्चिनुपरेको उनको अनुभव छ । यही कारण समाज प्रमाणपत्रमा शिक्षित भए पनि व्यवहारमा शिक्षित भएको स्वीकार्न उनी तयार छैनन् ।

नेपाली समाजले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण अझै परिपक्व हुन नसकेको उनको गुनासो छ । समाजको यही नजरीयाका कारण शिक्षा हासिल गर्ने क्रममा पाइलैपिच्छे चुनौती सामना गरेको तीतो अनुभव उनीसँग छ ।

सौरभको प्रारम्भिक शिक्षा झापाबाट सुरु भयो । जहाँ अपांगता भएका विद्यार्थीलाई कस्तो शिक्षा दिनुपर्छ भन्ने ज्ञान नै थिएन । साधारण विद्यार्थीले जसरी पढाइ सुरु गरे, उनले पनि त्यही वाावरणमा पढ्नुपर्यो ।

शिक्षा लिने क्रममा उनका लागि यो नै गम्भीर किसिमको चुनौती थियो । अन्य विद्यार्थीसरह पढ्नुपर्दा निकै कठिन थियो । मुख्यगरी, परीक्षाको समयमा अन्यलाई जसरी मूल्यांकन गरिन्थ्यो उनको पनि त्यहीअनुसार हुन्थ्यो ।

गृहकार्य गर्दा कहिले हात सुनिन्थ्यो । जे भएपनि उनले गृहकार्य गर्थे, साथीभाइका अघि शिक्षाकको कुटाइ खाने डरले । पढाइमा निकै मिहिनेत गर्ने उनी कक्षामा टप ५ सम्म आउथे । तर पनि शिक्षा लिने क्रममा आफ्ना लागि फरक वातावरणको अभाव भने उनलाई सधैं खड्कियो ।

अहिले फर्केर हेर्दा शिक्षा लिनकै लागि कति धेरै दुःख गरेर आएछुजस्तो लाग्छ उनलाई । ‘विहान ९ बजेदेखि एउटा कोठामा बसेर परीक्षा दिएको विद्यार्थी बेलुकी ६ बजेसम्म लेख्दा मानसिक रुपमा कस्तो असर पर्यो होला ?,’ परीक्षाको समय स्मरण गर्दै उनले भने, ‘बेलुका घर फर्किदाँ हात फुलेको हुन्थ्यो । विगत सम्झिदाँ कस्तो समाजमा हुर्किएछु भनेर ग्लानी हुन्छ ।’

तर आफैंलाई चुनौती दिन भए पनि पढाइलाई उनले सधैं निरन्तरता दिए । आन्तरिक परीक्षामा त आफैं लेख्थे । तर एसएलसीको परीक्षा दिँदा आफैंले लेखेर नभ्याउने भएपछि मान्छे राख्नुपर्ने भयो । जिल्ला शिक्षा कार्यालयले यत्तिको मान्छेलाई अर्को मान्छे राख्न पर्दैन भन्दा उनलाई निकै नरमाइलो लागेको थियो । अन्तिम अवस्थामा मेडिकल रिपोर्ट पेश गरेर सहयोगी राख्न पाए । त्यतिबेला फलामे ढोका मानिने एसएलसी परीक्षामा उनी ८५ प्रतिशत अंकसहित उत्तीर्ण भए ।

तर विद्यालय शिक्षा सकिनु उनको लागि झन् पीडादायी भयो । उनलाई विज्ञान विषय पढ्न मन थियो । तर काठमाडौंका ८० प्रतिशत कलेजहरुले उनको शारीरिक क्षमतालाई कारण देखाउँदै भर्ना लिन मानेनन् । कलेजले भर्ना नलिएकै कारण उनले आफूले पढ्ने विषयमा मन मार्नुपर्यो । विज्ञान नभए पनि व्यवस्थापन पढ्ने इच्छा जाहेर गरे । तैपनि भर्ना लिन मानेनन् । बरू आर्टस या कानुन पढ् भनेर बौद्धिक भनिएका वर्गले नै हतोत्साही बनाए । ‘झण्डै डिप्रेसनको शिकार भइसकेको थिएँ । अन्तिममा गोल्डेनगेट कलेजले भर्ना लियो,’ उनले सुनाए ।

किङ्स कलेजबाट एमबिए उत्तीर्ण गरेका उनलाई रोजगारी प्राप्त गर्न उस्तै महाभारत पर्यो । शैक्षिक योग्यता धेरै राम्रो थियो । तैपनि, रोजगारीका लागि दुई सय ५० ठाउँमा आवेदन हाले । र पनि काम पाएनन् । कतै अन्तर्वार्तामा फालिए त कतै शारीरिक अवस्थालाई कारण देखाएर उनको फाइल नै अघि बढाइएन ।

समय फेरिए पनि हाम्रो शिक्षा परिवर्तन हुन नसकेको उनको गुनासो छ । ‘विदेशीले जे सिकायो त्यही गर्यौं । हाम्रो माटोसँग जोडिएन जस्तो लाग्यो,’ उनले भने, ‘म्याकडोनल्डको प्रचार गर्न तम्सिने हामीले कुनै गाउँको मिठो खाजा पकाउने पसलको प्रचार किन गर्दैनौं ?’

नेपालको शिक्षाबारे उनको बुझाइ, उनले भग्नुपरेका समस्या र सामाना गरेका चुनौतीबारे यसपटकको एजुकेसन डायलगको श्रृंखलामा विस्तृतमा कुराकानी गरिएको छ ।

प्रस्तुत छ सौरभसँगको कुराकानीको पूरा भिडियो :