NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अस्पतालका शैय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शैय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन्  ।

आज मन्त्रालयमा पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शैय्यामा भर्ना भएका र रिक्त शैय्याका संख्या वेबसाइटमा दैनिकरुपमा अध्यावधिक गर्न निर्देशन दिएका हुन्।

उनले भने, ‘ठूलो पदमा भएका वा पहुँच भएकाले तत्कालै सहजै शैय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था छ । काठमाडौँमा अस्पतालको शैय्याको खोजीमा हिँड्दा हिँड्दाहिँड्दै बिरामी मृत्युसम्म हुने गरेको छ’, उनले भने, ‘सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले सात दिनभित्र अनिवार्यरुपमा श्ययामा भर्ना र रिक्त सङ्ख्याबारे वेबसाइटमा जानकारी राख्नुपर्छ ।’

अस्पतालमा भीड व्यवस्थापन र सहजीकरणका लागि सङ्घीय अस्पतालमा बहिरङ्ग सेवामा अनलाइन टिकटको व्यवस्था १५ दिनभित्र गर्न निर्देशन दिएका छन् । मन्त्री बस्नेतले वैदेशिक भ्रमणलाई वैज्ञानिक र व्यवस्थित बनाउन निर्देशन  दिए । उनले चालु आर्थिक वर्षभित्र भ्रमण भएका कर्मचारीको नामावली, सहयोगी निकाय र भ्रमणको उपलब्धिबारे विवरण माग गरे। ‘विदेश भ्रमण मन्त्रालयमा रोगकारुपमा देखिएको छ ।

दुर्गममा खटिएका व्यक्ति कहिले अवसर नपाउने तर विषयविज्ञका नाममा पटक–पटक विदेश भ्रमणमा जाने देखिएको छ’, उनले भने ।सकेसम्म वैदेशिक भ्रमण कम गर्ने र जानैपरे औचित्य पुष्टि गरेर मात्र स्वीकृत दिने उनको भनाइ छ । मन्त्री बस्नेतले मन्त्रिस्तरीय निर्णयअनुसार गठित अस्पताल उपकरण व्यवस्थापनसम्बन्धी अनुगमन समितिको निष्कर्षका आधारमा समेत निर्देशन दिए ।

दुई वर्षसम्म प्रयोग नभएका वा हुन नसकेका स्वास्थ्य सामग्री र उपकरण फिर्ता लिने र आवश्यकताअनुसार अन्य अस्पतालमा वितरण गर्न उनको निर्देशन छ । जनशक्ति र स्थान नभएका अस्पतालका लागि उपकरण खरिद गरेकाबारे स्पष्टीकरण सोध्ने, अस्पताललाई दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने र सबै सङ्घीय अस्पतालको उपकरण परीक्षण गर्न उनको निर्देशन छ ।