NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

तलबभत्ता नलिएर लाेकप्रिय भएका मेयर करोडौं रकम हिनामिना गरी सम्पर्कबिहीन

काठमाडौं । स्थानीय निक्षेपकर्ताका करोडौं रकम कुम्ल्याएको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सम्पर्कबिहीन भएपछि उनीविरूद्ध जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी परेको छ ।

शुक्रबार उपप्रमुख धनबहादुर कायतलाई कार्यबहाकको जिम्मेवारी दिएको पत्र पठाएर उनी सम्पर्कबिहीन भएका हुन् । नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा निक्षेप कर्ताका एक अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप लगाउँदै प्रशासन कार्यालयमा उजुरी परेको प्रमुख जिल्ला आधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार तीन दिनदेखि प्रमुख नेपाली सम्पर्कबिहिन भएको उनको खोजी कार्य जारी छ ।

‘करोडौं रकम हिनामिना भएको आरोपसहित निक्षेपकर्ता उजुरी लिएर प्रशासन कार्यालयमा आउनुभएको छ । म अहिले उहाँहरूसँगै छलफलमा छु । उजुरी प्राप्त भएसँगै हामीले गृहमन्त्रालयलाई यसबारे जानकारी गराइसकेका छौं । खोजी कार्य जारी छ । अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन’, उनले भनिन् । तरलताको अभावका कारण देखाउँदै यसअघि उक्त सहकारीले वैशाख ९ गते सूचना टाँस गरेर कार्यालय बन्द गरेको थियो । बचत जोखिममा परेपछि दैनिकजसो भुक्तानी माग्न सयौं निक्षेपकर्ता कार्यालयमा धाउने गरेका थिए । बन्द भएसँगै चौतर्फी दबाबमा परेका नेपालीले आफ्नो जायजेथा बेचेर भुक्तानी दिने प्रतिबद्धता जनाएपछि वैशाख १२ गते पुनः सेवा सुचारू भएको थियो ।

एक जना बचतकर्तालाई हप्ताको दुई चोटी पाँच हजारको दरले दिनमा सय जनालाई चल्ती खातामा रहेको रकम भुक्तानी गर्ने बताएका थिए । तर शुक्रबार उनका सहयोगीसहित परिवारका सदस्यसमेत सम्पर्कबिहीन भएको आशंका गरिएको छ । उनी सम्पर्कमा नआएपछि शेयरधनी र निक्षेपकर्ताका अर्बौं रकम जोखिममा परेको छ । तर १ नम्बरका वडाध्यक्ष बानबहादुर छन्त्यालले प्रमुख नेपालीसँग एक महिनादेखि नै भेट भएको बताए । उनले करोडौं रकम हिनामिना गरेको आफूले पनि सुनेको तर यस विषयमा गुनासो लिएर वडा कार्यालयमा कोही पनि नआएको उनले जिकिर गरे ।

‘शुक्रबार उपप्रमुखलाई कार्यबहाकको पत्र आएको जानकारी पाएको छु । उहाँसँग मेरो भेट नभएको एक महिना भएको छ । २०६९ सालमा उहाँ आफै अध्यक्ष रहेर सहकारी खोल्नुभएको थियो । त्यो सहकारीमा जम्मा भएको करोडौं रकम जोखिममा परेको मैले बाहिरबाट सुनेको हुँ । वास्तविकता केही थाहा छैन’, वडाध्यक्ष छन्त्यालले भने । प्रमुख नेपालीको घर नजिकै रहेका वडा सदस्य चन्द्रलाल पाण्डेले उनलाई शुक्रबार बजारमा देखेको बताए ।

‘उहाँ सम्पर्कबिहिन भएजस्तो मलाई लाग्दैन । उहाँको घर बुर्तिबाङमा पर्छ । मेरो घर उहाँको भन्दामाथि पर्छ । उहाँलाई शुक्रबार बजारमै भेटेको थिएँ’, उनले भने ।

१८ प्रतिशत ब्याज दिने भन्दै गैरशेयर धनीको करोडौं बचत नेपालीले झ्वाम पारेको निक्षेप कर्ताको आरोप छ । २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार रहेका नेपालीले ५ हजार ७३५ मत ल्याइ विजयी भएका थिए । २०७४ को निर्वाचनमा तलबभत्ता नलिने घोषणा गरेका उनी निजी सवारी साधनबाट कार्यालय जाने गर्दथे । बुर्तिबाङदेखि गण्डकी प्रदेशको कार्यालयसम्म निःशुल्क बस सञ्चालन गरेर चर्चामा आएका थिए । राजनीतिसँगै सामाजिक कार्यमा निकै सक्रिय रहेका  उनी स्थानीयबीच लाेकप्रिय थिए ।