NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने संगठित ठगी प्रकरणबारेको अनुसन्धान  प्रतिवेदन आज प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाउने भएको छ । करिब दुई महिना लगाएर यसमाथि अनुसन्धान गरेको प्रहरीले  भेटिएका तथ्य उल्लेख गरेर सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार सरकारी वकिलको कार्यालयलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउन लागेको जनाएको छ ।

यो प्रकरणमा अन्य व्यक्ति जोडिए पनि समयसीमाका कारण त्यहाँसम्म नपुगेर प्रतिवेदन दिन लागिएको भन्दै आलोचना भइरहेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता सीताराम रिजालले आवश्यक विषयमा थप अनुसन्धान गरेर पूरक प्रतिवेदन पेश गरिने बताए ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नको अभियोगमा प्रहरीले ०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल, टङ्क गुरुङ, सागर राई र सन्देश शर्मालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उनीहरूले दिएको बयान तथा प्रमाणका आधारमा विभिन्न व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राई, रायमाझीपुत्र सन्दीपलगायत १६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानमा तानिएर पक्राउ पुर्जी जारी भएका रामबहादुर थापा पुत्र प्रतीक, इन्द्रजित पुत्र निरजलगायत भने हालसम्म फरार छन् ।

प्रहरीले पक्राउ परेर हाल हिरासतमा रहेका र पक्राउ पुर्जी जारी भई फरार रहेका सबैविरुद्ध मुद्दा दायर गर्नुपर्ने निचोड निकालेको छ ।

प्रहरी स्रोतका अनुसार, कानूनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्न सिफारिस गरिएको छ ।

प्रहरी प्रतिवेदन बुझेपछि त्यसको अध्ययन गरेर सरकारी वकिलको कार्यालयले मुद्दा अभियोजन गर्नेछ । तर यसबारे अध्ययन गर्न दुई दिनको मात्र समय छ । सरकारी वकिलको कार्यालय, काठमाडौंले प्रतिवेदन अध्ययनका लागि छिटो प्रतिवेदन बुझाउन भनिए पनि त्यसो हुन नसकेको जनाएको छ ।