NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चित्राकुमारीको सहकारी यात्रा : एकाउन्ट किपिङदेखि महाप्रबन्धकसम्म

काठमाडौं । सफलता जादुको छडीजस्तै रातारात प्राप्त हुँदैन । त्यसका लागि कडा संघर्ष र धैर्य चाहिन्छ । कडा मिहिनेत, दृढ संकल्प र आत्मविश्वास बोकेर अघि बढ्ने मान्छेले जस्तोसुकै चुनौतीलाई पार गरेर सफलताको शिखर चुम्न सक्छन् । यस्तै गतिलो उदाहरण बनेकी छन्, राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बा । महासंघमा महाप्रबन्धकको जिम्वेवारी पाउने उनी पहिलो महिलासमेत हुन् ।

बाल्यकाललाई फर्केर हेर्दा…

पाँचथरको दुर्गम क्षेत्रमा पर्छ, याङनाम । चित्रकुमारीको जन्म त्यही दुर्गम तर सुन्दर याङनाममा भएको थियो । बुवा रत्नकुमार थामसुहाङ र आमा लक्ष्मीदेवी थामसुहाङको ६ सन्तानमध्ये जेठी थिइन्, चित्रकुमारी ।

उनले ‘स्कुलिङ’ थाल्दा गाउँमा विद्यालय निकै कम थिए । सञ्चालनमा रहेका विद्यालयमा पनि गुणस्तरीय शिक्षा थिएन । बरोबर शिक्षकहरूको सरुवा भइराख्थ्यो ।

उनका हजुरबुवा गाउँका त्यतिबेलाका प्रतिष्ठित व्यक्ति थिए । शिक्षाको महत्त्व राम्रोसँग बुझेका उनले चित्रकुमारीका बुवालाई अध्ययनका खातिर दार्जिलिङ पठाएका थिए । तर हजुरबुवाको इच्छाविपरीत उनका बाबु पढाइ छाडेर बीचमै फर्किए । चित्रकुमारीका अनुसार, यसमा उनका बाबुलाई ‘आफूले गल्ती गरेँछु’ भन्ने ग्लानि थियो । आफ्नो विद्यालय यात्रा तय हुनुको पछाडि बावुको यही रियलाइजेसनको भूमिका रहेको चित्रकुमारी बताउँछिन् ।

‘बुवाले जहिले पनि पढ्नुपर्छ भनिरहनुहुन्थ्यो । भाइ–बहिनीहरू कोही स्कुल जान नमाने पनि जबरजस्ती पठाउनुहुन्थ्यो,’ केहीबेर घोत्लिँदै उनले बाल्यकालीन सम्झनाका गुत्थी फुकाइन् ।

अध्ययनको अवसर पाए पनि घरायसी समस्याले पठनपाठनमा दत्तचित्त भएर लाग्न नपाएको कतिपयको गुनासो हुने गर्छ । आमाले सबै सम्हालिदिने भएकाले चित्रकुमारीले कहिल्यै पुस्तक छाडेर हँसिया, नाम्लो समाउनु परेन ।

गाउँको विद्यालयमा तीन कक्षासम्म मात्र पढाइ हुन्थ्यो । त्यो सकिएपछि तत्कालीन खलंगाटार माध्यमिक विद्यालय जानुको विकल्प थिएन किनभने त्योभन्दा नजिक अन्यत्र विद्यालय थिएनन् । गाउँमा तीन कक्षासम्म अध्ययन गर्दा उनका धेरै साथी थिए, तर जब चार कक्षा उक्लिइन्, उनी एक्लो भइन् । कक्षामा छात्रा साथी नहुँदा असहज महसुस गरेको उनको अनुभव छ । यसले ल्याएको उदासीका कारण बेला–बेला उनले स्कुल नजाने सोच नबनाएकी होइनन् । तर बुवाकै जोडबलमा यी प्रयास असफल भएको उनको अनुभव छ ।

माध्यमिक विद्यालय रहेको खलंगाटार क्षेत्रमा लिम्बू समुदायको बाहुल्यता थियो । त्यहाँ बसोबास गर्ने अन्य समुदायका व्यक्ति पनि लिम्बू भाषा राम्रोसँग बुझ्थे, बोल्थे । तर उनकी आमा लिम्वु भाषामा त्यति धेरै पोख्त नभएकोले भएकाले घरमा बोलीचालीमा अक्सर नेपाली भाषा नै प्रयोग हुन्थ्यो । उनका साथीहरूले यो चाल पाइहाले । त्यसपछि त के चाहियो, साथीहरूले लिम्बू भाषामा तथानाम गाली गर्न थालिहाले ।

घरमा बुवाआमाको प्यारमा हुर्किएकी थिइन् । कसैले केही भनेका थिएनन् । उनलाई साथीहरूको त्यो ‘बुलिङ’ सहिनसक्नु भयो । स्कुल नै छाडेर भागिन् ।

यो घटनापछि बुवाले गालीसँगै सजाय दिए । त्यसपछिका दिनमा चित्रकुमारीले कहिल्यै यस्तो गल्ती गर्ने दुश्प्रयास गरिनन् रे ।

गाउँकै विद्यालयबाट ०४२ सालमा उनले एसएलसी दिइन् । पास पनि भइन् । उनको सानैदेखिको इच्छा शिक्षिका बन्ने थियो । गाउँकै स्ुकलमा चक, डस्टर समाउने अवसर जु-यो । उनले डेढ वर्ष पढाइन् ।

चित्रकुमारीमा अध्ययनको भोक उस्तै थियो । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना गरिन् । लय लागेर अध्ययन गर्ने उनले प्रवीणता प्रमाणपत्र मात्र होइन, स्नातक तह पनि उत्तीण गरिन् । स्नातकोत्तरको पढाइ भने उनले त्रिभुवन विश्वविद्यालयबाट गरिन् ।

संयोगले जुरेको सहकारी यात्रा …

लिम्बू समुदायमा मागी विवाहको चलन पुरानो हो । त्यतिबेला सानैमा विवाह गरी छोरीलाई पठाउने चलन थियो । उनी पनि यसबाट किन अछुतो रहन सक्थिन् र ? एसएलसी पढ्दै गर्दादेखि नै घरमा विवाहका लागि माग्न आउनेको धुइरो लाग्न थाल्यो । तर बुवाआमा छोरीले पढ्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ भन्ने पक्षमा रहेकाले अन्य दिदीबहिनीजस्तो सानै उमेरमा विवाह गरेर घरजम गर्नुपर्ने बाध्यता उनीनजिक ढिम्किन पनि पाएन । चित्रकुमारीका अनुसार स्नातक अध्ययन सकाएपछि मात्रै छोरीको विवाह गरिदिनुपर्ने पक्षमा उनका बाबु थिए । नभन्दै भयो नै त्यस्तै ।

चित्राकुमारीका श्रीमान् पेशाले इन्जिनियर हुन् । इन्जिनियर भएपछि गाउँमा बसिरहने कुरा थिएन । उनी श्रीमानसँगै काठमाडौं आइन् । काठमाडौं पसेपछि उनलाई लाग्यो, अब त केही गर्नैपर्छ । उनी जागिर खोज्न थालिन् । एउटा स्कुलमा पढाउने जागिर पाइन् । एक/दुई दिन पढाइन् पनि । तर तलबमा कुरा मिलेन ।

शिक्षिका बन्ने त उनको सानैदेखिको सपना थियो तर सहकारीमा जागिरे होऔंला भन्नेचाहिँ उनले किञ्चित सोचेकी थिइनन् । जागिर नपाएर बेइलम बसिरहेका बेला जिल्लाका नेता पूर्वराज्यमन्त्री दीपकप्रसाद बाँस्कोटालाई उनले आफ्नो दुःख बिसाइन् । बाँस्कोटाले साझा यातायातमा काम मिलाइदिए । त्यहाँ बिहान बेलुकै समय दिनुपथ्र्यो । चित्राकुमारीले समय दिन नसक्ने भइन् । ‘उहाँले साझा यातायातमा काम भन्दिएको छु जाउ भनेपछि म गएँ, तर बिहान–बेलुका नै समय दिनुपर्छ भनेपछि सानो बच्चाका कारण सम्भव भएन,’ उनले भनिन् ।

त्यसपछि फेरि बाँस्कोटा गृहराज्यमन्त्री हुँदा उनकै पिए महासंघ (तत्कालिन राष्ट्रिय सहकारी संघ) मा आबद्ध थिए । उनले नै एकाउन्टेन्टको जागिर अफर गरेको र सहकारी यात्रा सुरु भएको चित्राकुमारी बताउँछिन् ।

उनले जागिर सुरु गर्दा सहकारी अहिलेजस्तो च्याउसरी थिएनन्, अलिअलि थिए । सहकारी के हो, के गर्छ ? भन्नेबारे साधारण मानिस त छाडौं, सिंहदरबारमासमेत जानकारी थिएन । सहकारी भन्नेबित्तिकै मानिसहरू ट्वाल्ल पर्थे ।

सहकरीमा जागिर गर्छु भन्ने सोच नभएकाले केही समय मात्रै गर्छु भन्ने उनको विचार थियो । काम गर्दै गएपछि यसमा उनको रस पस्दै थयो । त्यसपछि यसमै रमाउन पुगेको चित्रकुमारी सुनाउँछिन् ।

उनले भनिन्, ‘पहिले सहकारीमा लामो समय जागिर खान्छुजस्तो लागेको थिएन तर विस्तारै–विस्तारै यस क्षेत्रमा फेमिलिएर वातावरण पाएँ । धेरै व्यक्तिहरूसँग  सम्पर्क, समन्वय, गर्न पाइने रहेछ । यसको सञ्जाल यति धेरै ठूलो रहेछ । पूर्वदेखि पश्चिमसम्मका मान्छेहरूसँग जोडिन पाइने, उहाँहरूसँग सम्पर्क, समन्वय हुने । राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय तहसँग समन्वय हुने । मेरो मन बद्लियो, मैले निरन्तरता दिए ।’

एकाउन्ट किपिङदेखि महाप्रबन्धसम्म

महासंघमा चित्राकुमारीले प्रवेश एकाउन्ट किपिङका रूपमा भएको थियो । आफ्नो पढाइभन्दा बाहिरको विषय भए पनि उनले एक महिनाभित्र काम मात्रै सिकिनन्, सिद्धतापूर्वक दैनिक लेखा राख्न सक्षम भइन् । उनी सम्झिन्छन्, ‘त्यो बेला महासंघ अहिलेजस्तो थिएन संघ थियो । संघको निश्चित गतिविधि हुन्थ्यो । अलिकति एपेक्स अर्गनाइजेसन भएकाले मन्त्रालय र सरकारी निकायसँग समन्वय गर्नुपर्ने हुन्थ्यो । मैले त्यो विषय नभए पनि एक महिनामा परफेक्ट रूपमा लेखा राख्न थालेँ ।’

सुरुवातमा जागिरे जीवन उनको सहज पक्कै थिएन । मागी विवाह भएकाले नयाँ परिवारसँग पहिल्यै चिनजान थिएन । त्यसैले नयाँ परिवारमा घुलमिल हुन गाह्रो थियो । तर बुझ्ने श्रीमान् पाएकाले परिवारबाट राम्रै साथ पाइन् । उनको कामप्रति श्रीमानको कुनै रोकतोक थिएन ।

महासंघमा उनले एकाउन्ट किपरपछि एकाउन्ट अफिसर, सिनियर म्यानेजर, डेपुटी जेनरल म्यानजेरलगायतका जिम्मेवारी एकपछि अर्को गर्दै समाल्दै गइन् । एकाउन्ट किपिङदेखि महाप्रबन्धकसम्मको यात्रा पार गर्ने क्रममा उनले थुप्रै चुनौतीलाई पार लगाइन् । यहाँसम्मको सफलतमा आफ्नो मिहिनेतसँगै परिवारको साथ र सहयोगको पनि भूमिका रहेको उनी सुनाउँछिन् ।

महासंघ चल्नको लागि मेम्बर अर्गनाइजेसन, सरकार र एपेक्स अर्गनाइजेनको साथ महत्त्वपूर्ण हुन्छ । तर सबै एकअर्कालाई हेर्दै तर्किने गरेको उनको अनुभव छ । सरकारले अभियानको महासंघ भएकाले अभियानले हेर्छ भनेर सहयोग नगर्ने, मेम्बर अर्गनाइजेनले पनि महासंघले हामीलाई केही गर्नुपर्ने हो हामीले हैन भनेर सोच्ने गर्दा महासंघमा थुप्रै चुनौती रहेको उनले बताइन् । तर यी सबै चुनौतीलाई पार गर्दै महासंघलाई बलियो बनाउन उनी दत्तचित्तका साथ लागिपरेकी छन् ।

महिलालाई चुनौती नै चुनौती

महिला भएकाले स्वभावैले पुरुषले भन्दा धेरै असहजता महसुस गर्नुपर्ने उनको अनुभव छ । महिला भएकै कारण उनले पनि धेरै असहजतालाई चिर्नुपरेको छ । ‘बेलुका अबेरसम्म मिटिङमा बस्न, पार्टीमा सामेल हुन महिलालाई गाह्रो हुन्छ, अफिसको साथसाथै घरमा पनि महिलाको छुट्टै जिम्मेवारी हुन्छ, यसले महिलालाई अघि बढ्न थप चुनौती थप्ने गरेको छ,’ उनले सुनाइन् ।

नेतृत्व तहमा जिम्मेवारी समाल्न पुरुषलाई जस्तो सहज नहुने महाप्रबन्धक चित्राकुमारीको अनुभव छ । उनले पनि त्यसको लागि ठूलो संर्घष गर्नुप-यो । ‘महिलालाई एकैचोटि नेतृत्व दिन सम्भव छैन । मैले महाप्रबन्धक बन्नलाई धेरै संघर्ष गर्नुप-यो । महाप्रबन्धक बन्नलाई दुई वर्षभन्दा बढी एक्टिङ नै चलाए,’ उनले बताइन् ।

आफू महाप्रबन्धक नहुँदा पनि महासंघमा थुप्रै भूमिका निर्वाह गर्थिन् । अफिसमा उनको काम र क्षमताको बारेमा सञ्चालक समितिलाई राम्रोसँग ज्ञान थियो । तर पनि आफू सानैदेखि निडर, सही काम गर्ने, कसैको अघि नझुक्ने, कसैको चाकरी गर्ने प्रवृत्ति नभएकाले नेतृत्व तहको जिम्मेवारी पाउन समय लागेको उनले सुनाइन् । आफूभन्दा अगाडिको महाप्रबन्धकले आफ्नो कार्यकाल सकेर जिम्वेवारी अर्कोलाई सुम्पिनुपर्नेमा त्यो नगरेर कन्ट्रयाक्टमा थप सात वर्ष काम गरेको सुनाउँदै उनले भनिन्, ‘आफूपछि महाप्रबन्धक जो छ उसलाई सिधै नदिएर २ वर्षसम्म एक्टिङमै राख्नु कति चुनौती हो ? तर पनि मलाई मेरो कामप्रति पूर्ण विश्वास थियो, त्यही विश्वासको फल मलाई मिल्यो ।’

महाप्रबन्धक भएर महासंघलाई नियाल्दा

महाप्रबन्धको जिम्वेवारी समाल्न थालेको २ वर्ष भएको उनले बताइन् । उनका अनुसार महासंघ पहिलाभन्दा आफैं आत्मनिर्भरतर्फ अघि बढिरहेको छ । महासंघले १० वर्ष स्ट्राजेटिक योजना बनाएको छ । त्यसमा दिगो ऐन, मर्यादित सहकारी अभियानको नेतृत्वदायी महासंघ भनेर भिजन बनाएको उनले सुनाइन् । महासंघले बनाएको योजनामा अनुुुकूल वातावरण निर्माण, स्वनियमन र सुशासन, सबल सदस्य संघ र आत्मनिर्भर तथा व्यावसायिक महासंघ भनेर चार वटा पिल्लर राखेको छ । यो राख्नुको मतलब महासंघका सदस्य संघहरू सबल बन्नुपर्ने त्यसपछि महासंघ व्यावसायिक र आत्मनिर्भर बन्नुप-यो र संस्थाहरू स्वनियमन र सुशासनमा चल्नुपर्ने उनको भनाइ छ ।

सहकारीका मूल्य, सिद्धान्त, कानूनहरू पालना भएको सुशासित सहकारी अभियान बन्नुपर्ने र त्यसले भोलि अनुकूल वातावरण निर्माणलाई सहज हुने उनको धारणा छ । उनी भन्छिन् ‘हामी आफैं स्वनियम र स्वअनुशासित बन्यौं भने भोलि सरकारले खोज्दै आउने वातावारण बन्छ भन्ने हाम्रो मान्यता हो । सरकाले भोलि तपाईंलाई कस्ता नीति चाहियो भनेर खोज्दै आउने वातावरण बनोस्, महासंघलाई खोजोस् भन्ने मेरो विश्लेषण हो । त्यहीँअनुरूप छलफल गरेर चार वटा पिल्लर बनाएका छौँ ।’

महासंघलाई सबल बनाउनको लागि महासंघले व्यावसायिक योजना बनाएको छ । महासंघलाई अगाडि बढाउनुप-यो, भिजनेबल बनाउनुप-यो भनेर त्यसअन्र्तगत महासंघले डिप्लोमा इन कोअपरेटिभ कोर्ष सञ्चालन सुरु गरेको छ ।

‘मेरो कार्याकालभित्र महासंघ मजबुत, व्यावसायिक र आत्मनिर्भर बनोस् भन्ने चाहेको छु । त्यसैअन्र्तगत हामी अगाडि बढिरहेको छौं । हामीले अब एक अर्बभन्दा बढी कारोबार गर्ने संघहरूलाई एशोसिएट सदस्यको रूपमा राख्ने भनेका छौँ । हाम्रो धेरैजसो संघहरू क्रियाशील छैनन्, महासंघको लागि यो पनि चुनौती हो । प्राइमरी कोअपरेटिभ डाइरेक्ट महासंघमा आउन पाउँदैन । त्यो विषयगत संघमा, जिल्लाका संघ त्यसपछि प्रदेशका संघ र ती संघमार्फत मात्रै महासंघ आइपुग्ने हो ।’

प्राइभेट सेक्टर र सहकारी फरक हुनुपर्ने उनको धारणा छ । यी दुईबीच अन्तर नरहे पहिचान नरहने उनको भनाइ छ ।

देशभर अहिले ३० हजारभन्दा बढी सहकारी संघसंस्था छन् । नेपालका लागि यत्ति ठूलो संख्यामा सहकारी आवश्यक नहुने उनको बुझाइ छ । अहिले पनि संस्था दर्ता भइरहेको उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रमा सहकारी दर्ता आवश्यक हुनसक्ने भए पनि सहरी क्षेत्रमा नरहेको बताइन् ।

यीबाहेक सहकारीमा थुप्रै विषयहरू भएको र त्यसलाई उठाउनुपर्ने उनले बताइन् । सहकारीमा विज्ञ व्यक्तित्को नेतृत्व, तालिमको अनिवार्यता भएको उनले औंल्याइन् ।

उनले भनिन्, ‘मलेसियामा सहकारीको सञ्चालक सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्वाचित भइसकेपछि अनिवार्य तालिम लिनुपर्छ । तालिम लिएन भने पद नै जान्छ । त्यसैगरी इन्डोनियासमा सहकारी विषयमा डिप्लोमा गरेको अथवा एमबिए गरेको व्यक्तिले मात्रै त्यहाँ काम दिन्छ । यस्ता खालका नीति किन नल्याउने ? यस्ता खालका नीतिहरू ल्याउनुपर्छ भन्ने विषयमा प्रष्ट छु । सहकारीलाई अझ सुशासित र मर्यादित बनाउनुपर्छ भन्ने हो । मर्यातदित बनाइएन अभियानको रूपमा रहन्न भन्ने मेरो बुजाइ हो ।’

सहकारीमा अवसर नै अवसर

सहकारीमा चुनौतीका साथसाथै थुप्रै अवसर रहेको उनको भनाइ छ । महाप्रबन्धक चित्राकुमारीको बुझाइमा जागिरभन्दा ठूलो स्वरोजगार हो । जागिर गर्नेले आफ्नो जागिर मात्रै गर्छ, स्वरोजगार गर्नेले अरूलाई जागिर उत्पादन गर्ने उनी बताउँछिन् ।

अहिले सीप भएका नभएका, पढेका/नपढेका युवाहरू विदेशिने चलन सघन छ । महाप्रबन्धक चित्राकुमारी युवाहरूलाई विदेशिनुभन्दा नेपालमै केही व्यवसाय गर्न  सुझाउँछिन् । विदेशी भूमिमा बगाएको पसिनालाई नेपालमै सदुपयोग गरे त्यहाँभन्दा बढी यहीँ गर्न सकिने उनको बुझाइ छ । यसले परिवार, देश र राष्ट्रलाई समेत योगदान पुग्ने उनी सुनाउँछिन् ।

नेतृत्व तहमा महिलाको सहभागिता

लैंगिक समानताको लागि सहकारी अभियानले धेरै भूमिका खेलेको छ । सहकारीमा ५६ प्रतिशत सदस्यको रूपमा महिला सहभागी छन् । कतिपय संघमा ८० प्रतिशत महिला सदस्य र २० प्रतिशत मात्र पुरुष छन् । तर नेतृत्व तहमा महिलाभन्दा पुरुषको सहभागिता धेरै छ ।

संविधानअनुरूप ऐनले कम्तीमा ३३ प्रतिशत महिलालाई सञ्चालक समितिमा लेखा सुपरीवेक्षण राख्नुपर्छ भनेर भनेको छ । ऐनअनुसार ३३ प्रतिशत महिला सहभागिता पु-याएता पनि मुख्य पोष्टमा भने महिला कम छन् । व्यवस्थापनमा महिला नेतृत्व बढ्नुपर्नेमा महाप्रबन्धक चित्राकुमारीको जोड छ । ‘संस्थाहरूमा महिलालाई अगाडि सिटमा, मार्केपटिङमा, कम्युटरमा राखेको देख्छु । टप पोष्ट, सिइओमा महिला छैनन् भने डिपुटी सिइओमा कति छन् ? महत्त्वपूर्ण सवाल यो हो ।’

महाप्रबन्धक चित्राकुमारीको अनुभवमा महिलाले चलाएको संस्थामा कम समस्या आउने गरेको पाइएको छ । उनका अनुसार ९० प्रतिशत महिलाले चलाएको संस्था सफल छन् । महिलाहरू स्वभावैले गरिहालौँ भनेर आँट गर्न नसक्ने र गलत गरिनहाल्ने स्वभावले संस्थामा कम समस्या हुने उनको बुझाइ छ । व्यवस्थापन तहमा महिलाको संख्या बढेमा सुशासित सहकारी हुने उनको विचार छ ।

सहकारी अभियानमै रहिरने छु

महासंघमा महाप्रबन्धक चित्राकुमारीको अझै ४/५ वर्ष कार्यकाल बाँकी छ । एउटै व्यक्ति लामो समय सहकारीमा रहनु राम्रो नभएको उनको बुझाइ छ । सहकारीमा कति समय रहने भन्ने उनले सोचेकी छैनन् । तर उनले लिडरसिप डेभलप गरिरहकी छन् ।

‘लिडरसिप ट्रान्सफर्म हुनुपर्छ भन्नेमा म विश्वास राख्छु । अब जतिञ्जेल बस्छु महासंघलाई बलियो बनाउँछु ।’

महासंघमा काम गर्दै जाँदा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरबाट उनले थुप्रै अनुभव हासिल गरेकी छन् । क्यानडा युएसदेखि विकसित मुलुकको सहकारी अभियान हेरकी छन् । मलेसिया गएर त यससम्बन्धी एकमहिने कोर्ष नै गरेकी छन् ।

महासंघमा आवद्ध हुँदै आफैं अध्यक्ष भएर संस्था सञ्चालन गरेको अनुभवसमेत उनीसँग छ । जुन संस्था (सुयोग्य ऋण तथा बचत सहकारी संस्था) मा उनले ३ कार्यकाल अध्यक्ष भएर चलाइन् । त्यसपछि उनले अध्यक्षको जिम्वेवारी अरुलाई सुम्पिएर आफू हाल उक्त संस्थामा सल्लाहकारको रूपमा छिन् ।

उक्त संस्थाको नेतृत्व गर्ने अवसरले आफूलाई अभियानका लागि धेरै सहयोग पु-याएको उनी बताउँछिन् । ‘सुयोग्यको अध्यक्ष भएपछि कुन ऐनको कुन दफा नियमालीको कुन दफाले सहकारी सञ्चालनमा अप्ठ्यारो हुन्छ भनेर अनुभूति गरे । त्यसले पनि ठूलो सहयोग पुग्यो । त्यस संस्थाले मलाई समुदायमा चिनायो ।’

महासंघबाट बाहिर निस्केपछि सहकारी क्षेत्र नै छोडेर अन्य क्षेत्रमा स्थापित हुन नसक्ने भएकाले सहकारीमा रहिरहने उनको सोच छ । आफ्नो कार्यकाल सकेपछि उपभोक्ता सहकारीमार्फत त्यहाँका सदस्यहरूलाई सर्वसुलभ रूपमा गुणस्तरीय वस्तु उपलब्ध गराउनेतर्फ आबद्ध हुने उनको योजना छ ।