NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मधेश प्रदेश सरकारबाट किन बाहिरियो माओवादी केन्द्र ?

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको कार्यशैलीप्रति असहमति जनाउँदै माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको छ ।

मंगलबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले गठबन्धनका केन्द्रीय नेताहरूबीच भएको सहमति विपरित मुख्यमन्त्री यादव हिँडेको आरोप लगाउँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यादवले सहमतिविपरित मन्त्रिमण्डल विस्तार गरेको, माओवादीलाई पेल्न खोजेको, सहयात्री दलहरू माओवादी, लोसपा र जपालाई सरकारबाट बाहिरिन बाध्य पारेको लगायत आरोप माओवादी नेताहरूलगाएका छन् ।

‘यसअघि माओवादी र लोसपालाई २/२ वटा मन्त्रालय दिने केन्द्रीय नेताहरूबीच सहमति भएको थियो’ माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले भने, ‘तर मुख्यमन्त्रीजीले हामीलाई पेलेरै जान खोज्नुभयो । आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएका जनमत पार्टीलाई समेत सरकारबाट हटाउन दबाब दिनुभयो । कांग्रेससँग मिलेर उहाँले महत्वपूर्ण मन्त्रालय भागबण्डा गर्नुभयो । जसपाको अपमान सहेर हामी सरकारमा बस्न चाहेनौं ।’

१०७ सदस्यी प्रदेश सभामा एमालेका २४, कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका ८ सांसद छन् । यसैगरी नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक जना सांसद छन् । यस्तै ४ जना स्वतन्त्र सांसद छन्।