NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

शरणार्थी प्रकरणले प्रहरी ‘गुटबन्दी’ छताछुल्ल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँगै नेपाल प्रहरीभित्रको गुटबन्दी पनि छताछुल्ल भएको छ । यो प्रकरणमा प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवर नै मुछिने सूचना सार्वजनिक भएका छन् । अर्कातिर हिरासतमा रहेका आरोपितलाई बयान फेर्न प्रभावित पानेृ गरी सन्देश र पत्र आदानप्रदान गर्न दिएको खुलेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयमाथि प्रश्न उठेको छ ।

अनुसन्धानमा तानिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार भएदेखि नै उनलाई उम्काएको आरोप आइजिपी कुँवरमाथि लागेको थियो । एमाले सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको दिन गत वैशाख २० मा अर्घाखाँचीको कार्यक्रममा सहभागी थिए । प्रहरी सुरक्षा घेरामा भएको कार्यक्रममा सभामुख देवराज घिमिरेसमेत उपस्थित थिए । त्यही बेला आइजिपी कुँवर र रायमाझीबीच संवाद भएको थियो । रायमाझीले आफैं आउँछु भनेकै भरमा उदार बनेको प्रहरीले उनीमाथि निगरानीसमेत गरेको थिएन । लगत्तै उनी सम्पर्कविहीन बनेका थिए ।

रायमाझी फरार भएको विषयमा कुँवरको भूमिका रहेको आशंका गरिउको थियो । तर उनी निकट एक अधिकारीले भने सांसदसमेत रहेका व्यक्तिले म आउँछु, भाग्दिनँ भनेर आश्वस्त पारेपछि भाग्ने कल्पना नगर्दा समस्या आएको बताए । प्रहरी प्रधान कार्यालयको टोलीले रायमाझीलाई ११ दिनपछि काठमाडौंको बूढानीलकण्ठबाट नियन्त्रणमा लियो । तर कुँवरमाथिको प्रश्न यथावत् छ ।

कुँवर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला शरणार्थीको मुद्दाको अनुसन्धान नगरेको आरोप पनि छ । उनी कार्यालय प्रमुख रहेका बेला गत वर्ष शरणार्थी प्रकरणका २ आरोपित पक्राउ परेका थिए । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेको दबाबमा उनीहरूलाई छाडेको आरोप कुँवरमाथि छ ।

आरोपित जोगाउन तत्कालीन गृह सचिव पाण्डे र गिरोहका नाइकेबीच गत वर्ष भएको संवादको विवरण पनि बाहिरिएको छ । संवादमा पाण्डेले कुँवरसँग कुरा मिलाउने उल्लेख गरेका छन् । यद्यपि, सार्वजनिक संवादमा कुँवर आफैं सहभागी देखिएका छैनन् । यसबारे आफूलाई कुनै जानकारी नभएको उनको दाबी छ । शरणार्थी प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसक्दा पनि संगठन र नेतृत्वप्रति लाञ्छना लगाउन संगठनकै एउटा समूह लागेको आइजिपी कुँवरको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।