NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सेवा विस्तार गर्दै महाकाली अस्पताल

महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले सेवाको दायरा विस्तार गरेसँगै बिरामीको चाप बढ्दै गएको छ ।

अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गर्दै विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्न थालेपछि उपचारका लागि भारतलगायत अन्यत्र जानुपर्ने बाध्यता हट्दै गएको छ ।

पाँच वर्षअघि मात्रै यहाँ दैनिक एक सयको हाराहारीमा बिरामी स्वास्थ्य सेवा लिन आउने गरेकामा अहिले दैनिक पाँच सयदेखि छ सय बिरामी आउने गरेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालले समयानुसार सेवा विस्तार गर्दै लगेकाले उपचारका लागि आउनेको सङ्ख्या पनि बढ्दै गएको जानकारी दिए । ‘केही समय कोभिडका कारण सेवा सञ्चालन गर्न सकिएको थिएन् ।  विस्तारित सेवा बुधबारदेखि सञ्चालनमा ल्याएका छौँ’, उनले भने, ‘विशेषज्ञ सेवा अस्पतालले दिँदा यहाँ आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ ।’

अस्तापलमा अहिले हाडजोर्नी, बालरोग, स्त्रीरोग, नाक कान घाँटी, एमडिजिपी, रेडियोलोष्टि र सर्जन गरी १४ विशेषज्ञ चिकित्सक कार्यरत छन् । अध्यक्ष भट्टका अनुसार अस्पतालमा हाल ११ एमबिबिएस चिकित्सक, तीन दन्त रोग विषेशज्ञ छन् । विसं २०४० को दरबन्दी हालसम्म कायम रहेको बताउँदै उहाँले दरवन्दी बढाउनुपर्ने बताए । ‘पहिलेको दरबन्दी एक सय जनाको थियो ।

यहाँ दरबन्दी, अस्पताल व्यवस्थापन समिति, विभिन्न कार्यक्रममा गरी दुई सय भन्दा बढी चिकित्सकसहित स्वास्थ्यकर्मी कार्यरत छन्’, उनले भने । अध्यक्ष भट्टले एक सय शय्याको महाकाली अस्पताललाई दुई सय शय्याको बनाउने तयारी भइरहेको जानकारी दिए ।

अस्पतालमा भौतिक संरचनाको अभाव रहेको बताउँदै इमरजेन्सी भवन बनेपछि सेवा प्रवाहमा सहज हुने उनको भनाइ थियो । ‘ओपिडी ब्लक र इन्टोरका लागि अझै भवनको अभाव छ । भौतिक संरचना निर्माणमासमेत हामीले पहल गरिरहेका छौँ’, उनले भने ।