मसँगै कुरै नगरी समाचार बनाइयो, चरित्र हत्या जारी राखे मुद्दा हाल्छु : ढाकाकुमार

काठमाडौं । रकम माग गरेको अडियो प्रकरणपछि सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले आफूले सांसद बन्न ३ करोड रूपैयाँ बुझाएको भनेर प्रकाशित समाचार शत प्रतिशत झुटो, कपोलकल्पित र आधारहीन भएको बताएका छन् । आफूसँग कुरा नै नगरी सञ्चारमाध्यमले समाचार बनाएको प्रष्ट पार्दै उनले चरित्रहत्याको श्रृंखला जारी राखेमा कानूनी उपचारमा जाने चेतावनी दिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो संवादपछि रास्वपाबाट कारबाहीमा परेका श्रेष्ठलाई ‘कोट’ गरेर ‘समानुपातिक सांसद बन्न पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकाललाई तीन करोड रूपैयाँ बुझाएको हुँ’ भन्ने बेहोराका समाचार एक अनलाइनले प्रकाशित गरेको थियो । समाचार प्रकाशनपछि यो विषय प्रतिनिधिसभामा समेत प्रवेश गरेको थियो । यसले विवाद उत्पन्न गराएपछि उपसभापति डीपी अर्याल र ढकालले मानहानिको मुद्दा दर्ता गर्ने चेतावनी दिएका थिए ।
‘केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रूपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोलकल्पित तथा आधारहीन समाचार सम्प्रषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोधसमेत नगरी तथा मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु ।’
श्रेष्ठले निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्म निर्वाह गर्न स्मरण गराउँदै आधारहीन समाचार सम्प्रषण नगर्न समेत ध्यानाकर्षण गराएका छन् । अन्यथा कानूनी उपचारमा जाने उनको भनाइ छ ।

प्रतिक्रिया