NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्रीले कुटे सर्वसाधारण

काठमाडौं । पूर्वमन्त्री पार्वत गुरुङले सर्वसाधारण युवामाथि हातपात गरेका छन् । गाडीमा इमर्जेन्सी लाइट बालेर दोलखाबाट काठमाडौं आउँदै गरेका गुरुङ आफ्नो ‘सवारी’ मा अवरोध गरेको भन्दै काभ्रेको खावामा शनिबार साँझ अर्को गाडी चलाइरहेका युवामाथि हमलामा उत्रिएका हुन् ।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका गुरुङ वाग्मती प्रदेश ०२५ च ५४०२ नम्बरको निजी कारमा दोलखाबाट काठमाडौं जाँदै थिए । सोही बाटो भएर अघि बढिरहेको ०२३ च ८९२५ नम्बरको कार अगाडि/पछाडि थिए । दोस्रो गाडी चलाइरहेका युवा अमित अधिकारीका अनुसार सिन्धुपाल्चोकको सुकुटेमा अस्वाभाविक रूपमा ओभरटेक गरेर अघि बढेको गुरुङको समूह अलि अघि पुगेर आराम गरिरहेको थियो । फेरि दोस्रो पटक पनि त्यसैगरी ओभरटेक गरेको गुरुङको गाडी पाँचखालको खावा प्रहरी चौकी चेक प्वाइन्टमा रोकिएको थियो, त्यही बेला आइपुगेका चालक अधिकारीले ‘इमर्जेन्सी बत्ती बालेर जथाभावी किन गाडी चलाएको ?’ भन्दै आफूले प्रश्न गरेको बताए ।

‘म पीएसओ हुँ, पूर्वमन्त्री पार्वत गुरुङको सवारी भइरहेको छ, किन डिस्टर्ब गरेको भन्दै प्रतिप्रश्न गर्दै थिए । यत्तिकैमा गुरुङ आफैं गाडीबाट झरेर मलाई झापड हाने । प्रहरी चौकी अगाडि प्रहरीकै सामुन्ने हातपात हुँदा उनीहरूले रमिता हेरे,’ अधिकारीले भने । उल्टै अधिकारीलाई प्रहरी चौकीमा पठाउन गुरुङले निर्देशन दिएपछि सोधपुछका लागि भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाइएको थियो ।

‘गाडीमा दाइ, भाउजू, भाइ र म गरी चार जना थियौं,’ उनले भने, ‘परिवारका सबैलाई सोधपुछ गरियो, कहिले मादक पदार्थ सेवन गरेर हो भनेर आरोप लगाएपछि जाँच गर्न पनि हामीले चुनौती दियौं । तर दुर्व्यवहारमा उजुरी दिन खोज्दा भने मिल्नुपर्छ भनेर फर्काइदिए,’ अधिकारीले भने ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले भने घटनालाई ढाकछोप गर्न खोजे । ‘त्यस्तो खासै ठूलो घटना भएको होइन, कुनै हातपात भएको छैन, सडकमा गाडी चलाउने क्रममा सामान्य विवाद मात्रै हो, ओभरटेक गर्ने क्रममा सामान्य विवाद भएको रहेछ,’ उनले भने ।

उनले थपे, सोधपुछका लागि गाडी चालकलाई प्रहरी कार्यालय ल्याइएको हो, सोधपुछपछि फर्काइसकेका छौं ।’ पूर्वमन्त्री गुरुङले भने आफूले धकेलिदिएको बताए । ‘काठमाडौंमा उपचाररत बाबु भेट्न गइरहेकाले’ स्वाभाविक रूपमा इमर्जेन्सी लाइट बालेको उनको भनाइ छ । ‘किन साइड नदिएको, तिमी को हो भनेर सोधे, डिस्कस पर्‍यो,’ उनले भने, ‘पब्लिकलाई जाम गरेर हामी बस्न मिलेन नि, ल जाऊ भाइ तिमी उता भनेर मैले यसो धकेलिदिएँ ।’ स्वयम् आरोपीले धकेलेको भन्दा पनि काभ्रे प्रहरी भने केही होइन भनेर घटना दबाउने प्रयासमा लागेको छ ।

गुरुङले यस्तो हर्कत पहिलो पटक मात्र गरेका होइनन् । ०७४ को स्थानीय तह निर्वाचनमा भएको विवादलाई लिएर उनले काठमाडौंमा गुन्डागर्दी गराएका थिए । गौरीशंकर–१ का वीरध्वज खड्कालाई पिछा गर्दै गुरुङसहितको समूहले काठमाडौं गौशालामा कुटपिट गरेको थियो, यही आरोपमा उनलाई अदालतले पक्राउ पुर्जी पनि जारी गरेको थियो । ‘मलाई पिछा गरेर गौशालामा मरणासन्न हुने गरी कुटियो, त्यसबेला पार्वत र उनका सहयोगीले नै कुटेका हुन्,’ खड्का भन्छन्, ‘म साता दिनसम्म जुस मात्र खाएर बाँचेको हुँ । कुटाइका कारण मेरो स्वास्थ्य अहिले पनि कमजोर छ ।’ उनले जिल्ला प्रहरी कार्यालय काठमाडौंमार्फत ज्यान मार्ने उद्योगमा उजुरी गरेका थिए । जिल्ला अदालत दोलखाले गुरुङलाई पक्राउ पुर्जी जारी गरेको थियो । ०७४ को स्थानीय निर्वाचनमा एमाले र माओवादीबीच कटु प्रतिस्पर्धा भए पनि लगत्तै संसदीय निर्वाचनमा दुई दल मिलेपछि आफ्नो मुद्दा कमजोर बनाएको उनको गुनासो छ । ‘म निम्न आयवर्गको मान्छे परें, पार्टी मिलेपछि दबाब दिएर मुद्दा निष्क्रिय बनाए,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।