NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते
वेथिति

होसन्ना सेवाकाईको बदमासी, अनुमति एउटाको, काम अर्कै

काठमाडौं । समाज कल्याण परिषद् शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने अनुमति लिएको होसन्ना सेवाकाई नेपाल नामक गैरसरकारी संस्थाले नेपालको संविधानलाई नै चुनौती दिँदै अनधिकृत ढंगले क्रिश्चियन धर्म प्रचारको काम गरिरहेको पाइएको छ ।

नेपालमा दर्ता भएका तथा प्रवेश गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले समाज कल्याण परिषद्बाट अनुमति लिएर मात्र तोकेको क्षेत्राधिकारभित्र रही आफ्ना काम–कारबाही र गतिविधि सञ्चालन गर्नुपर्ने प्रावधान छ । तर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ को ठेगानामा दर्ता भई हाल कागेश्वरी मनोहरा–८ बाट सञ्चालित होसन्नाले समाज कल्याणसँग एउटा अनुमति लिएर कामचाहिँ अर्को गर्ने गरेको पाइएको हो ।

समाज कल्याण परिषद्मा होसन्नाले बुझाएको फ्याक्ट सिट

कमजोर नियामकको फाइदा उठाउँदै होसन्नाले केही वर्षदेखि नेपालमा खुलेआम क्रिश्चियन धर्मको प्रचार गरिरहेको छ । होसन्नाको आधिकारिक वेबसाइट एचसिएम डट ओआरजी डट एनपी छ । जसको भिजनमा नै निस्फिक्री यशुलाई चिन्नुहोस्, चिनाउनुहोस् र शिष्य बनाउनुहोस् लेखिएको छ । उसले आफ्नो मिसन निर्धक्क वेबसाइटमा खुलाउँदै लेखेको छ–ख्रिस्टका समर्पित चेलाहरू बनाउनु जसले आफूजस्तै अरू चेला तयार गर्नेछन् ।

आफ्नो मूल मूल्यमा उसले भगवान् र अरूलाई प्रेम गर्न, परमेश्वरको वचन र अधिकारीहरूको आदेश पालना गर्न, स्वयंसेवक बन्न र परिवार नै सामेल गर्न सुझाएको छ । बेवसाइटमा प्रकाशित अन्य सबै सामग्री क्रिश्चियन धर्म प्रवर्द्धनसँग सम्बन्धित मात्र सामग्री छन् । संस्थाले समाज कल्याण परिषद्मा आफ्नो संस्थाको उद्देश्यमा शैक्षिक छात्रवृत्ति तथा विपन्न समुदायलाई ज्ञान अभिवृद्धि गर्न विभिन्न तालिम सञ्चालन गर्ने उल्लेख छ । जबकि, उसको आधिकारिक वेबसाइटमा यस्ता कुनै पनि गतिविधिजन्य सामग्री छैनन् ।

आफ्नो आधिकारिक बेवसाइटमा होसन्नाले राखेको क्रिश्चियन धर्मको प्रचारसम्बन्धी सामग्री ।

राजु सुन्दास अध्यक्ष रहेको यो संस्थाको अनधिकृत गतिविधि भर्चुअल प्लेटफर्मममा मात्र सीमित छैन, गाउँ–गाउँसम्म समेत पुगेको छ । अशिक्षित र गरिबीको चपेटामा परेका निमुखा जनताको बाध्यताको फाइदा उठाउँदै होसन्नाले ललाइफकाइ तथा अनुचित प्रभावमा पारेर धर्म परिवर्तन गराउने गरेको छ ।

समाज कल्याण परिषद्का कायममुकायम निर्देशक तथा सूचना अधिकारी सञ्जयकुमार मल्लिकले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने अनुमति लिएर त्यसभन्दा असम्बन्धित काम गर्न नपाइने बताए । कसैले यस्तो काम गरेमा त्यो यो समाज कल्याण परिषद् निर्देशिकाको खिलापमा हुने उनको भनाइ छ ।

समाज कल्याण परिषद्का का.मु निर्देशक तथा सूचना अधिकारी सञ्जयकुमार मल्लिक ।

‘पहिलो त वैदेशिक सहयोग ल्याएर धर्म प्रचार गर्नै पाइँदैन । दोस्रो धर्मको ललाइफकाइ वा प्रलोभनमा संविधानतः धर्म परिवर्तन गर्नै पाइँदैन,’ मल्लिकले नेपालवाचसँग भने, ‘दोस्रो, संघ/संस्थाले जुन काम गर्ने अनुमति परिषद्बाट लिएको हो, त्यही मात्र गर्नुपर्छ । त्यसविपरीत अन्य काम गर्न पाइँदैन ।’ उनका अनुसार, वैदेशिक सहयोग लिएर त धर्म प्रचारको काम गर्न अझै पाइँदै पाइँदैन ।

कुनै संस्थाले एउटा अनुमति लिएर अर्कै काम गरिरहेको उजुरी परिषद्मा प्राप्त भएको खण्डमा त्यसमाथि छानबिन गरेर कारबाही गर्ने उनले बताए ।

‘यति तपाईंले नाम उल्लेख गरेको संस्थाले एउटा उद्देश्य राखेर, विदेशबाट सहयोग लिएर धर्म प्रचारको काम गरिरहेको छ भने त्यसमाथि छानबिन गरेर हामी कारबाही गर्छौं,’ सूचना अधिकारी मल्लिकले भने ।

होसन्नाका अध्यक्ष सुन्दासलाई यसबारे कुरा गर्न हामीले पटक पटक सम्पर्कको प्रयास गरेका थियौं । तर स्थापित हुन सकेन ।

सुन्दाससँग प्रतिक्रिया लिन सम्भव नभएपछि सोही संस्थामा कार्यरत समीर अधिकारीलाई पनि हामीले सम्पर्क गरेका थियौं । सुरुमा उनले आफू होसन्ना सवेवाकाईमा कार्यरत रहेको र छुट्टीमा रहेको बताए । तर पछि होसन्नाको गतिविधिबारे जिज्ञासा राखेपछि उक्त संस्थासँग सम्बन्धित नै नरहेको भनेर पन्छिए ।