NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सुनै सुन लगाइदिएको ट्रोलप्रति ओली भन्छन्– त्यति सुन म बोक्न पनि सक्दिनँ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फोटोमा सुनै सुन लगाइदिएको ट्रोलको प्रतिक्रिया दिएका छन् । आज कलाकारहरूलाई पार्टी प्रवेश गराउने सार्वजनिक कार्यक्रमबीच सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले उक्त ट्रोलबारे खुलेर आफ्नो अभिव्यक्ति दिएका हुन् ।

जीवनकालमै एउटा औंठी समेत नलगाएको व्यक्तिलाई सुनै सुन लगाइदिएकोबारे ओलीले आपत्ति जनाएका छन् । फोटोमा लगाइदिएजत्ति सुन आफूले बोक्न पनि नसक्ने उनले बताए ।

‘केपी ओलीको फोटोमा हातभरी सुनै सुनका, यता पनि सुनै सुनका ….त्यति सुन म बोक्न पनि सक्दिनँ होला,’ उनले भने, ‘मेरो शरीरमा सुन भन्ने कुरा.. म जिन्दगीमा…औंठी..औंठी लगाएको छैन । सानो हुँदा मेरो आमा बित्नुभएको । आमाले लगाउने गर्नु भएको औंठी, यो तैले लगा भनेर सानो छँदै लगाइदिएका थिए ।’

त्यो औंठी आफूले तीन चार दिन लगाएको र त्यो औंठीले नै आफूलाई ‘डिस्टर्ब’ गरेको उनले बताए । दिवगंत आमाको याद विस्तारै मेटिदैं गएको थियो । तर औंठीले गर्दा पटक पटक आमालाई सम्झिन थालेपछि मन हड्बडिएको उनले बताएका हुन् । त्यसपछि त्यो औंठी पनि लगाउन छोडेको ओलीले बताए । त्यसपछि एकजना साथीएको सुनको औंठी लगाएको उनको भनाई छ ।

आफूलाई सुनमा रुचि नभएको स्पष्टिकरण दिँदै उनले सुनसँग सम्बन्धित इतिवृतान्त पस्किएका छन् । पढेलेखेका र आइटिका बारेमा ज्ञान भएका व्यक्ति नै यस्तो ट्रोल बनाउने काममा संलग्न हुनुलाई उनले सांस्कृतिक पतनको नाम दिएका छन् ।

पशुपतिनाथ मन्दिरको जलहरीमा एमालेले भ्रष्टाचार गरेको आरोप लागेपछि ओलीको फोटोमा सुन लगाइदिएर समाजिक सञ्जाल प्रयोगकर्ताले उनीमाथि ट्रोल गरेका थिए ।