NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

के दीपक र मुन्द्रेबीच सहकार्यको सम्भावना छ ?

काठमाडौं । नेपाली हाँस्यव्यंग्य क्षेत्रका चिरपरिचित नाम हुन्, दीपकराज गिरी र जितु नेपाल ‘मुन्द्रे’ । हाँस्य व्यंग्य क्षेत्रमा उनीहरूको आफ्नै छवि, छाया छ ।

यी सिर्जनाकर्मीले सानो पर्दाको टेलिश्रृंखलादेखि ठूलो पर्दाको फिल्म निर्माणसम्म लामो सहयात्रा गरेका छन् । उनीहरूको सहयात्रा निकै जम्यो पनि । फिल्ममा हाँस्य व्यग्यलाई प्रवेश गराएर सम्भावनाको नयाँ क्षितिज नै उघारिदिए । यो जोडीले जहाँ छोयो, त्यही सुन बन्यो ।

हाँस्य टेलिश्रृंखलाबाट उदाएको यो जोडी हुनलाई अहिले पनि यही क्षेत्रमा छन् । तर उही फिल्डमा भए पनि एकै नदीका दुई किनाराजस्ता भएका छन् ।

छक्का पञ्जा फिल्मको अघिल्लो सिरिजसम्म देखिएका मुन्द्रे दुईबीच बढेको तिक्तताकै कारण पछिल्लोमा देखिएनन् । अघिल्लामा निकै प्रभावशाली प्रस्तुति दिएका उनलाई यस पटक दर्शकले निकै मिस गरे ।

आफूहरूबीचको सहयात्रा यति दमदार हुँदाहुँदै पनि मुन्द्रे र दीपक किन अलग भए होलान् ? यसबारे आम दर्शकले अहिलेसम्म दुवैबाट चित्त बुझ्दो जवाफ पाएका छैनन् ।

सम्बन्धमा दरार आएको महिनौंपछि दीपकराज गिरीले मुन्द्रेसँग सम्बन्ध बिग्रनुको कारण र आगामी सहयात्राको सम्भावनाबारे मुख खोलेका छन्

लामो समयसम्म यसबारे मौन बसेका दीपकराज गिरी सम्बन्धमा दरार आउनुको कारणबारे खुलेका छन् ।सुन्दा आश्चर्य लाग्न सक्छ, नाथे एउटा टेलिभिजन कार्यक्रमले पनि वर्षौंदेखिका आत्मीय छुट्टिन सक्छन् र ? तर उनीहरूको त्यो आत्मीय सम्बन्धको घर प्रकाश सुवेदीको टेलिभिजन कार्यक्रमको फिलिंगोले क्षणभरमा गल्र्यामगुर्लुमसँग ढालिदिएको पाइएको छ ।

दीपकका अनुसार, ‘महानायक काण्ड’ नै मुन्द्रे र उनीबीचको सम्बन्धमा दरार आउनुको मुख्य कारण हो । प्रकाश सुवेदीको टेलिभिजन कार्यक्रममा गएकी दीपा श्री निरौलाले महानायक को भनेर सोधिएको प्रश्नको जवाफमा ‘राजेश हमाल नभएको’ आशयको अभिव्यक्ति दिएपछि सिंगो कलिउड तरंगित भएको थियो । दीपकको समूहमा पनि यसले तिक्तता ल्यायो ।

लामो समयपछि उनै सुवेदीको कार्यक्रममा पुगेर दीपकले मुन्द्रेसँग सम्बन्ध बिग्रनुको प्रारम्भविन्दु उनकै कार्यक्रम भएको बताएका छन् । ‘हाम्रो सम्बन्ध बिग्रनुको प्रस्थान बिन्दु यही कार्यक्रम हो । जहाँ महानायक केसको विवाद थियो,’ महिनौंदेखि यस मामलामा मौन रहेका उनले भनेका छन् ।

गिरीका अनुसार, यो प्रकरणपछि उनीहरूको टिमले अत्यधिक गाली खाएको थियो । टिमभित्रै ठूलो पहिरो गएको थियो । बाँच्नै गाह्रो होलाजस्तो भएको थियो । मुन्द्रेले यही दुःखको बेला असुरक्षित भयौं भन्ने ठानेर साथ छाडेको दीपकले प्रष्ट भाषामा भनेका त छैनन् तर उनको आशय भने त्यही छ ।

‘यो प्रकरणपछि हामीले अत्यधिक धेरै गाली खायौं हामीले । टिममा पनि ठूलो पहिरो गयो । बाँच्न गाह्रो हुन्छ भन्ने भयो । केही साथीले असुरक्षित भयौं भन्ने महसुस गर्नुभयो,’ उनले भनेका छन् ।

सुवेदीले गिरीलाई दुःख परेका बेला साथीले छाडेछन् हगि भनेर सोही प्रश्नमा अर्को पूरक प्रश्न तेर्साएका छन् । जवाफमा गिरीले आफूले यथार्थ बताइसकेकाले यसको व्याख्या विश्लेषण गर्ने जिम्मा अरूलाई नै दिने बताएका छन् ।

पार्टनरसिपको च्याप्टर क्लोज

मुन्द्रेसँग सहकार्य टुटे पनि आफूले अहिलेसम्म गलत संवाद प्रयोग नगरेको र आउँदा दिनमा पनि नगर्ने दीपकको भनाइ छ ।

दीपक र मुन्द्रको सहकार्य देख्न चाहने पनि उत्तिकै छन् । दीपकले यसबारे पनि प्रष्ट पारेका छन् । दीपकका अनुसार, उनको प्रोजेक्टमा अब मुन्द्रेसँग कहिल्यै सहकार्य हुन सक्दैन ।  शास्त्रमा नै एक पटक पार्टनरसिपबाट अलग भएका व्यक्तिसँग तुष रहिरहने भएकाले नगर्नु उल्लेख गरिएकाले आफूले त्यसलाई आत्मसाथ गर्ने दीपकको भनाइ छ ।

अभिनयमा भने मुन्द्रेसँग दीपकको सहकार्य आगामी दिनमा हुनसक्छ । छक्का पञ्जा–४ को अभिनयका क्रममा पनि आफूले मुन्द्रेलाई निकै मिस गरेको उनले बताए ।‘सुटिङका क्रममा सधैै मेरो दायाँतिर केदार घिमिरे बायाँतिर जितु हुनुहुन्थ्यो । यस पटक जितु हनुनुहन्नथ्यो । त्यसैले मैले सुटिङका क्रममा उहाँलाई निकै मिस गरेँ,’ उनले भने ।