NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विद्तुतीय सवारी करमा हेरफेरप्रति नाडाको असन्तुष्टि

काठमाडाैं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष ०८०/८१ को बजेटको सम्बन्धमा धारणा सार्वजनिक गरेको छ ।

नाडाले विगत धेरै समय अघिदेखि विद्युतिय सवारी साधनहमा लाग्ने महशुल दरहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको सम्बन्धमा एउटा निश्चित र दीर्घकालिन नीति निर्माणका लागि सरकारसंग आग्रह गर्दे आएपनि सरकारले सम्बोधन नगरेकोमा गुनासो राखेको छ ।

सरकारले सरकारले कुनै ठोस आधार विना नै विद्युतिय सवारी साधनका सम्बन्धमा दुईवर्षको अन्तरालमा पटक पटक संशोधन गरेको भन्दै नाडाले असन्तुष्टि व्यक्त गरेको हो ।

सरकारको विद्युतीय सवारी साधनलाई सम्वर्द्धन  र प्रवर्द्धन गर्ने आसयमा स्पष्टता नभएको नाडाको धारणा छ ।

सरकारले आफनै मुलुकभित्र उत्पादन हुने हरित उर्जा अर्थात जल विद्युतको उपभोग बढाई फोसिल इन्धनमाथिको निर्भरतालाई क्रमशः घटाउदै लैजाने र विद्युतिय सवारी साधनहरुको उत्पादन समेत देशभित्रै गर्ने उद्धेश्य अनुरुप महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था पनि गरेको छ ।

तर सरकारले दिएको त्यो छुट र सुविधालाई कहिले घटाउने र कहिले बढाउने गर्नाले विद्युतिय सवारी साधनहरुको व्यवसाय गर्ने व्यवसायीहरुको व्यवसाय गम्भिर रुपले प्रभावित भएको पनि नाडाले जनाएको छ । त्यति मात्र नभएर नेपालमै विद्युतिय सवारी साधनहरु उत्पादन गर्न चाहने उद्यमीहरु समेत हतोत्साहित हुँदै गएको नाडाले धारणा राखेको छ  ।

सरकारले अझ सर्वसाधरण जनताले प्रयोग गर्ने सार्वजनिक महत्वका विद्युतिय बसहरुमा लाग्ने भन्सार महशुलमा समेत ९०० प्रतिशतले बृद्धि गरेकोमा नाडाको असन्तुष्टि छ ।

त्यसैगरी सरकारले विद्युतिय सवारी साधन आयात गर्ने आयातकर्ता कम्पनी वा व्याट्री मात्रै आयात गर्ने कम्पनीहरुले बिक्री गरेको व्याट्रीहरुको स्वयं व्यवस्थापन गर्नु पर्ने तथा व्याट्री व्यवस्थापन गर्ने योजना बर्षको एक पटक सार्वजनिक गर्नु पर्ने भनिएको छ । जुन व्यावहारिक पनि नभएको र संभव पनि नभएकोले यस्तो व्यवस्था हटाउनु पर्ने नाडाको माग छ ।

सरकारले हाइब्रिड सवारी साधनहरुमा लाग्ने अन्तःशुल्क महशुल पनि बृद्धि गरेको छ । यस्तो स्थितिमा सरकारले विद्युतिय सवारी साधनका सन्दर्भमा न्यूनतम एक दशकसम्मका लागि भए पनि स्पष्ट भिजन र लक्ष्य सहित एउटा ठोस नीति तर्जुमा गर्न र हालको परिर्वन सच्याउन नाडाको माग छ ।

नाडाले विगतका समयदेखि माग गर्दै आए बमोजिम सरकारले २५० सिसिभन्दा माथिका टुह्वीलर सवारी साधनहरुमा लाग्दै आएको उच्च दरको अन्तःशुल्क महशुल र सडक निर्माण दस्तुर घटाएकोमा सकारात्मक प्रतिक्रिया जनाएको छ ।

त्यसैगरी सरकारले सवारी साधनको एसेम्बल उद्योगको सन्दर्भमा दिएको छुटलाई निरन्तरता स्वागतयोग्य रहेको नाडाले बताएको छ ।