NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

लोकसेवा परीक्षामा थरीथरी परीक्षार्थी : कोही उत्तरपुस्तिका घरै लैजाने, कोही च्यात्ने

एक महिनाकै बीचमा कारबाहीमा परे १० जना

काठमाडौं । लोक सेवा आयोग, बुटवल कार्यालयले गत वैशाख २० गते सञ्चालन गरेको नेपाल विद्युत् प्राधिकरणको सुपरभाइजर पदको वस्तुगततर्फको परीक्षामा सहभागी परीक्षार्थी र उत्तरपुस्तिका रुजु गर्ने क्रममा हिसाब मिलेन ।

परीक्षामा सहभागी भएका परीक्षार्थीभन्दा एउटा उत्तरपुस्तिका कम थियो । परीक्षा सञ्चालन सहयोगीले धुइँपत्तालसँग उत्तरपुस्तिका खोजे । सहभागीको संख्या गणनामा पो कुनै त्रुटि भयो कि भनेर हाजिरी पनि रुजु गरियो । तर केही गरी एउटा उत्तरपुस्तिका परीक्षा सञ्चालन सहयोगीले फेला पार्न सकेनन् ।

उत्तरपुस्तिका नभेटिएर लोक सेवाका कर्मचारी हत्तुहैरान बनिरहेका बेला सोही परीक्षामा सहभागी वीरगञ्ज महानगरपालिका–१७ का उमेश यादव सम्पर्कमा आए । हराएको उत्तर उत्तरपुस्तिका उनैको रहेको खुल्यो । आयोगले केही दिनअघि मात्रै परीक्षा अनुशासनविपरीत गतिविधि गरेको भन्दै यादवलाई कारबाही गरेको छ ।

परीक्षा अनुशासनविपरीत यादवले उत्तरपुस्तिका आफैंसँग लगेर पछि फिर्ता गरेको पाइएपछि उनको परीक्षा रद्द गरेर आफूहरूले सञ्चालन गर्ने परीक्षामा एक वर्ष सहभागी हुन नपाउने गरी निलम्बनको कारबाही गरेको आयोगले जनाएको छ ।

०००

परीक्षामा सहभागी हुने परीक्षार्थीको चाहना सफल हुने रहन्छ । यसमा पनि सकेसम्म अब्बल नतिजा निकाल्न चाहन्छन्, परीक्षार्थी । तर लोक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा केही परीक्षार्थीले आफू पास हुनका लागि नभएर अर्कैका लागि दिएको पाइएको छ ।

लोक सेवा आयोगले गत वैशाख १८ मा सञ्चालन गरेको परीक्षामा यस्तै अनौठो घटना भयो । लोक सेवा आयोग, सुर्खेत कार्यालयले सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि सञ्चालन गरेको परीक्षामा जाजरकोटका पारस अधिकारी सहभागी थिए । तर उनको हर्कतले आयोगका कर्मचारी अचम्ममा परे किनभने, उनले उत्तर पुस्तिकामा दीपक अधिकारी लेखेका थिए ।

आयोगले यो घटना सार्वजनिकपछि अनुसन्धान गरेको थियो जसक्रममा उनीहरू दुवैले अर्काको नाममा परीक्षा दिएको खुल्यो । अर्काको परीक्षा दिएको भेटिएपछि आयोगले उनको परीक्षा खारेज गर्दै तीन वर्षका लागि कुनै पनि परीक्षामा सामेल हुन नपाउने सजाय सुनाएको छ ।

लामो समयदेखि निजामती सेवाको परीक्षा सञ्चालन गर्दै आएको लोक सेवा आयोगले ०७२ सालको संविधान जारीपछि सरकारी स्वामित्वका संघ/संस्थानको समेत परीक्षा सञ्चालन गर्न थालेको छ । यस्ता परीक्षालाई मर्यादित र अनुशासित पार्न आयोगले विभिन्न नियमहरू बनाएको छ । तथापि, उसले सञ्चालन गर्ने परीक्षामा अनौठा किसिमका अनुशासनहीन र अमर्यादित गतिविधि देखिने गरेका छन् ।

थरीथरीका परीक्षार्थी, एक महिनामा १० माथि कारबाही

लोक सेवा आयोगका अनुसार, पछिल्लो एक महिनामा सञ्चालन गरिएको परीक्षामा मात्र यस्ता १० वटा घटना घटेका छन् । जसमा उत्तरपुस्तिका नबुझाएर आफैंसँग लैजाने, अर्काको नाममा परीक्षा दिने, चिट चोर्नेलगायत छन् ।

बैतडीका रवीन्द्रकुमार बोहरा सशस्त्र प्रहरी सहायक निरीक्षक पदको परीक्षामा सामेल थिए । उनी परीक्षामा सफल भएर सेवा प्रवेश गरेका थिए भने उनले गर्ने काम कानूनी राज्यको प्रत्याभूति गराउने काममा सहयोग गर्नु हुने थियो । तर उनैले अंग्रेजी विषयको उत्तरपुस्तिकाको पाना नै च्यातिदिए । बोहोराले परीक्षाको मर्यादाविपरीतको काम गरेपछि उनको परीक्षा रद्द गरिएको लोक सेवा आयोगले जनाएको छ ।

आयोगका अनुसार केही परीक्षार्थीले भने उत्तरपुस्तिका आफैंसँग लिएर गएका छन् । यसरी परीक्षाको उत्तरपुस्तिका आफैंसँग लगेपछि केही फिर्ता दिन आएकोमा उनीहरूलाई एक वर्षसम्मका लागि निलम्बन गरिएको छ ।

कालिकोटका लछी विकले पनि वस्तुगत उत्तरपुस्तिका आफैंसँग लिएर गए । उनले प्राधिकरणमै प्राविधिकतर्फ इलेक्ट्रिसियनका लागि परीक्षा दिएका थिए । उनी भने उत्तरपुस्तिका फिर्ता बुझाउन आएनन् ।

विकबाहेक अन्य दुईले आयोगमै उपस्थित भएर उत्तरपुस्तिका बुझाएका थिए । तीन जनाको लिखित परीक्षा रद्द गरी एक वर्षसम्म आयोगको परीक्षामा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको छ ।

आयोगको कारबाहीमा पर्नेमा जाजरकोटका दीपक अधिकारी पनि छन् । सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि परीक्षा दिएका उनले आफ्नो उत्तरपुस्तिकामा अर्कैको नाम, थर र रोल नम्बर लेखेको पाइएको छ । आयोगका अनुसार उनले पारस अधिकारी नाम गरेका व्यक्तिको नाम, थर र रोल नम्बर लेखेका थिए । उनलाई आयोगले तीन वर्षसम्म कुनै पनि लिखित परीक्षामा सामेल हुन नपाउनेगरी निलम्बन गरेको छ ।
चार जना परीक्षार्थीलाई भने चिट चोरेको पाइएपछि आयोगले एक वर्षसम्मका लागि निलम्बन गरेको छ ।

चिट भेटेका कारण निलम्बनमा पर्नेमा रामेछापका इश्वर खत्री, सप्तरीका विष्णु कुमार यादव, संखुवासभाकी बिनु भट्टराई र कञ्चनपुरका बलदेव भट्ट रहेका छन् । भट्टले भने प्रश्नपत्रको फोटो खिचेर उत्तर पाउने प्रयोजनले साथीलाई पठाएका थिए । उनलाई आयोगले दुई वर्षसम्म परीक्षामा सामेल हुन नपाउने गरी निलम्बन गरेको छ ।