NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

जिडिपीको क्षेत्रगत संरचनामा फेरबदल : अर्थतन्त्रमा कुन क्षेत्रको योगदान कति ?

काठमाडौं । चालु आर्थिक वर्ष ०७९/८० कुल गार्हस्थ्य उत्पादनको क्षेत्रगत संरचनामा केही परिवर्तन आएको छ । जिडिपी उत्पादनमा प्राथामिक क्षेत्रको योगदान घट्दै गएको छ भने सेवा क्षेत्रको योगदान बढ्दै गएको छ ।

चालु आवमा पनि सेवा क्षेत्रको योगदानमा वृद्धि भएको छ भने प्राथामिक र द्धितीय क्षेत्रको योगदानमा कमी आएको छ ।

कृषि क्षेत्र

चालु आवमा कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्र (कृषि, वन, मत्स्यपालन) को योगदान २४.१ प्रतिशत रहने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ ।

आर्थिक वर्ष ०७८÷०७९ मा कृषि, वन तथा मत्स्य पालन क्षेत्रको मूल्य अभिवृद्धि २.२ प्रतिशतले वृद्धि भएकोमा चालु आवमा यस्तो मूल्य अभिवृद्धि २.७ प्रतिशत रहने अनुमान छ ।

प्रदेशतर्फ

प्रदेशगत रूपमा सबैभन्दा बढी मधेस प्रदेशमा कृषि क्षेत्रको योगदान ३५.२ प्रतिशत रहेको छ । त्यस्तै सबैभन्दा कम बागमती प्रदेशमा ११.२ प्रतिशत रहेको छ । अन्य प्रदेशहरूमा सूदुरपश्चिम प्रदेशमा ३३.४, कोशी प्रदेशमा ३३.२, कर्णालीमा ३०.८, लुम्बिनीमा २९.८ र गण्डकीमा २५.९ प्रतिशत रहेको छ ।

उद्योग क्षेत्र

आर्थिक गतिविधिमा आएको सुस्तताको प्रभाव यस क्षेत्रमा बढी परेको देखिन्छ । चालु आवमा जिडिपीमा उद्योग क्षेत्रको योगदान १३.५ प्रतिशत रहेको छ । जिडिपीमा खानी तथा उत्खनन् क्षेत्रको योगदान ०.५१ प्रतिशत रहने अनुमान छ ।

उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रको क्रियाकलाप घट्न गएकाले समग्र उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धिमा कमी आएको छ । भूकम्प र कोभिड महामारीको समयमा उच्चदरमा घटेको उत्पादनमूलक उद्योग क्षेत्रको मूल्य अभिवृद्धि त्यसपछिका आर्थिक वर्षमा बढेको भए पनि पुनः घटेको छ । आव ०७८/७९ मा उत्पादन मूलक उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि ६.७ प्रतिशतले बढेको भएतापनि चालु आवमा यस्तो वृद्धिदर २ प्रतिशतले ऋणात्मक हुने देखिएको छ ।

चालु आवमा जिडिपीमा उत्पादन मूलक उद्योगको योगदान ५.३ प्रतिशत रहने अनुमान छ । आव ०७८÷०७९ मा यस्तो योगदान ५.७ प्रतिशत थियो ।

सार्वजनिक तथा निजी क्षेत्रको निर्माण कार्यमा आएको शिथिलता र निर्माण सामग्रीको आयात तथा आन्तारिक उत्पादनमा आएको कमीले चालु आवमा निर्माण क्षेत्रमा संकुचन आएको छ । आर्थिक वर्ष ०७८/०७९ मा जिडिपीमा निर्माण क्षेत्रको योगदान ५.८ प्रतिशत रहेकोमा चालु आवमा ५.५ प्रतिशत रहने अनुमान छ ।

चालु आवमा विद्युत क्षेत्रको योगदान थोरै बढ्ने देखिन्छ । नयाँ जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न सुरू गरेको र केही विद्युत आयोजना सम्पन्नको क्रममा रहेको हुँदा यस क्षेत्रको योगदान बढ्ने अनुमान गर्न सकिन्छ । चालु आवमा जिडिपीमा यस क्षेत्रको योगदान १.६ प्रतिशत रहने अनुमान छ । आव ०७८/०७९ मा यस जिडिपीमा यस क्षेत्रको योगदान १.५ प्रतिशत थियो ।

त्यसैगरी पानी, आपूर्ति ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापको योगदान पनि घट्दै गइरहेको छ । आव ०७८/०७९ मा यस क्षेत्रको योगदान ०.५९ प्रतिशत रहेकोमा चालु आवमा ०.४६ प्रतिशत रहने अनुमान छ ।

प्रदेशतर्फ

प्रदेशगत रूपमा जिडिपीमा उद्योग क्षेत्रको योगदान सबैभन्दा बढी गण्डकीमा १८.१ प्रतिशत रहेको छ ।

सबैभन्दा कम योगदान कर्णालीमा १०.३ छ । अरू प्रदेशहरूमा कोसीमा १६.८, लुम्बिनीमा १४.७, मधेसमा ११.४, बागमतीमा ११.४ र सूदुरपश्चिममा १३.५ प्रतिशत रहेको छ ।

सेवा क्षेत्र

चालु आवमा जिडिपीमा सेवा क्षेत्रको योगदान ६२.४ प्रतिशत रहने अनुमान छ ।  सेवा क्षेत्रतर्फको थोक तथा खुद्रा व्यापार गाडी तथा मोटरसाइकल मर्मत सेवाको योगदान  ०.९ प्रतिशतले कमी आई १५.४ प्रतिशत रहने अनुमान छ । आव ०७८/०७९ मा यस क्षेत्रको योगदान १६.३ प्रतिशत थियो ।

विदेशी पर्यटकको आगमनमा आएको उल्लेखीय वृद्धि तथा आन्तरिक पर्यटकको संख्यामा भएको सुधारको कारण चालु आवमा आवास तथा भोजन सेवा क्षेत्रको योगदानमा वृद्धि हुने देखिन्छ । चालु आवमा यस क्षेत्रको योगदान १८.६ प्रतिशतले वृद्धि हुने अनुमान छ । आव ०७८÷०७९ मा यस सेवाको योगदान १२.६ प्रतिशत थियो ।

जिडिपीमा सूचना तथा सञ्चार क्षेत्रको योगदान गत वर्षको तुलनामा कमी आउने देखिन्छ । गत वर्षमा यस क्षेत्रको योगदान २.१ प्रतिशत रहेकोमा चालु आवमा १.२ प्रतिशत रहने अनुमान छ ।

बैंक, बीमा तथा गैर बैंकिङ वित्तिय संस्थाको क्रियाकलाप बढ्दै गएकाले गत आवको तुलनामा चालु आवमा यस क्षेत्रको योगदान बढ्ने अनुमान गर्न सकिन्छ । आव ०७८÷०७९ मा यस क्षेत्रको योगदान ६.९ प्रतिशत रहेकोमा चालु आवमा ७.४ प्रतिशत हुने अनुमान छ ।

उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा आएको सुस्तताले घरजग्गा क्षेत्रको योगदान चालु आवमा न्युन हुने देखिन्छ । जिडिपीमा यस  क्षेत्रको योगदान ८.४ प्रतिशत रहने अनुमान छ । आव ०७८/०७९ मा यस क्षेत्रको योगदान ८.५ प्रतिशत थियो ।

पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलप क्षेत्रको योगदान ०.७२ प्रतिशत रहने अनुमान छ । त्यस्तै प्रशाशनिक तथा सहयोगी सेवा क्षेत्रको ८.२ प्रतिशत, शिक्षा क्षेत्र ८.२ प्रतिशत र स्वास्थ्य तथा सामाजिक क्षेत्रको १.९ प्रतिशत रहने अनुमान छ ।

प्रदेशतर्फ

प्रदेशगत रूपमा जिडिपीमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी बागमती प्रदेशमा ७७.४ प्रतिशत रहेको छ । तथ्यांकअनुसार सबैभन्दा कम ५० प्रतिशत योगदान कोशी प्रदेशमा छ ।

मधेसमा सेवा क्षेत्रको योगदान ५३.४, गण्डकीमा ५६, लुम्बिनीमा ५५.५, कर्णालीमा ५८.९ र सूदुरपश्चिममा ५३.१ प्रतिशत छ ।

जिडीपीमा सबैभन्दा धेरै योगदान बागमती प्रदेशको

चालु आव ०७९/८० मा प्रचलित मूल्यको कुलग्राहस्थ उत्पादन ५३ खर्ब ८१ अर्ब ३४ करोड रहेको छ । तथ्यांकअनुसार जिडिपीमा सबैभन्दा धेरै योगदान बागमती प्रदेशको देखिएको छ । बागमती प्रदेशको कुल जिडिपीमा ३६.८ प्रतिशत योगदान देखिएको छ । त्यस्तै सबैभन्दा कम भने कर्णाली प्रदेशको देखिएको छ । कर्णाली प्रदेशको कुल जिडिपीमा ४.१ प्रतिशत मात्रै योगदान रहेको छ ।

जिडिपीमा कोसीप्रदेशको योगदान १५.८ प्रतिशत, लुम्बिनीको १४.२ प्रतिशत, मधेसको १३.१ प्रतिशत, गण्डकीको ९ प्रतिशतर सुदुरपश्चिमको ७ प्रतिशत रहेको छ ।

आर्थिक वृद्धिदर

चालु आर्थिक वर्ष ०७९/८० मा सबै प्रदेशमा आर्थिक वृद्धिदर तुलनात्मक रूपमा घट्ने अनुमान गरेको छ । चालु आवमा आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमान गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार मधेस बागमती र सूदुरपश्चिम बाहेक अन्य प्रदेश प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान छ ।

तथ्यांकअनुसार सबैभन्दा बढी आर्थिक वृद्धिदर गण्डकी प्रदेशमा र कम बागमती प्रदेशमा हुने अनुमान गरेको छ । गण्डकीमा ३.७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ भने बागमतीमा १.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ ।

तथ्यांकअनुसार कोशी प्रदेशमा २.४, लुम्बिनी २.२, कर्णाली २.२, मधेस प्रदेशमा १.९ र सूदुर पश्चिममा १.९ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान छ ।

विगत पाँचवर्षमा औसत आर्थिक वृद्धिदर कर्णाली प्रदेशको सबैभन्दा बढी ४.२ प्रतिशत र सबैभन्दा कम बागमी प्रदेशको २.८ प्रतिशत रहेको छ ।