NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

प्रकाशन गृह धेरै हुँदा पनि पाठ्यपुस्तक पाउनै मुस्किल

कैलाली । कैलालीको टीकापुरका राजेन्द्र विश्वकर्मा आफ्ना बालबालिकालाई निजी विद्यालयमा अध्ययन गराउछन् । शैक्षिक सत्र सुरु भएको एक महिनाभन्दा बढी हुँदा पनि उनले अझै बालबालिकाका पाठ्यपुस्तक पाएका छैनन् । बजारका सबै पुस्तक पसलमा धाउँदा पनि पुस्तक नपाएपछि घरमा बालबालिकालाई फकाउनै मुस्किल भएको उनी बताउछन् ।

‘एक महिनादेखि विद्यधालयले तोकेको पाठ्यपुस्तक भेटिएको छैन । भेटिए पनि एउटा आज अर्को भोलि गरेर भेटिन्छ । ‘राजेन्द्र भन्छन्, ‘पुस्तक नभएपछि बालबालिका विद्यालय जान मान्दैनन् । बजारमा पुस्तक पनि पाइँदैन । पाइए पनि बर्सेनि पुस्तक परिवर्तन भएको हुन्छ ।  यो समस्या झेल्ने उनी मात्रै छैनन् । निजी विद्यालयले कमिसनको चक्करमा विद्यालयपिच्छे फरक–फरक पुस्तक तोकेकाले  र   बर्सेनि पाठ्यपुस्तक परिवर्तन भएकाले प्राय सबै  अभिभावकलाई बजारमा सहजरूपमा पाठ्यपुस्तक पाउनै मुस्किल छ । कतिपय विद्यालयले त आफ्नै पुस्तक पसल सञ्चालनमा ल्याएका छन् । त्यहाँ पाइने पाठ्यपुस्तक अन्य पुस्तक पसलमा पाइँदैन ।

‘बर्सेनि पाठ्यपुस्तक परिवर्तन हुँदा नयाँ पाठ्यपुस्तक किन्नुपर्ने बाध्यता छ । त्यो पनि सबै पुस्तक पसलमा पाइँदैन ।’ स्थानीयवासी सावित्रा तिमिल्सिना भन्छिन् ‘पाठ्यपुस्तक पनि निकै महँगा छन् । पहिले १० प्रतिशत छुट पाइने भए पनि यसवर्ष छुट पनि छैन । रहरले भन्दा बाध्यताले पुस्तक किन्नु परेको छ ।’

टीकापुर नगरपालिकामा ३५ सामुदायिक र ४७ संस्थागत तथा निजी विद्यालय छन् ।

त्यसमा पनि ३७ वटा विद्यालय प्याब्सनको मातहतमा छन् ।  सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै  भए पनि संस्थागत तथा निजी विद्यालयमा भने २८ भन्दा बढी पब्लिकेसन्सका पाठ्यपुस्तक प्रयोगमा ल्याइएका छन् । धेरै पब्लिकेसन्सका पाठ्यपुस्तक किन्नुपर्ने भएकाले त्यसको मारमा अभिभावक र विद्यार्थी पर्दैआएका हुन् । पुस्तक पसलेले प्रर्याप्त पुस्तक खरिद गर्न नसक्दा सहजैरुपमा अभिभावकले पनि पाउँदैनन् ।

समयमै पाठ्यपुस्तक नपाउँदा पठनपाठनमा समेत असर पर्दै गएको छ । ‘हामीले त्यत्रो पब्लिकेसन्सको पुस्तक मगाएर बिक्री गर्नसक्ने अवस्था छैन । पुस्तक नराखौँ भने व्यापारबाट विस्थापित हुनुपर्ने अवस्था छ । ‘पुस्तक व्यापारी देवी जैशी भन्छिन्, ‘एउटा विद्यालयमा लागू भएको पाठ्यपुस्तक अर्कोमा काम लाग्दैन । कसरी पुस्तक बिक्री गर्ने ? कस्को पुस्तक बिक्री गर्ने ? अभिभावकलाई जस्तो  तनाब छ हामीलाई पनि त्यस्तै हुन्छ ।’

यस विषयमा टीकापुर नगरपालिकालाई पनि सबै जानकारी भएर पनि केही गर्न सकेको छैन । नगरपालिकाका शिक्षा शाखा रहनुभएका प्रमुख उपसचिव दमनसिंह चौधरी निजी विद्यालयसँग पाठ्यक्रमका विषयमा छलफल गर्ने तयारी भएको बताउछन् । उनी व्यक्तिगत स्वार्थका कारण विद्यालयले आफूखुसी पाठ्यपुस्तक तोक्ने गरेकाले त्यसलाई निरुत्साहित गर्ने जिम्मा नगरपालिकाको भएको उल्ल्ख गर्छन् ।

‘हामीमा पनि यो खबर आइपुगेको छ । आजभोलि नै प्याब्सन र एनप्याव्सनलाई बोलाएर त्यस विषयमा छलफल गर्ने तयारी गरेका छौँ ।’ उपसचिव चौधरी भन्न्छन्,  ‘व्यक्तिगत स्वार्थ र कमिसनको चक्करमा विद्यालयले शिक्षाको नाममा व्यापार गरेको भान हामीलाई पनि भएको छ । यसलाई रोक्छौँ ।’  यसवर्ष निजी विद्यालयमा देखिएको पाठ्यपुस्तकको समस्यालाई समाधान गर्न नसके पनि विद्यार्थीले प्राप्त गर्न नसकेका पाठ्यपुस्तकको व्यवस्थापनमा विद्यालयलाई जिम्मेवार बनाउन सकिनेमा उनी जोड दिन्छन् ।

नगरपप्रमुख रामलाल डगौराले निजी विद्यालयमा देखिएको पाठ्यपुस्तकको समस्याबारेमा पुस्तक व्यवसायीसँग  छलफल भएकाले त्यसलाई समाधान गरिने बताउछन् ।  ‘यो विषय अलि ढिलो उठ्यो । हामीलाई पनि ढिलो गरी जानकारीमा आयो । अब अर्को वर्षदेखि कडाइका साथ निगरानी गर्छौं’  नगर प्रमुख थारु भन्छन्, ‘जे भइरहेको छ, त्यो गलत भइरहेको छ । गलतलाई सुधार गर्न हामी लाग्छौँ ।’ प्याब्सन टीकापुर शाखाका अध्यक्ष मानबहादुर थापा पाठ्यपुस्तकमा एकरुपता ल्याउन गाह्रो  रहेको उल्लेख गर्छन् ।

‘अब हामीले मात्रै भनेर एकरुपता ल्याउन निकै कठिन छ । प्याब्सनले भने बमोजिमको निर्णय सम्बन्धित विद्यालयले कार्यान्वयन नगरेकाले ती विद्यालयलाई पुस्तकको स्वतन्त्रता छोडिदिएका  छौँ ।’ अध्यक्ष थापा भन्नुहुन्छ, “हामीलेभन्दा पनि नगरपालिकाले त्यसको निर्णय गर्न सक्यो र त्यसलाई कार्यान्वयन गर्न सक्यो भने राम्रो हुन्छ । अहिले फरक–फरक पाठ्यपुस्तकका कारण अझै कैयौँ विद्यार्थीको हातमा पाठ्यपुस्तक नपरेको कुरा सहि  हो ।’