NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रियललाई १२ औं स्पेनिस सुपरकप उपाधि, कसले जितेको छ १३ औं पटक ?

रियललाई १२ औं स्पेनिस सुपरकप उपाधि

काठमाडौं । रियल म्याड्रिय साविक विजेता एट्लेटिको बिल्वाओलाई पराजित गर्दै स्पेनिस सुपरकप च्याम्पियन बनेको छ । १० खेलाडीमा समेटिएको रियलले बिलबाओलाई २–० ले पराजित गर्दै एक वर्षपछि च्याम्पियन बन्न सफल भएको हो ।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा हालै भएको खेलमा रियल च्याम्पियन बनाउन लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

३८औं मिनेटमा भेट्रान मिडफिल्डर मोड्रिचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगोले दिएको पासलाई सदुपयोग गरेका हुन् ।

५२औं मिनेटमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । बेन्जेमाकै प्रहारलाई पेनाल्टी बक्समा बिल्बाओका खेलाडीको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिँदै रियललाई पेनाल्टी प्रदान गरेको थियो । जसमा बेन्जेमा चुकेनन् ।

८७औं मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो । इडर मिलिसाओ ह्यान्ड गर्न पुगेपछि रेफ्रीले उनलाई सिधै रातो काडै देखाउँदै मैदान बाहिर पठाएका थिए । त्यसमै प्राप्त पेनाल्टीमा राहुल गार्सियाको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले बचाएका थिए । थप समयमा गोल कुनै गोल नहुँदा रियल च्याम्पियन बनेको हो ।

यससँगै रियलले १२ औंपटक सुपरकपको उपाधि जितेको छ । रियलभन्दा धेरै बार्सिलोनाले मात्र जितेको छ । बार्सिलोनाले १३ पटक यो उपाधि जितेको छ ।

बिल्बाओले भने तीनपटक मात्रै उपाधिमाथि कब्जा जमाएको छ ।

रियलले बुधबार राति भएको पहिलो सेमिफाइनलमा बार्सिलोनालाई ३–२ ले पराजित गर्दै सुपरकपको फाइनलमा प्रवेश गरेको थियो ।

यता बिल्बाओले भने सेमिफाइनलमा ला–लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

केही वर्षयता स्पेनिस सुपर कप स्पेनबाहिर भइरहेको छ । यो वर्ष साउदी अरेबियामा भएको हो ।

स्पेनिस सुपर कपमा चार टोली थिए । जसमा ला–लिगा विजेता र उपविजेता एट्लेटिको र रियल तथा कोपा डेल रे विजेता र उपविजेता बार्सिलोना र बिल्बाओ थिए ।