NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रवासीले बनाए आँखा उपचार केन्द्रको भवन

रासस । गलकोट समाज जापानको आर्थिक सहयोगमा गलकोट नगरपालिका–५ हरिचौरमा आँखा उपचार केन्द्रको भवन निर्माण भएको छ । रु ७४ लाख ६० हजारको लागतमा केन्द्रको तीनतले भवन बनेको हो । भवन निर्माणका लागि समाजले रु ६७ लाख उपलब्ध गराएको थियो भने बाँकी अन्य स्रोतबाट जुटाइएको हो । निर्माण थालेको एक वर्षभित्रै भवन सम्पन्न भएको वडाध्यक्ष नारायणध्वज मल्लले बताए । समाजले वडा नं. ५ सहित ४ र ६ का वडाध्यक्षलाई भवन निर्माणको जिम्मा सुम्पेको थियो । “फर्निचर, उपकरण र जनशक्ति व्यवस्थापनको काममा लागेका छौँ”, वडाध्यक्ष मल्लले भने “यो भवनबाट यथाशक्य चाँडो उपचार सेवा शुरु हुन्छ ।” उपकरण र मानव साधनको प्रबन्धका लागि नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल र गलकोट नगरपालिकासँग समन्वय भइरहेको उहाँको भनाइ छ । नियमित बहिरङ्ग ९ओपीडी० सेवा सञ्चालन गर्ने गरी पूर्वाधार तयारीको काम अघि बढाइएको नेत्रज्योति सङ्घ बागलुङका सदस्यसमेत रहनुभएका मल्लले बताउनुभयो । यसअघि विसं २०६७ देखि हरेक महिनाको १५ र १६ गते गलकोटमा आँखा उपचार सेवा प्रदान गरिँदै आएको थियो । नेत्र ज्योति सङ्घमार्फत गएका चिकित्सकले आँखाको जाँच तथा उपचार गर्थे । उक्त सेवा पनि कोभिड–१९ का कारण गत चैतदेखि अवरुद्ध छ । केन्द्रको भवन बनाउन समाजले दुई वर्षअघि जापानमा आर्थिक सहयोग अभियान चलाएको थियो । भवनका लागि थीरवम पुस्तकालयले दुई आना जग्गा निःशुल्क उपलब्ध गराएको थियो । भवनको भुइँ तलामा केन्द्र, दोस्रो तलामा थीरवम पुस्तकालय र तेस्रो तलामा सभाकक्षसहित समाजको सम्पर्क कार्यालय रहने जनाइएको छ । कोरानाले निम्त्याएको विषम परिस्थितिका कारण भवन उद्घाटन र हस्तान्तरणको कार्यक्रम पछि धेकेलिएको समाजका निवर्तमान अध्यक्ष एवं सल्लाहकार दिलु खत्रीले बताए । समाजले केही वर्षअघि गलकोटमै राखेको निःशुल्क स्वास्थ्य शिविरमा आँखाका बिरामी बढी पाइएपछि आँखा उपचार केन्द्र स्थापनाको सोच बनेको उनको भनाइ छ । अङ्गेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा आयोजित साङ्गीतिक कार्यक्रमको टिकट बेचेर आर्थिक सङ्कलन जुटाइएको समाजले जनाएको छ । गलकोटबाट रोजगारी र अध्ययनका सिलसिलामा जापान पुगेका अधिकांश व्यक्ति सहयोग अभियानमा जोडिएका थिए । गाउँमै उपचार केन्द्र खुल्ने भएपछि आँखाका बिरामीलाई सदरमुकाम आउनुपर्ने बाध्यता अब हट्ने भएको छ । जिल्लामा हाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित एक मात्र आँखा उपचार केन्द्र सदरमुकाममा छ । समाजले गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई केही वर्षअघि एम्बुलेन्सलगायत लाखौँ मूल्य पर्ने स्वास्थ्य उपकरणसमेत प्रदान गरेको थियो । गाउँमै उपचार केन्द्र खुल्ने भएपछि आँखाका बिरामीलाई सदरमुकाम आउनुपर्ने बाध्यता अब हट्ने भएको छ सन् २००६ मा स्थापित समाज मानवीय र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील छ । गत भदौ १७ गते ढोरपाटनको भूजीखोलामा आएको बाढीबाट प्रभावित परिवारलाई रु २७ लाखबढी राहत प्रदान गरेको समाजले हालै ताराखोला गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको छ । गलकोट समाज नेपाल, अष्टे«लिया, जापानसहित दर्जनबढी देशमा सक्रिय छ ।