NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

केसीसँगका सहमतिमा इमान्दार बन : कांग्रेस

नेपालवाच । प्रमुख प्रतिपक्षी दल कांग्रेसले गोविन्द केसीसँग गरिएको सहमतिमा इमान्दार बन्न सरकारको ध्यानाकर्षण गराएको छ । केसीका मागका विषयमा सरकारले सुरुदेखि नै रवैया देखाएको भन्दै कांग्रेसले अहिले गरिएको ८ बुँदे सहमति कार्यान्वयनमा इमान्दार बन्न सरकारलाई सचेत गराएको हो । ‘डा. के.सी.ले अघि सार्नुभएका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण थियो । जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण ब्यवहार देखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउंदै सहमतिमा पुगेको छ’ प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं । तर विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौं ।’ यस अघि गरिएको समझौता उलङघन गर्दा द्वन्द्व सिर्जना भएको कांग्रेसको भनाई छ । ‘वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा ०७५ साउन १० गते डा. के.सी.सँग गरिएको सहमति सोही बर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको थियो’ शर्माले भनेका छन्, ‘नेपाली कांग्रेसको नेतृत्वमा रहेकोे अघिल्लो सरकारले डा. के.सी.का मागहरू पुरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. के.सी.सँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सृजना भएको थियो ।’ यसकारण पनि अब गएराती भएको सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न शर्माले सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘अतः थप द्वन्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुंदे सहमति ईमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न नेपाली कांग्रेस वर्तमान सरकारलाई सजग गराउंदै सार्वजनिक रुपले आग्रह समेत गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।