NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पुनःगठित मन्त्रिपरिषद्मा कुन मन्त्री कस्ता ?

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनसँगै तीन मन्त्रालयले नयाँ अनुहार पाएका छन् । धेरै नै मन्त्रीहरु फेरबदल हुने चर्चाकाबीच बुधबार केही मन्त्रीमात्रै हेरफेर गरिएको हो । पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिमण्डल पुनःगठन, पार्टी एकताका बाँकी काम, संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिलगायतबारे दैनिकजसो परामर्श हुँदै आएको थियो । नेकपाका शीर्ष नेताहरुका बीचमा पनि धेरै नयाँ अनुहारका मन्त्री पठाउने र अधिकांश पुरानैलाई निरन्तरता दिने भन्नेमा विभिन्न कोणबाट छलफल चलेको थियो । गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पार्टीभित्रको अन्तरविरोध हल गर्दै सङ्घीय र प्रदेश सरकारमा आवश्यकतानुसार हेरफेर गर्ने निर्णय गरेको थियो । सोही कार्यादेशबमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने सङ्कल्प पनि नेकपाको पछिल्लो सचिवालय बैठकले गरेको थियो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मौजूदा मन्त्रिपरिषद्मा केही नयाँ मन्त्रीको पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गरेकी हुन् । नयाँ जिम्मेवारीमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिएका छन् । उपप्रधानमन्त्री एवं रक्षामन्त्री रहेका ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । विगतमा विनाविभागीयमन्त्री बनाइएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट कार्यालय सञ्चालन गर्न दिइए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को स्पष्ट जिम्मेवारीसहित मन्त्री तोकिएको यो नयाँ अभ्यास हो । उपप्रधानमन्त्री पोखरेलले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समिति संयोजक भएर काम गरेका थिए । अब उनलाई प्रधानमन्त्री ओलीलाई सघाउने गरी नयाँ जिम्मेवारी दिइएको हो । नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै नेता पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीसहित मन्त्रिपरिषद्को समग्र कामको संयोजनको भूमिका पाएको जनाएका छन् । रिक्त अर्थमन्त्रीमा नियुक्त विष्णुप्रसाद पौडेलले विगतमा पनि अर्थमन्त्रालय चलाएका थिए । निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई राजनीतिक पृष्ठभूमिको अभावका कारण कतिपय बजेट शीर्षकमा पार्टीभित्रैबाट समेत आलोचना भएको थियो । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामापछि रिक्त सञ्चारमन्त्रीमा यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहनुभएका पार्वत गुरुङले जिम्मवारी पाएका छन् । उनी गत प्रतिनिधिसभामा मुलुककै सबैभन्दा बढी मतान्तरबाट विजयी हुने दोलखाका सङ्घीय सांसद् हुन् । शहरी विकासमन्त्रीमा नियुक्त कृष्णगोपाल श्रेष्ठ लामो समय काठमाडौँ उपत्यकाको पार्टी नेतृत्वमा रहेका नेता हुन् । उनी पूर्व स्थानीय विकास राज्यमन्त्री पनि हुन् । महिलामन्त्री भएका सिरहाका लीलानाथ श्रेष्ठ पहिलो पटक मन्त्री भएका हुन् । नवनियुक्त मन्त्रीसँग प्रधानमन्त्री ओलीले छलफल गरी सरकारका प्राथमिकताबारे निर्देशन दिएका छन् ।रासस