NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कोभिड–१९ले बढायो मनोवैज्ञानिक त्रास

मार्क नेपाल मनोसेवा केन्द्रमा १५ वर्षदेखि परामर्श गर्दै आएका मनोविद् गोपाल ढकालको व्यस्तता कोभिड – १९ को महामारीयता निकै बढेको छ । कारण हो, महामारीले निम्त्याएको मानसिक समस्या बढ्नु । उनका अनुसार महामारीयता मानसिक समस्या लिएर उनीकहाँ आउनेको संख्या साविकभन्दा करिब १० प्रतिशतले बढेको छ । यस्तो अनुभूति छ, मनोविश्लेषक बासु आचार्यको पनि । उनका अनुसार महामारीले मानिसहरूमा असाध्यै धेरै डर पैदा गरिरहेको छ । सबैभन्दा धेरै मारमा बालबालिकामनोविद् ढकालको अनुभवमा कोभिड १९ को संक्रमणले सबैभन्दा धेरै असर गरेको बर्ग बालबालिका हो । काठमाडौं निवासी एक व्यक्ति आफ्नो एक बालकको समस्या लिएर उनीकहाँ पुगे । १२ वर्षिय ती बालकलाई कोरोना लाग्छ कि भन्ने भयले सताएको रहेछ । डर बढ्दै गएपछि उनमा अन्य समस्या निम्तियो । अनावश्यक रुपमा हात धोइरहने, श्वासप्रश्वासबाट कोरोना सर्छ कि भनेर सास फेर्न पनि डराउने, मुख क्याप्प पारेर श्वास रोकेर बस्ने लगायतका समस्या ती बालकमा रहेछ । बालबालिकामा अहिले ‘एडजस्टमेन्ट डिसअर्डर’ अर्थात समायोजन विकारको समस्या बढिरहेको बताउँछन्, मनोविश्लेषक आचार्य । समायोजन विकार भनेको कुनै पनि ठाउँमा आफूलाई समायोजन गर्न कठिनाइ हुनु हो । ‘घर र विद्यालय धाउने बच्चाहरू यतिबेला घरमैमात्र थुनिका छन्, चौरमा खेल्न जान या आफन्तकोमा जान पाएका छैनन्, पर्याप्त मनोरञ्जन पाएका छैनन्,’ उनी भन्छन, ‘यसले बालबालिकामा मनोवैज्ञानिक समस्या पैदा गरेको छ ।’ बालबच्चामा कोरोनाको अत्याधिक त्रास हुँदा त्यसको असर भोलिको दिनमा नआउला भन्न नसकिने बताउँछन्, ढकाल । ‘कुनै पनि कुरा हेरेको र सुनेकै भरमा बाबालिकामा मानसिक आघात पुग्न सक्छ,’ उनी भन्छन्, ‘तत्काल नदेखिए पनि १० वर्ष पछिसम्म पनि यसको असर देखिने सम्भावना हुन्छ ।’ अमेरिकन साइकोलोजिकल एसोसिएसन भन्छ – तुलनात्मक रूपमा वयश्क भन्दा बालबालिकाले मानसिक समस्याको सामाधान पाउने सम्भावना कम हुन्छ । शारिरीक विकाससँगै मानसिक रुपमा पनि उनीहरू बलियो हुँदै जाने गलत धारणा अभिभावकमा हुने एसोसिएसन बताउँछ । वयस्कमा पनि उस्तै समस्यामनोविश्लेषक आचार्यकोमा २७ वर्षीया एक महिला आइन् । कसैलाई घर बाहिर जान नदिने र आफू पनि नजाने, जानै पर्यो भने पनि रेनकोट लगाएर जाने, बजारबाट ल्याएका सामान धोइपखाली गर्ने लगायतका मानसिक समस्याले उनलाई गाँजेको थियो । महामारीको समयमा सावधानी अपनाउनु सामान्य हो । तर हद भन्दा बढी सावधानी अपनाउँदा उनको व्यक्तिगत जीवनमा प्रभाव पर्न थाल्यो । अत्याधिक डर लाग्ने, सानो सानो कुुरामा झर्को लाग्ने भएपछि उनी आचार्यलाई भेट्न पुगेकी थिइन् । मानिस यथार्थपरक नहुँदा र कुन चिजलाई कतिसम्म ‘रियाक्ट’ गर्ने भन्नेबारे हेक्का नहुँदा यस्तो समस्या आउने बताउँछन्, आचार्य । यसैबीच उनीकहाँ ५० वर्ष हाराहारीका एक व्यक्ति पुगे । ३० करोड सम्पत्तिका मालिक ती व्यक्ति काठमाडौंका व्यापारी हुन् । उनीबारे आचार्यले सुनाए – बैंकमा तिर्नुपर्ने ऋण चार करोड पुगेपछि उनी डिप्रेसनमा पुगेका थिए, उनको शरिरमा कुनै जोश र जाँगर थिएन । ‘मानिसलाई आफ्नै मनगढन्ते सोचले दुःख दिन्छ,’ आचार्य भन्छन् । मनोविश्लेषक ढकाल महामारीमा सार्वधिक बढेको समस्या ‘एन्जाइटी’ भएको बताउँछन् । राती सुत्न गाह्रो हुनु, सानो सानो कुरामा पनि झर्को लाग्नु, मनमा चाहिने भन्दा बढी डर पैदा हुनु आदि एन्जाइटीका लक्षण हुन् । हिजोआज मोबाइलको लतले बालबालिका पनि यसको शिकार भइरहेको बताउँछन् विज्ञहरू । महामारीमा बालबालिकासँगै वयस्कमा मानसिक विकार बढेको आचार्य बताउँछन् । ‘अफिसमा बसेर काम गर्ने बानी भएकाहरूमा बिनाकाम घरमा टिक्न गाह्रो भयो,’ उनी भन्छन्, ‘रातदिन घरमै थुनिएर बस्नुपरेपछि युवाहरूलाईसमेत डिप्रेसन र तीव्र तनाव विकार निम्तियो ।’ महामारीमा बढेका मनोवैज्ञानिक विकार१० वर्षदेखि मनोविज्ञानको क्षेत्रमा काम गर्दै आएका र हाल निर्भाना साइकोलोजिकल केयर सेन्टरएन्ड रिसर्च इन्स्टिच्युटमा कार्यरत गणेश अमगाइकाे अनुभवमा पहिलादेखि नै मानसिक समस्या भएकाहरुलाई यो महामारीले घाउमा नुनचुक थप्ने काम गरेको बताउँछन् । मनोविद् अमगाइले सामना गरेका मानिसका अधिकांश पीडा हुन् – मेरो भविश्य गयो, पढाई गयो, अफिस चुर्लुम्मै डुब्यो, कोरोना लागिहाले म पनि मर्छु कि, मैले गर्दा परिवारलाई पनि समस्या हुने भयो, यो कोरानाको अन्त्य कहिले हुन्छ ? इत्यादि । पहिला काममा व्यस्त भएर समस्या भएको थाहा नपाएको तर अहिले घर बसेर समस्या पत्ता लाग्न थालेको भनेर उनीकहाँ आउनेको संख्या पनि उल्लेख्य छ । महामारीपछि मानिसमा हुनसक्ने दुश्चिन्ता विकार (पोष्ट ट्रम्याटिक स्ट्रेस डिअर्डर) बढेको आचार्य बताउँछन् । उनी भन्छन्, ‘जहाँ असहजता हुन्छ त्यहाँ मानसिक पीडा बढ्छ र जहाँ मानसिक पीडा बढ्छ त्यहाँ मनोरोग बढ्छ,’ । कहिल्यै नसुनेको, नदेखेको र नभोगेको घटनाको सामना गरेपछि मान्छेलाई सजिलो ठाउँ पनि गाह्रो हुने उनी बताउँछन् ।आचार्यका अनुसार महामारीपछि डिप्रेसन, आत्महत्याको सोच र प्रयास, लागूपदार्थ तथा सामाजिक सञ्जालको लत, अनिन्द्राजस्ता समस्या पनि थपिएका छन् । कोभिड १९ले भन्दा पनि आत्महत्याका कारण मृत्यु हुने संख्या बढ्दो छ । नेपाल प्रहरी प्रधानको कार्यालयमा दर्ता भएको तथ्यांक अुनसार चैत्र मसान्तमा नेपालभर आत्महत्या गर्नेको संख्या ४९६ थियो । बैशाखमा त्यो संख्या ५८० पुग्यो भने जेठमा ६६८ । असारमा नेपालभर कुल ९७२ जनाले आत्महत्या गरेका थिए भने साउनसम्म आइपुग्दा कुल ७०९ जनाले आत्महत्या गरेका छन् । समाचारको नकारात्मक असरआफूलाई नियन्त्रण गर्न नसक्नेहरूमा स–साना घटना र विचारले पनि मानसिक समस्या निम्त्याउँछ । यस्तै समस्या कोरोना संक्रमणले निम्त्यायो । ढकालको सम्पर्कमा एकजना ६५ वर्षीया वृद्धा पुगिन् । जो महामारीका समाचारले पीडित थिइन् । वृद्ध मान्छे, घरमा खासै काम पनि नहुने । कोरोना महामारीबारे समाचार हेरेर र सुनेरै दिन बित्न थाल्यो । संक्रमितको संख्या बढेको खबर थाहा पाउनासाथ पसिना चुट्ने, चिट्चिटाहट हुने र आत्तिन थालेपछि उनी परामर्शको लागि ढकालकहाँ पुगेकी थिइन् । प्राकृतिक विपद्लाई हामी रोक्न सक्दैनौं । यदि भइहालेमा यस्तो अवस्थामा हामीले कुन स्रोतको समाचारलाई प्राथामिकता दिने भन्नेबारे सचेत हुन सुझाउँछन्, मनोविद् अमगाइ । उनका अनुसार मानिस प्रायः एकै किसिमको दिनचर्यामा चलिरहेको हुन्छ । अचानक त्यसमा गडबडी हुँदा असहज स्थिती आउनु स्वभाविक हो । सामाधानको बाटो के ?महामारी र लकडाउन भयो भन्दैमा मान्छेले आफूले दैनिक गर्दै आएका क्रियाकलापमा पूर्णविराम लगाउन नहुने मनोविद अमगाईंको सुझाव छ । जस्तोः समयमा उठ्ने, खाने, व्यायाम गर्ने आदि । निश्चित खालको दैनिकी बनाएर त्यसलाई अपनाउँदा मानसिक समस्या टार्न सकिने उनी बताउँछन् । ‘रमाइला काममा ध्यान लगाउने, सिर्जनशील हुने, योगा गर्ने, आफूलाई सक्रिय राख्ने लगायत गरेर पनि मानसिक समस्याबाट जोगिन सकिन्छ,’ उनी भन्छन् । महामारीको बेलामा भौतिक दूरी कायम गर्नुपर्छ तर सामाजिक निकटता भने जोड्ने प्रयास गर्नुपर्नेमा उनले जोड दिए । बालबच्चाको सन्दर्भमा उनीहरूलाई सामाजिक सञ्जालबाट टाढा राख्न, अभिभावकसँग घूलमिल गराउन, मनोरञ्जनात्मक कार्यमा संलग्न गराउन सुझाउँछन् अमगाईं । यतिबेला अधिकांश बालबालिकाको अनलाइन मार्फत कक्षा सञ्चालन भइरहेको छ । नियमित कक्षा सञ्चालन नभएकाले यो आवश्यक त छ, तर प्रयोजनबेगर इन्टरनेट, सामाजिक सञ्जाल, गेम लगायतमा अत्यधिक समय विताउने ‘स्क्रिन टाइमिङ’ का सम्बन्धमा अभिभावकहरूले विशेष ख्याल गर्न सुझाउँछन् उनी । माथि उल्लेखित समस्याले आफ्नो व्यक्तिगत, पेशागत र सामाजिक जीवनमा असर पार्न थालेमा मनोविमर्शकर्ता, मनोचिकित्सक(साइकायट्रिस्ट) र मनोविदको सहयोग लिनुपर्ने उनको सुझाव छ ।