NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पूर्वपश्चिम राजमार्गस्थित अधिकांश पुलहरुमा दुर्घटनाको जोखिम बढ्यो

महोत्तरी, ११ कात्तिक पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी, धनुषा, सर्लाही लगायतका जिल्लामा रहेका पक्की पुल जिर्ण बन्दा दुर्घटनाको जोखिम  बढेको छ । ती ठाउँहरुमा रहेका सानाठूला नदी तथा खोल्साखोल्सीका पुल जीर्ण बनेका छन् । त्यस्ता जिर्ण बनेका पुलहरु समयमा मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको हो । महोत्तरी र धनुषासँग जोडिएको रातु तथा महोत्तरी र सर्लाहीसँग जोडिएको बाँके नदीसहित त्यसको बीचमा पर्ने १८ किलोमिटरभित्रका सबैजसो पुलमा ठूलठूला भ्वाङ्ग परेका छन् । रातु नदीका २०७५ सालमा बनेको नयाँ पुलमा अहिले सयौं ठाउँमा भ्वाङ्ग परेको छ । २५० मिटर लम्बाइ र १०.९०  मिटर चौडाइको सो पुल २०७५ असोजमा सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक वर्ष नपुग्दै २०७६ सालको प्रारम्भमै सो पुलमा भ्वाङ्ग पर्न लागेको थियो । अहिले यो पुलमा १०० भन्दा बढी ठूलठूला भ्वाङ्ग परेका हुन् । यो नयाँ पुल कालिका टु दी रसुवा जेवी कम्पनी काठमाण्डौले २४ करोड ६० लाख लागतमा बनाएको हो । रातु पुलमात्र नभएर जिल्लाभित्रका पूर्वपश्चिम राजमार्गमा पर्ने जङ्घा, टुटेश्वर, खयरमारा, गणन्ता, ढुङ्ग्रे, ढोलनखोला र बाँके नदीसहितका पुल पनि दिनानुदिन भ्वाङ्ग बढेर धराप बन्दै गएका छन् । यीमध्ये जङ्घा र मरहा क्रमशः दुई र तीन वर्षअघि पुनःनिर्माण भएका हुन् । यीबाहेक ससाना खोल्सीका पुलहरु पनि भत्कदैछन् । भब्सी नदीमा गतवर्षको बर्खामा लडाएको पुलको ठाउँमा अहिले बेलिब्रिजबाट आवागमन चलेको छ । कहिले हुन्छ मर्मत ? राजमार्ग र सडकको मर्मतसम्भारको जिम्मेवारी लिएका सडक डिभिजन कार्यालय मुजेलियाले यसपाली कोभिड–१९ सङ्क्रमणका सन्त्रासले यस्ता काम प्रभावित बनाएको स्वीकार गरेको छ । अब दिपावली र छठ पर्व सम्पन्न भएसँगै पुल र सडकको मर्मतसम्भारको काम थालिने डिभिजन कार्यालयले जनाएको छ । धेरै पुलको आयु खस्किसकेको छ । पुलमा प्रयोगमा आउने स्टिल विशेष खालको भएकाले लण्डनबाट खरिद गर्नुपर्ने प्राविधिकको भनाइ छ । राजमार्ग क्षेत्रमा बनाइने यस्ता पुलको औसत आयु ४० देखि ५० वर्ष भए पनि स्टिल ब्रिजमा आधारित पुल अहिले भाँचिन थालेका छन् ।