NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पैसा कमाउने ‘अख्तियार मोडल’ : पूर्वप्रमुखसँग एक अर्ब गैरकानुनी सम्पत्ति

काठमाडौँ । पत्ताउनै मुस्किल ! जसको जिम्मा देशमा भ्रष्टाचार रोक्ने र सुशासन कायम गर्ने हो उही गैरकानुनी कमाईमा लिप्त ! अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको हकमा यही भएको छ । पूर्व प्रमुख आयुक्त बस्न्यातसँग करिब एक अर्ब गैरकानुनी सम्पत्ति भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छानविनमा उनले विभिन्न व्यक्तिको नाममा लुकाएको सम्पत्ति फेला परेको हो । चर्चित ललिता निवास जग्गा हिनामिनाको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका बस्न्यातमाथि विभागले एक वर्षयता विशेष टिम बनाएर अनुसन्धान गरिरहेको छ । अहिले अनुसन्धान अन्तिम चरणमा पुगिसकेको विभाग स्रोत बताउँछ । उनको सबै चल अचल सम्पत्ति विभागले रोक्का राखिसकेको छ । ‘सुरुमा बस्न्यातको नाममा बत्तीसपुतलीको घर र एउटा गाडीबाहेक केही भेटिएन । श्रीमतीको नाममा पनि केही देखिएको थिएन,’ अनुसन्धानमा आबद्ध विभागका एक कर्मचारीले भने, ‘खोज्दै जाँदा एकै पटक स्रोत नखुलेको १७ करोड रुपैयाँ फेला पर्‌याे ।’ अन्य व्यक्तिको नाममा उनले सम्पत्ति राखेका थिए । सो पैसा भेटिएपछि तीनै व्यक्तिबाट ‘लिंक’ खोज्दै जाँदा करिब एक अर्ब सम्पत्ति भेटिएको विभाग स्रोत बताउँछ । छानबिनबाट पत्ता नलागोेस् भनेर उनले नाता नपर्ने व्यक्तिहरुको नाममा समेत धेरै सम्पत्ति लुकाएको पुष्टि भएको छ । उनीसँग भेटिएको करिब एक अर्ब गैरकानुनी पैसा २०६४ पछिको हो । खासगरी बस्न्यातले नेपाल सरकारको सचिव र अख्तियारको आयुक्त र प्रमुख आयुक्त हुँदा अत्याधिक गैरकानुनी काममार्फत् पैसा कमाएको भेटिएको छ । भौतिक मन्त्रालयको सचिव हुँदा उनी ललिता निवास जग्गा प्रकरणमा संलग्न थिए ।त्यतिबेला उनले गरेको निर्णयमाथि छानविन हुँदा उनीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा चलेको नौ महिना हुँदा पनि अहिलेसम्म उनी अदालतमा उपस्थित भएका छैनन् ।बस्न्यातले आफ्नै भाइ, छोरा, ज्वाइँ र एक मेनपावर व्यवसायीको नाममा पैसा लगानी गरेको भेटिएको हो । अनुसन्धानका क्रममा विभाग बस्न्यातले लगानी गरेको अन्य व्यक्तिहरुको नजिक पुगेको छ । विभागका एक अधिकारी भन्छन, ‘बस्न्यातविरुद्ध मुद्दा लैजान पुग्नेगरी प्रशस्त प्रमाणहरु संकलन भइसक्यो । अहिलेसम्मका विवरण र प्रमाणले उनीविरुद्ध करिब एक अर्ब धेरै बिगोको मुद्दा चल्ने देखिन्छ ।’ हाल सम्बन्धित व्यक्तिहरुसँग बयान तथा बुझ्ने काम भइरहेको विभाग स्रोत बताउँछ । मेनपावर व्यवसायी भिम रोकामार्फत बस्न्यातले करोडौं लगानी गरेको विभागको दाबी छ । रोका याक्खा मेनपावरका सञ्चालक हुन् । रोका पूर्व प्रमुख आयुक्त बस्न्यातका छोरा कमलका पार्टनर पनि हुन् । उनीहरुले मेनपावर मात्र नभर्ई पार्टी प्यालेस, पेट्रोल पम्प तथा जग्गाहरुमा लगानी गरेको पाइएको छ । छोरा कमलको नाममा मोर्गन ह्युमेन रिसोर्स कन्सलटेन्सी नामक मेनपावर कम्पनी समेत दर्ता छ । रोकामाथि समेत विभागले छानविन थालेपछि उनी गत असोजको अन्तिम साता नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाकै निवासमा गएर उनी देउवाको हातबाट खादा लगाएर पार्टी प्रवेश गरेका थिए । सो मुद्दाबाट जोगिनकै लागि उनी पार्टी प्रवेश गरेको स्रोत बताउँछ । आफूविरुद्ध उजुरी परेपनि छानविनमा नदेखिने गरी बस्न्यातले निकै चलाखीपूर्ण रुपमा आफ्नो नाममा वैध सम्पत्ति मात्र राखेका थिए । तर, सुराकी लगाएर विभागले लुकाएको सम्पत्ति पत्ता लगाएपछि मुद्दा रोक्न उनी चलखेलमा लागेका छन् । ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर भएका सबै व्यक्तिमाथि विभागले छानविन गरिरहेको छ । बस्न्यातले उनीमाथि भइरहेको अनुसन्धानबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । ‘मलाई यी विषयमा केही पनि थाहा छैन’ उनले नेपालवाचसँग भने, ‘जसले अनुसन्धान गर्छु भनेको छ उसैलाई सोध्नुस् ।’