NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेसमा फेरि पहिरो जान दिने की सच्चिने ?

पार्टीको विधानले निर्धारण गरेको समयअनुसार गत वर्ष फागुनभित्र नै कांग्रेसले १४ औं महाधिवेशन गरिसक्नुपर्ने थियो । तर, हामीले चार वर्षभित्र पार्टीको महाधिवेशन गर्न सकेनौं । पाँच वर्षमा पनि नसकेर हामी फेरि समय थप्ने तयारीमा छाै‌ं । चार वर्ष भित्रमा महाधिवेशन सकेर पार्टीलाई आन्तरिक रुपबाट व्यवस्थित गरेर आगामी निर्वाचनमा पार्टीको ध्यान केन्द्रित गर्नुपर्ने थियो । तर, हाम्राे नेतृत्वकाे ध्यान त्यतातिर गएन । हाम्रो पक्षमा अनुकूल परिस्थिति बनाउने गरी हामीले चार वर्षमा महाधिवेशन गर्न सकेनौं । महाधिवेशन नगराउनुपर्ने धेरै तर्क र कारणहरु पनि हामीसँग छैनन् । निर्धारित समयमा महाधिवेशन नहुनुमा पार्टी नेतृत्वले अग्रसरता नदेखाउनु भन्दा अरु कुनै कारण छैन । बिडम्वना विशेष र असाधारण परिस्थितिमा उपयोग गर्न मिल्ने एक वर्षको समयावधिलाई उपयोग गर्नुपर्ने अवस्थामा हामी पुग्याै‌ं । पार्टीको नियमित महाधिवेशन प्रकृयालाई पनि हामी अगाडि बढाइराख्ने भन्याै‌ं तर काम गरेनाैं । गत फागुनलगत्तै सुरु भएको कोभिड–१९ को महामारीमा नेपाल पनि अछुतो रहेन । सुरुमा कोभिडको आतंकले सबै नियमित प्रकृयाहरु अवरुद्ध हुनु स्वभाविक नै थियो । तर कोभिडसँग जुध्दै हाम्रा कामहरु अगाडि बढाउने अग्रसरता पनि हामीले देखाउन सकेनौँ । समयमा काम गर्न नसक्नुमा कोभिडको अलावा कुनै राजनितक कारणहरु छैनन् । सबै दोष र कारणहरु कोभिडलाई नै धुपारेका छौँ । तर कोभिडले गर्नैपर्ने कामहरु रोकिदैनन् भन्ने उदाहरण संसारमा अरु मुलुकहरुमा भएको निर्वाचनले पनि देखाएको छ । गम्भीर रुपमा प्रभावित भएको अमेरिकामा नोभेम्बरमा निर्वाचन हुँदैछ । त्यहाँका सबै गतिविधिहरु होसियारीपूर्वक कोभिडसँग जोडिएर अमेरिकी रज्यले, नागरिकहरुले सञ्चालन गरिराखेका छन् । त्यसैगरी कोरियामा पनि निर्वाचन सम्पन्न भयो । भारतको विहारमा विधान सभाको निर्वाचन सम्पन्न भयो । त्यत्रो करोडौको संख्यालाई व्यवस्थित गरेर आम चुनाव गर्न सक्ने संयन्त्र र राज्य प्रशासनको सफलता मान्नुपर्छ । हामीले चाहिँ जम्मा ४५ सय मतदाता भएको पार्टीको महाधिवेशन गराउन किन नसक्ने ? चार लाख ७० हजार क्रियाशील सदस्यको नवीकरण गर्न नसक्ने, क्रियाशील थप्न नसक्ने, वडा तहदेखि केन्द्रीय तहको निर्वाचन गराउन नसक्नु भनेको मनोवैज्ञानिक प्रवृत्ति हो । २०७७ सालभित्रनै महाधिवेशन गर्न सकेको खण्डमा हाम्रो प्रतिष्ठामा उठ्न लागेको प्रश्नको सकी नसकी काम चलाउ जवाफ दिन सक्ने अवस्था हुन्छ हामीसँग महाधिवेशन समयमै गर्नका लागि अग्रसरता, लगाव, अभिरुची, अठोट नै छैन । यो विशुद्ध हाम्रो कमजोरी हो । कमजोरीको कुरा आउनासाथ नेतृत्वको कुरा आइनैहाल्छ । महाधिवेशन समयमा नहुने अहिलेको कारणहरु यिनै हुन । आन्तरिक समस्या कति जिम्मेवार ? अर्काे कुरा आन्तरिक रुपमा विवाद चुलिएको छ । पार्टी विधानलाई पालना गर्ने, इमान्दारिपूर्वक कार्यान्वयन गर्ने कुरामा गम्भीर प्रश्न उठेको छ । मुखले फलाक्ने, सबै विषयवस्तुको अभिव्यक्ति दिने तर व्यवहार अनुकूल नगर्ने, गीत मात्र गाउने प्रणालीलाई लोकतन्त्र मानिदैंन । त्यो लोकतन्त्रको नाममा जालसाजी मात्रै हो । लोकतन्त्रलाई व्यहारले सिद्ध गर्नुपर्छ । पार्टी स्थापनाकालदेखि जुन विधानका व्यवस्थाहरुलाई हामीले नियमित रुपबाट पालना गर्दै आयौं । बीचमा आउने समस्याहरुलाई समाधान गर्दै आयौं । तर यसपटक ती समस्याहरु समाधान गर्नेतर्फ पनि अग्रसरता देखाइएको छैन । लोकतन्त्रमा नागरिकले उठाएको प्रश्न राज्यले सम्बोधन गर्नुपर्छ । राजनीतिक दलले कार्यकर्ताले, पार्टीको सदस्यले, पार्टीको जिम्मेवार पदाधिकारीले उठाएको प्रश्न, नेताहरुको बीचमा उठेका प्रश्न, पार्टीका साथीहरुले उठाएका प्रश्नहरुको उपयुक्त समाधान गर्नैपर्छ । यो बाध्यताकारी हुन्छ । सुनेको नसुनेझै गर्न पाइँदैन । यदि त्यसलाई नजरअन्दाज गरियो भने लोकतन्त्रको सही अभ्यास हुँदैन । आन्तरिक लोकतन्त्रले समग्र लोकतन्त्रको मर्मलाई सुनिश्चित गर्दछ । तर, हामी आन्तरिक विवादहरुमा रुमल्लियौं । केन्द्रीय समितिमा सदस्य थप्ने, भातृसंस्थाको कार्यकाल र यस भित्र उठेको विवादको विषय उठे । क्रियाशील सदस्यतामा विधान विपरीतका कार्यहरु भए । यीसहित अरु धेरै कुराहरु छन् यी सबै प्रश्नहरुको महाधिवेशन अगाडि निरुपण गर्नु आवश्यक छ । किनकी क्रियाशील सदस्यहरु नै पार्टीका मतदाता हुन् । हाम्रो पार्टी पद्धतिलाई पूर्ण लोकतान्त्रिककरण गर्न सकेका छैनौं । आम पार्टीका साथीहरुको कार्यकार्ताको भावनाअनुरुप पार्टी नेतृत्व छान्ने व्यवहारिक प्रत्याभूतिमा हामी खरो उत्रिएका छैनौं । हामी आफै मतदाता बनाउने र आफैँ नेतृत्वमा पुग्छौ । आफैँ मतदाता छान्ने र ती मतदाताले आफुलाई छान्ने । आफूलाई छान्ने व्यक्ति निश्चित भएपछि मात्र मतदाता छान्ने दुर्भाग्यपूर्ण यस्तो अभ्यास स्थापित भएको छ । यी सबै कुराहरुलाई सुधार्दै लोकतन्त्रको मर्मअनुसार गए मात्र सच्चा लोकतन्त्रवादी बन्न सकिन्छ । बाहिर देखाएरमात्र लोकतन्त्र प्रमाणित हुँदैन । यी उठेका सम्पूर्ण प्रश्नहरुलाई समाधान गर्न हामी अग्रसर छैनौं । जसकारण आगामी फागुनमा गर्ने भनिएको महाधिवेशन फेरी अनिश्चित भएको छ । यो वर्षलाई हामीले सदुपयोग गर्न सकेनौं । यो असाधारण परिस्थितिमा थपिएको समयलाई सदुपयोग गर्न चाहेनाैं । अहिलेको युगमा गाउँपालिका, नगरपालिकाका केन्द्रसम्म प्रविधिको पहुँच राम्रो छ । यो प्रविधिको युगलाई हामीले व्यवहारिक रुपमा सदुपयोग गर्न सकेनौं । त्यस्तो अग्रसरता देखाउन सकेको भए हामीले महाधिवेशनको निकै तयारी गरिसकेका हुने थियौँ । यसमा हाम्रो गति रोकिएको छ । संविधानले बचाउनुपर्ने बाध्यता आउँदो फागुनमा पाँच वर्षको अवधि पूरा हुँदैछ । पाँच वर्ष पछाडि पनि समय थपिनु भनेको अति गम्भीर विषय हो । संविधानले साढे पाँच वर्षभित्र राजनीतिक दलहरुको अधिवेशन गर्नुपर्छ भनेको हुँनाले मात्र हामीले गर्ने हो की त भन्ने प्रश्न पनि उठ्छ । यदि त्यो बाध्यकारी परिस्थिति नभए हामीले नगर्ने रैछौं भन्ने प्रश्न तेर्सियो अहिलेको प्रवृत्ति हेर्ने हो भने त हामीले नगर्ने रहेछौ । संविधानमा उल्लेख भएको बाध्यकारी व्यवस्थालाई मात्र हामीलाई धेकेलेको जस्तो भएको छ । यस्तो हो भने यो हाम्रो गलत प्रवृत्ति उजागार हुन्छ । त्यसैले हामीसंँग अरु विकल्प नहुँदा यो फागुनको महाधिवेशन चैत्र या वैशाखभित्र हामीले सम्पन्न गराउनैपर्छ । २०७७ सालभित्रनै महाधिवेशन गर्न सकेको खण्डमा हाम्रो प्रतिष्ठामा उठ्न लागेको प्रश्नको सकी नसकी काम चलाउ जवाफ दिन सक्ने अवस्था हुन्छ । २०७७ सालभित्र गर्न नसकेमा हाम्रो प्रतिष्ठामा गम्भीर प्रश्न उठ्छ । नेतृत्वले यो कुराको याद राख्नु पर्दछ । आवरणमा लोकतान्त्रिक व्यवहारमा निरंकुश संविधानले दिएको सीमासम्म नै पुगेर पार्टीको वैधानिकता बचाउनु भनेको दुखद अवस्था हो । राजनीतिक दल भनेको जनताको सच्चा प्रतिनिधिहरु हुन् । दलका गतिविधिहरुलाई नागरिकले सुक्ष्म रुपले अध्ययन गरिराखेको हुन्छ । दलको व्यवहार, नीति, सिद्धान्त, विचार सबै कुराहरुलाई हेरेर अभिमत वा विरोध जाहेर गर्ने हो । लोकतन्त्रवादी, र जनताको अनुकूल छौं भन्ने राजनीतिक दलले त्यसै अनुसार व्यवहार गर्नुपर्छ । पार्टी सञ्चालन गर्ने प्रवृत्ति हेरर आम निर्वाचनमा विश्वास गर्ने हो । पार्टी सञ्चालन प्रवृत्तिचाहिँ आवरणमा लोकतान्त्रिक तर सम्पूर्ण रुपबाट आन्तरिक व्यवहारचाहिँ निरंकुश भएपछि लोकतन्त्रको वकालत गरेको भनेर जनताले कसरी विश्वास गर्ने ? बोल्ने एकातिर व्यवहार अर्कोतिर भएपछि जनताले विश्वास कसरी गर्ने ? हामीलाई लाग्छ कि हामी लामो संघर्ष गरेका छौं अनि हामीले जे भन्छौ त्यो हो लोकतन्त्र हो । तर त्यो होइन सामान्य लोकतन्त्र बुझेको व्यक्तिले हामीलाई सिकाउने हो र त्यो हामीले ग्रहण गर्ने हो । आम निर्वाचनमा कसरी विश्वास गर्ने ? अब हामीबाट भएको यो कमजोरीलाई सुधार्न समय समायोजन गरेर २०७७ सालको चैत्र भित्र महाधिवेशन सम्पन्न गर्नु एउटामात्रै तरिका हो । नेतृत्वले टेरेन, दबाब पुगेन पार्टीमा प्रश्नहरु पनि पार्टी स्वार्थको विषयमा केन्दिता भएको भए दवाव प्रभावकारी हुने थियो । प्रश्न उठाउने पक्ष पनि स्वार्थमा अलमलिएको छ । स्थानीय तहको निर्वाचन अगाडि विधान बाहिर रहेर संसदीय बोर्ड गठन गरियो । १५ सदस्यीय बोर्ड जसमा पदाधिकारी, सदस्यहरु र संसदीय दलको हुन्थे । तर, भागबण्डामा यस्तो बोर्डको २५ सदस्यीय बनाइयो । सबै नेताहरुको स्वार्थलाई दृष्टिगत गरेर र कतिपय नेताहरुलाई अनुचित रुपमा पार्टीको योजनालाई प्रभावित पार्ने उद्देश्यका साथ त्यहाँ राखियो । समग्र पार्टी र कार्यकर्ताको हितको लागि होइन आफ्नो स्वार्थलाई लागू गर्न सहयोगीको रुपमा राखे । वास्तवमा नेपाली कांग्रेस हार्नुको कारण यही संसदीय बोर्ड पनि होे । अवैधानिक, ठूलो संसदीय बोर्डका सदस्यहरुको भूमिका निर्वाचन हार्नुमा सहायक भयो । यो संसदीय बोर्ड अवैधानिक छ तपाईंहरु यसमा नबस्नुस, इतिहासले तपाईंहरुलाई माफ गर्ने छैन भनेर मनोनयन भएकाहरुलाई हामीले हात जोडेर भन्यौ तर उहाँहरुले मान्नु भएन । यस्तो विधान मिचेर कार्यसम्पादन बनाउनेदेखि लिएर अरु विषयमा पनि विधान मिच्ने काम भयो । मिचाउने प्रश्न उठाएर विरोध गर्ने पक्ष पनि यसमा सहायक भयो । नेताहरु मिलेर विधानलाई सिरानी हालेर आफ्ना कामहरु गर्दै जाने प्रवृत्ति पार्टीभित्र देखियो । यी समस्याहरु क्रमिक रुपमा बढ्दै अहिले यो अवस्थामा पुगेको छ । अब थप गल्ती नहुनको लागि हामीले रोकिहाल्नुपर्दछ । नागरिक सचेत छन् उनीहरुले लोकतन्त्रको मर्ममूल्य, यसको विश्वव्यापी अभ्यास बुझेका छन् । भोलि प्रश्न उठाउँछन् । सच्चा लोकतन्त्रवादी व्यक्ति, दल, संस्थाले कसरी व्यवहार गर्नुपर्दछ भन्ने जनताले हामीलाई बुझाउँछन् । हामीलाई लाग्छ कि हामी लामो संघर्ष गरेका छौं अनि हामीले जे भन्छौ त्यो हो लोकतन्त्र हो । तर त्यो होइन सामान्य लोकतन्त्र बुझेको व्यक्तिले हामीलाई सिकाउने हो र त्यो हामीले ग्रहण गर्ने हो । राजनीतिक दल भनेको जनताको आदेश मान्ने हो । अब बढी गल्ती र क्षति हुन नदिन, प्रतिष्ठामा हुन सक्ने क्षति रोक्न यो २०७७ भित्र महाधिवेशन गर्नुपर्दछ । प्रतिष्ठामा क्षति हुन दियौं रोक्न सकेनौ भने फेरि आगामी निर्वाचनमा कांग्रेसमा पहिरो जानेछ । घिमिरे कांग्रेस केन्द्रीय सदस्य हुन्।