NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

विवाद नमिलेपछि तेस्रोपटक पनि सर्यो कांग्रेस बैठक

काठमाडौं । यस अघि दुई पटकसम्म स्थगित भएको कांग्रेस केन्द्रीय समितिको बैठक फेरि पनि सरेको छ । २१ कात्तिकका लागि भनेर बोलाइएको बैठक २४ कात्तिकका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस अघि नेताहरुलाई कोरोना देखिएपछि १९ असोजबाट २५ असोजका लागि बैठक सारिएको थियो । तर, २५ असोजमा पनि केन्द्रीय समिति बैठक बस्न सकेन । त्यसपछि २१ कात्तिकमा बस्ने गरी बैठक बाेलाइएकाे थियाे । मुख्य गरी पौडेल पक्षले अघि सारेको हस्ताक्षरसहितको १६ बुदे असहमतिपत्रमा कुरा मिल्न नसकेपछि कांग्रेस बैठक तेस्रो पटक पनि सरेको हो । पछिल्ला चार दिनमा दुईपटकसम्म पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यबीच बैठक डाकेर सहमति गर्ने प्रयास पनि सफल हुन नसकेपछि सहमतिको लागि प्रयास गर्ने भन्दै बैठक २१ बाट २४ कात्तिकका लागि सारिएकाे हाे । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सहमतिको प्रयासका लागि केन्द्रीय समितिको बैठक सार्नुपरेको जानकारी दिए । महाधिवेशनको मुखमा विभाग गठन विधान विपरीत भएको, सदस्यता र समायोजनमा संस्थापनले मनोमानी गरेको भन्दै आफूहरुका १६ बुँदामा परेका यस्ता मागलाई सम्बोधन गर्नुपर्ने माग पाैडेल पक्षकाे छ । ‘हामी दुई दिनसम्म बस्यौं तर, कुनै सहमति भएको छैन । सबैले पालैसँग बोल्न खोज्छन् । त्यसैले हामी सबैलाई समय दिएर भए पनि कुरा राख्न दिने र सहमतिमा पुग्ने कोशिश गरिरहेका छौं’ महतले नेपालवाचसँग भने, ‘अहिलेसम्म सहमति केही भएको छैन । उहाँहरु (पौडेल पक्ष)लाई आशंका र अविश्वास नै धेरै छ । हामी निष्पक्ष र पारदर्शी महाविधेशनको दिशामा अघि बढ्छौं ।’ याे पनि पढ्नुस् कांग्रेस बैठक : संस्थापनको अडान, पौडेल पक्षको ढिपी