NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

स्त्रीरोग विशेषज्ञ जागेश्वर गौतमकाे अनुभव : नेमप्लेट देखेर विरामी ढोकैबाट फर्किन्थे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन् डा. जागेश्वर गौतम । मन्त्रालयको प्रवक्ताको अतिरिक्त उनी स्त्री तथा प्रसुती रोग विशेषज्ञ पनि हुन् । स्त्री तथा प्रशुती सेवामा काम गरेको करिब २० वर्ष अनुभव संगालिसकेका छन् डा. गौतमले । यसबीचमा हालसम्म उनले २७ हजार शल्यक्रिया (अपरेसन) गरिसकेका छन् । आमा र शिशु गरेर ३५ हजार भन्दा बढीको ज्यान बचाईसकेका छन् । कैयौं निसन्तान दम्पत्तिलाई सन्तान दिलाइसकेका छन् । पुरुष भएर स्त्री तथा प्रशुती रोगसम्बन्धी काम गर्दा उनले कैयौं असहजता भोगेका छन् । पुरुष भएका कारण परीक्षणका लागि उनीकहाँ पुग्ने महिलाहरू असहज मान्ने, बीचैबाट फर्किने लगायतका स्थिति उनले भोगेका छन् । ‘जचाँउन आएका विरामी समेत नेमप्लेटमा पुरुष डाक्टरको नाम देखेर ढोकैबाटै फर्किन्थे,’ उनी आफ्ना अनुभव बताउँछन् । ‘टिभी अन्तर्वार्ताहरूमा जादाँ समेत महिला डाक्टरहरूलाई ३० वटा प्रश्न सोधिन्थ्यो भने मलाई जम्मा ५ वटामात्रै,’ गौतम भन्छन् । पछिल्लो समय भने आफ्नो पेसाप्रतिको मानिसहरूको दृष्टिकोण सकारात्मक हुँदै गएको उनी बताउँछन् । बच्चा पाउन नसकेर छटपटिएकी गर्भवती देखेपछि मोडिएको यात्रा त्यतिखेर गौतमले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट भरखर एमबिबिएसको अध्ययन पूरा गरेका थिए । एमबीबीएसपश्चात्त थप अध्ययनका लागि उनी अमेरिका जान चाहन्थे । उनका गुरु डा. बिके मान सिंहले पनि उनलाई एमबीबीएस अध्ययनपछि इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजीमा डिएम गर्न सुझाएका थिए । त्यसैले, गुरुको सल्लाहबमोजिम नै उनी अमेरिकामा मेडिकल लाइसेन्स प्राप्त गर्ने परीक्षा (युएसएमएलई)को तयारीमा जुटेका थिए । अमेरिका जानुअघि साथीहरूसँग उनी कर्णाली घुम्न निस्के । यात्राका क्रममा उनले मुगुमा एकजना १६ वर्षे किशोरी बच्चा पाउन नसकेर छटपटाएको हृदयविदारक दृष्य देखे । ‘डोकोमा हालेर गमगढी ल्याउँदै गरेकी ती महिला प्रसवपीडाले छट्पटाएको देख्दा मेरो मन यति विचलित भयो कि रातभरमा अमेरिका जाने इच्छा नै हराएर ती महिलाहरूको लागि स्वदेशमै केही गर्ने हुटहुटी जाग्यो,’ उनी भन्छन् । यसपछि उनको बाटो मोडियो ! उनले अमेरिका जाने योजना त्यागे । यो घटनापछि कर्णाली यात्रा छोट्याएर गौतम काठमाडौं फिरे । काठमाडौं आएर उनले नेपालमै बसेर एमडीको प्रवेश परीक्षाको तयारी सुरु गरे । यसका लागि उनले स्त्री तथा प्रसुती विषय नै रोजे । प्रवेश परीक्षामा पनि उनको नाम एक नम्बरमै निस्कियो । पत्नी नुतन ढुंगानाले उनलाई उक्त विषय नपढ्न सुझाएकी थिइन् । तर, गौतमले निर्णय लिइसकेका थिए । अन्ततः उनी अध्ययन पूरा गरेर स्त्री तथा प्रसूती डाक्टर नै बने । उनले त्रिभूवन विश्वविद्यालयबाटै स्त्री तथा प्रसुती रोग विषयमा एमडी तहको अध्ययन पूरा गरे । ‘इन्फर्टिलिटी एण्ड लेप्रोस्कोपी’ मा इन्स्टिच्यूट अफ रिप्रोडक्टिभ मेडिसिन, कोलकत्ताबाट ६ महिनाको फेलोशिप पनि गरे । त्यसबेलाको पुरुष प्रधान समाजमा महिलाको डाक्टर हुनु चुनौतीपूर्ण थियो । स्त्री तथा प्रसुती रोग विशेषज्ञ भएकै कारण डा. गौतमले केही वर्ष समस्या पनि झेले । प्रसुती अस्पतालदेखि मन्त्रालयसम्मको यात्रा प्रस्तुतीको खरोपनका कारण जति विवादित छन्, काम र व्यवहारमा भने गौतम त्यस्ता छैनन् ।मन्त्रालयको जिम्मेवारी सम्हाल्नु अघि उनी थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा निर्देशक थिए । अस्पतालमा छँदा उनले विभिन्न सुधारात्मक काम पनि गरेका थिए ।उनकै पालामा अस्पतालले वार्षिक आम्दानी नौ करोडबाट बढाएर १५ करोड रुपैयाँ पुर्यायो । एमडीमा विद्यार्थी संख्या ६ जनाबाट बढाएर २० जना पुर्यायो । एक वर्षे नर्सिङ विषयको अध्यापन सुरु गर्यो । पेट चिरेर गर्नुपर्ने अपरेशन दुर्विनबाट गर्ने व्यवस्थाको सुरुवात गर्यो । अस्पतालबाट निस्कने अस्पतालजन्य फोहरको व्यवस्थापन गर्यो । अहिले प्रसुती अस्पतालले त्यही फोहर व्यवस्थापन गरेर वार्षिक सात लाख रुपैयाँ आम्दानी गर्दै आएको छ । उनकै पालामा प्रसुती अस्पतालमा ‘इइचएस’ सेवा सञ्चालन भयो । त्यसो त डा. गौतम प्रसुती गृहमा आउनुअघि पनि मन्त्रालयमै थिए । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको पालामा उनी मन्त्रालयमा थिए । उनकै अगुवाईमा मन्त्रालयले ‘इएचएस’ तथा ‘पेइङ’ सेवाको सुरुवात गरेको थियो । उनको कार्यशैली देखेर नै तत्कालीन मन्त्री अधिकारीले उनलाई परिवार स्वास्थ्य महाशाखाको जिम्मेवारी दिन चाहेका थिए । तर, उनले महाशाखाको ठाउँमा प्रसुती तथा स्त्री रोग अस्पताललाई रोजे । त्यसबेला प्रसुती अस्पतालमा पूर्वसचिव डा. पुष्पा चौधरी निर्देशकका रुपमा कार्यरत् थिइन् । चाैधरीलाई स्वास्थ्य सेवा विभागमा सरुवा भएपछि उनको स्थानमा गौतम गएका थिए । कांग्रस नेता गगन थापा स्वास्थयमन्त्री छँदा डा. गौतम प्रसुती अस्पतालमै थिए । मन्त्रीसँग कुरा नमिलेपछि उनले निर्देशक पदबाट राजिनामा समेत दिएका थिए । दिपक बोहरा स्वास्थ्यमन्त्री भएपछि उनलाई पुनः प्रसुती गृहको निर्देशकमा नियुक्त गरिएको थियो ।कोरोना महामारी बढ्दै गएका बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालय बोलाएपछि कुन पदका लागि हो भन्नेसमेत नसोधी खुरुखुरु आफू मन्त्रालय आएको उनी बताउँछन् । ‘म इमान्दार थिएँ, मिहिनेती थिए । म सही काम गर्छु र कसैसित डराउँदिन भन्ने मन्त्रालयका कर्मचारीलाई राम्रै जानकारी थियो,’ गौतमले भने, ‘त्यसैले कोभिड संकटको बेला काम गर्ने मान्छेको खोजी हुदाँ सबैले मेरो नाम सिफारिस गरेपछि सायद बालुवाटारमा पनि कुरा भयो र मलाई मन्त्रालय बोलाइयो ।’ मन्त्रालय आएपछि उनलाई सुरुमा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी तोकियो । लगत्तै मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइयो । खरो प्रस्तुतीले निम्त्याएको आलोचना मन्त्रालयको प्रवक्ताको हिसाबले नियमित कोरोना संक्रमणको अपडेटमा आउन थालेदेखि यसअघि उनको नाम नसुन्नेले पनि उनलाई चिने । यद्यपि, कोरोना अपडेट अहिले रोकिएको छ । धेरैले उनलाई उनीअघि मन्त्रालयको प्रवक्ता रहेका डा.विकास देवकोटासँग तुलना गरेर हेरे । देवकोटाको भद्र र नरम प्रस्तुतीका अघि उनको प्रस्तुतीलाई धेरैले रुचाएनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देवकोटालाई हटाएर उनलाई प्रवक्ताको भूमिका दिए । उनी गत २३ जेठमा मन्त्रालयको प्रवक्तामा नियुक्त भएका थिए । कोरोनाको राष्ट्रिय अद्यावधिक विवरण पेश गर्ने क्रममा हडबडाएको भन्दै पहिलो दिन नै उनले आलोचना खेपे । कोरोना अपडेटका लागि आयोजित प्रेस ब्रिफिङका क्रममा ‘सरकारले एक जना कोरोना संक्रमितलाई एक लाख भन्दा बढी रकम खर्च गर्दै आएको छ, लक्षण नदेखिएसम्म अस्पताल नआउनू, सास फेर्न अप्ठेरो भए वा बेहोस हुने जस्तो भएमात्र अस्पताल आउन÷जानू’को उनको अभिव्यक्तिलाई धेरैले हाँसिमजाक गरी उँडाए । सरकार र मन्त्रालयका तर्फबाट विभिन्न अभिव्यक्ति दिँदा उनी पटक–पटक विवादमा पर्दै आएका छन् । लागेको कुरा भनिहाल्ने, ठाडो अनि खरो उनको प्रस्तुती शैलीलाई हेरेर अधिकांशले उनीप्रतिको धारणा बनाएका छन् । नकारात्मक टिप्पणी पढ्दा लाग्छ – म चर्चित भएछु गौतम आफूबारे सामाजिक सञ्जाल लगायतमा आउने टिप्पणीबारे अद्यावधिक हुन्छन् । तर, अपजस आउँछ भन्ने थाहा भएर पनि होला उनलाई आफूबारेका नकारात्मक टिप्पणीले खासै असर गर्दैन । ‘नकारात्मक टिप्पणी देख्दा बरु म चर्चित भएछु कि भन्ने पो लाग्छ ! उनी भन्छन् । अहिले संसारकै नागरिक सरकार विरोधी भएको बेला नेपालका नागरिक पनि सरकार विरोधी हुनु नौलो नभएको उनको तर्क छ । ‘कोरोनाले गर्दा सरकारको अनुहार भनेको स्वास्थ्य मन्त्री भएको छ, स्वास्थ्य मन्त्रालयमा पनि देखिने अनुहार डा. जागेश्वर गौतम भा छ,’ उनी भन्छन्, ‘कसले मेरो समर्थन गर्छ र कसले विरोध गर्छ भन्ने कुरामा अल्झेर बसेर त हुन्न नि !’ यद्यपी, मानिसहरूबाट आउने नकारात्मक टिप्पणीलाई आफूले सकारात्मक रुपमै लिने उनी बताउँछन् । अपजस आउँछ भन्ने थाहा भएकोले मानिसहरूले नबुझेर नै टिप्पणी गरे होलान् भन्ने उनलाई लाग्छ । ‘मैले एमडी गर्दासम्म तिनीहरू जन्मेका पनि थिएनन्, मलाई चिनेका/जानेका पनि छैनन्,’ उनी भन्छन्, ‘नचिनेका/नजानेकाले जे जाने, जसरी चिने त्यसरी नै बुझे यसमा मेरो के गल्ती ?’