NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

को हुन् अमेरिकाको सबैभन्दा वृद्ध ७८ वर्षका राष्ट्रपति बाइडेन ?

अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पमाथि विजय प्राप्त गरी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । ७८ वर्षका उनी अमेरिकाको सबैभन्दा पाको उमेरका राष्ट्रपति भएका छन् । यस अघि ट्रम्प ७० वर्षमा सबैभन्दा पाका राष्ट्रपति भएका थिए । २५३ इलेक्टोरल मत प्राप्त गरेको झण्डै तीन दिनपछि पेन्लिसभेनियाको २० इलेक्टोरल मत प्राप्त गरेपछि बाइडनले डोनाल्ड ट्रम्पलाई पराजित गर्न सफल भएका हुन् । यही २० मतले बाइडनको निर्वाचित हुने २७० मत कटेको हो । अझै केही राज्यको मतगणना जारी छ । यस्तोमा उनको मत अझै बढ्नेछ । ५३८ इलेक्टोरल मतमा बहुमत अर्थात २७० मत ल्याउने निर्वाचित हुन्छन् । ट्रम्पको पार्टी रिपब्लिकनको परम्परागत राज्यमा जित हात पार्दै बाइडेन निर्वाचित भएका हुन् । जित्ने क्रममा सबैभन्दा धेरै ५५ इलेक्टोरल कलेज भएको क्यालिफोर्नियाको मत हात पार्नु नै बाइडेनको जितको प्रमुख आधार बन्यो । को हुन बाइडन ? बाइडनले अमेरिकाको ४४ औ राष्ट्रपति बाराक ओबामाका पालामा उनले सन् २००९ देखि २०१७ सम्म उपराष्ट्रपति भएर काम गरेका थिए । बाइडनको पूरा नाम जोसेफ रोविनेट बाइडन जुनियर हो । उनको जन्म २० नोभेम्बर १९४२ मा पेन्सेल्भिानियाको स्क्र्यान्टन शहरमा भएको हो । उनको पिता जोसेफ बाइडन सिनियर र आमा युजेनिया ‘जीन फिननेगन’ हु्न् । बाइडनको दुई श्रीमती र चार सन्तान छन् । क्रिमससका बेला क्रिसमस रुख खरिदका क्रममा स्न् १९७२ मा भएको एउटा कार दुर्घटनामा परी उनको पहिलो पत्नी र छोरीको निधन भएको थियो । बाँकी दुई सन्तान गम्भीर रुपले घाइते भएका थिए । बाइडनको सन् १९७७ मा जिल बाइडनसित दोश्रो विवाह भएको थियो । दोश्रो श्रीमतीबाट उनको छोरी एलिशको जन्म भएको थियो । ३० मे २०१५ मा ब्रेन ट्युमरका कारण उनको पहिलो पत्नीका सन्तान बीउ बाइडनको ४६ वर्षको उमेरमा निधन भएको थियो । बाइडन अमेरिकाका सफल राजनीतिज्ञ हुन् । उनी लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन् । त्यसैले पनि उनको राजनैतिक करियर रोमाञ्चक रहेको छ । उनी अमेरिकाको डेलावेर राज्यका पूर्व सिनेटर पनि हुन् । २९ वर्षको उमेरमा उनले सन् १९७३ देखि २००९ सम्म डेलावरको सिनेटर भएर काम गरेका थिए । उनी कम उमेरमा सिनेटर बन्ने अमेरिकाको इतिहासमा पाचौ नम्बरका सिनेटर समेत हुन् । बाइडनले सन् १९७०–१९७२ सम्म न्यू क्यासल काउन्टीको काउन्सिल सदस्य भएर समेत काम गरेका थिए । बाइडनले स्क्र्याटनको सेन्ट पल एलिमेन्टी स्कुलबाट प्राथमिक तहको अध्ययन पूरा गरेका छन् । १३ वर्षको उमेरमा उनको परिवार डेलावेयरको मेफिल्डमा बसाई सरेको थियो । त्यहाँ उनले सेन्ट हेलाना स्कुलमा आफ्नो पढाई निरन्तरता दिएपनि उनी आर्कमेर एकेडेमीमा आफ्नो अध्ययन पूरा गर्न चाहन्थे । आर्कमेर एकेडेमीक खर्च उठाउन बाइडनले आफ्नो स्कुलको झ्याल ढोका पुछ्ने तथा बगैचाको सरसफाई गर्थे । बाइडनले डेलावेयर विश्वविद्यालयबाट इतिहास र राजनीति शास्त्रनको अध्ययन पूरा गरेका छन् ।बाइडनले सन् १९६८ मा स्कुल अफ लबाट कानुनमा स्नातक तहको अध्ययन पूरा गरेका छन् । उनले डेलावेयरको विलिंटनमा एक ल फर्ममा प्राक्टिस सुरु गर्नुका साथै डेमोक्रेटिक पार्टीको सक्रिय सदस्यका भएर समेत काम गरेका छन् । जो बाइडन अमेरिकी पूर्व राष्ट्रपति जोन एफ केनेडीबाट प्रभावित छन् । उनीबाट प्रभावित भएर नै बाइडन राजनीतिमा लागेका थिए । सन् १९७० मा उनलाई न्यूक्यासल काउन्टी काउन्सिलको लागि मनोनित गरियो । त्यहाँ काम गर्दागर्दै उनले आफ्नै ल फर्म समेत सञ्चालन सुरु गरेका थिए । सन् १९७२ मा उनले पहिलो पटक सिनेटरको चुनाव जिते । त्यसपछि लगातार छ वर्षसम्म सोही पदमा चुनाव जितिरहे । सिनेटमा छदाँ जो बाइडनले लामो समय विदेश सम्बन्ध समितिको अध्यक्ष भएर काम गरे ।उनले विदेशी निकायको प्रमुख विदेश नीति विशेषज्ञका रूपमा समेत सम्मान कमाए । विदेश नीतिमा उनले सोभियत संघसँग हतियार प्रतिबन्धको सीमितताको पक्षमा वकालत गर्न, बालकन युद्धमा शान्ति र स्थायित्वको प्रवद्र्धन गर्न, नाटोको विस्तारलाई पूर्व सोभियत(ब्लाक राष्ट्रहरुमा सामेल गर्न र पहिलो खाडी युद्धकोविरूद्ध सम्मिलित रहेर महत्वपूर्ण भूमिका खेले । उनले डार्फर नरसंहार अन्त्य गर्न अमेरिकी कारवाहीको लागि आह्वान गरे र राष्ट्रपति जर्ज डब्लु बुशले इराक युद्धलाई सम्बोधन गरेकोमा २००७ मा सेनाप्रति नरम बाेलेका थिए । बाइडन कडा अपराध कानूनका समर्थक समेत हुन् । उनकै पहमा अमेरिकामा थुप्रै अधिकारका लागि सजायँ थप गरिएको थियो भने सन् १९९४ मा बाइडनले हिंस्रक अपराध नियन्त्रण र कानून प्रवर्तन ऐनलाई प्रायोजित गरी १०,००,००० पुलिस अधिकारीहरू थपेका थिए । बाइडनले १९८८ तथा २००८ मा डेमाक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गराएका थिए । तर दुर्वै पटक उनलाई असफलता हात लाग्यो । सिनेटमा हासिल गरेको लामो अनुभवका बाबजुद उनले हिलारी क्लिन्टन र बराक ओबामाको बाहुल््य रहेको क्षेत्रमा आइवा कन्ससमा एक प्रतिशत भन्दा कम भोेट प्राप्त गरेपछि उनी चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका थिए । तर २० जनवरी २००९ मा बाराक ओबामा ४४ औं अमेरिकी राष्ट्रपति बनेपछि उनलाई अमेरिकाको ४७ औं उपराष्ट्रपतिमा मनोनयन गरिएको थियो । उपराष्ट्रपतिको कार्यकालमा बाइडनले अधिकांश समय पर्दा पछाडि बसेर राष्ट्रपतिको सल्लाहकारको भूमिका निर्वाह गरे । इराक र अफगानिस्तानसम्बन्धी संघीय नीति निर्माण गर्न तथा सन् २०१० मा संयुक्त राज्य अमेरिका र रूसी संघबीच नयाँ रणनीतिक हातहतियार कटौती सन्धी पारित गर्नसमेत उनले महत्वपूर्ण भूमिका खेले । सन् २०१२ मा भएको अर्को राष्ट्रपति चुनावमा ओबामा राष्ट्रपति र बाइडन पुन उपराष्ट्रपतिमा मनोनित भए । त्यसपछिका वर्षहरुमा उपराष्ट्रपति कति शक्तिशाली हुन्छ भनेर बाइडनले देखाए । त्यसबेला कर वृद्धि र खर्चमा कटौती गरेर अमेरिकाको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेले । उपराष्ट्रपति हुदाँ नै उनले बन्दुकको नियन्त्रणको बारे राम्रै बहस चलाए । सन् २०१६ को आम चुनावमा उनले राष्ट्रपतिको चुनावका लागि दौड लगाए । तर छोराको अचानक भएको मृत्युका कारण उनी चुनावी प्रकृयाबाट पछि हट्न बाध्य भए । यद्यपी, सन् २०१७ मा अमेरिकाको ह्वाइट हाउसमा भएको एक विशेष समारोहमा बाराक ओबामाले बाइडनलाई ‘अमेरिकाका सर्वश्रेष्ठ उपराष्ट्रपति’ र अमेरिकाको शेर को उपमा दिएका थिए ।बाइडनले सन् २०१७ मा एक अन्तर्वार्तामा २०२० को चुनाव ड्रमोक्रेटिक पार्टीले नै जित्ने घोषणा गरेका थिए । उनै बाइडन सन् २०२० मा आधिकारिक रूपमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार बन्न पुगे । जो बाइडनको हालको कमाई नौ मिलियन डलर रहेको छ । तारा रेडेले सन् २०२० मा जो बाइडनलाई बलात्कारको आरोप लगाएकी थिइन् । सन् १९९३मा जो बाइडनले उनको बलात्कार गरेको ताराको आरोप थियो । महिलासँगको सम्बन्धमा उनको कमजोरीका समाचार बेलाबेलामा आउँछन् । तर, उनी सर्वसाधारणसँग सहजै घुलमिल हुने थोरै नेताहरुमध्ये पर्छन् । त्यसबाहेक, बाइडनलाई ब्रिटिस लेभर पार्टीका निल किन्नाकको भाषणको चोरीको समेत आरोप लागेको छ । बाइडनले ल को पढाईका क्रममा पहिलो सेमेष्टरमा उक्त लेख चोरी गरेको स्वीकारिसकेका छन् ।एजेन्सीको सहयोगमा