NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ब्रह्मपुरी गाउँपालिकामा विद्यार्थीलाई विद्यालय जान प्रतिवन्ध

विद्यालयमा सशस्त्र सुरक्षाकर्मी पस्नु नै कानुनी रूपमा गलत हो, तर सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ५ सखुहवास्थित प्राथमिक विदालय भवनमा सशस्त्र प्रहरीले पोस्ट नै खडा गरेर बसेको छ । विद्यालयलाई काँडेतारले घेरिएको छ भने बालबालिका पढ्ने मैदानमा सशस्त्र फौजले परेड खेल्न थालेको छ । ६ कात्तिकमा विद्यालय रहेको भवनमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको हो । गाउँपालिका कार्यालयले निर्णय नै गरेर दिएपछि स्कुलको भवनमा सुरक्षाकर्मी आएर बसेका हुन् । विद्यालयका सम्पूर्ण फाइल एउटा कोठामा थुपारिएको छ । विद्यालयमा विद्यार्थीलाई निषेध छ । प्रधानाध्यापक शेष सबिर अहमद विद्यालय पुग्छन्, आफ्नो हाजिर गर्छन् र फर्कन्छन् । किनकी विद्यालयमा काँडेतार लगाएर सुरक्षाकर्मी बसेका छन् । काँडेतारले घेरेर विद्यार्थीलाई बाहिर पठाइएको छ र हतियारसहित सुरक्षाकर्मी बसेका छन् । प्रधानाध्यापक अहमदका अनुसार उक्त विद्यालय बन्द भए बालबालिका अब अर्को विद्यालय जानुपर्नेछ । जो टाढा जान सक्दैनन्, उनीहरूका लागि शिक्षा अब सपना मात्र हुनेछ । ब्रह्मपुरी गाउँपालिकाकाले बालबालिकालाई धर्मशालामा राखेर पढाउने भन्दै विद्यालयमा सुरक्षाकर्मी राख्न सहमति दिएको हो । ‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्नु ठीक हो । तर, सरकारले एउटा पोस्ट स्थापना गर्न सक्दैन ? बालबालिकाको कक्षाकोठा नै हत्याउनुपर्छ ? ’ स्थानीय अभिभावक विद्यानन्द यादवको प्रश्न सहितको समाचारलाई नयाँ पत्रिका दैनिकले प्रमुख समाचार बनाएको छ ।