NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कोरोना महामारीले थलियो पर्यटन : के गरे मन्त्री योगेश भट्टराईले ?

काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि गत ११ चैतदेखि नेपालमा बन्दाबन्दी (लकडाउन) सुरु भयो । यसको एक साताअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई ‘नेपाल कोरोनामुक्त छ’ भन्दै भ्रमण वर्षको प्रचारमा व्यस्त थिए । कोरोनाले महामारीको रुप लिएसँगै नेपाल आउने चिनियाँ पर्यटक घट्न थालेपछि उनी ‘कोरोनामुक्त नेपाल’ को ब्रान्डिङ गर्दै चिनियाँ पर्यटकको विकल्पमा पश्चिमी मुलुकबाट पर्यटक डाक्दै थिए । लगत्तै नेपालमै लकडाउनको घोषणा भयो । नेपाल भ्रमण वर्षको व्यापक प्रचारमा लागेका उनी एकाएक भ्रमण वर्ष स्थगित गर्नतिर लागे । कोरोना संक्रमणको अकल्पनीय स्थिति आइलागेपछि सरकारले अघि सारेका योजना कसरी तुहिए भन्ने उदाहरण हो यो । पर्यटनमा कति भयो नोक्सानी ? नेपालमा लकडाउन सुरु भएपछि यसको सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रमा पर्यो । किनकी यसका लागि पर्यटक नेपाल आइदिनुपयो या आन्तरिक रुपमा पनि मानिसहरूको चहलपहल बढ्नुपर्थ्याे । तर, लकडाउनका कारण बाह्य पर्यटक आउने र आन्तरिक रुपमा मानिसहरूको चहलपहल हुने दुवै कुरा ठप्पै भयो । यसले पर्यटकको भारी बोक्ने भरियादेखि करोडौं लगानी गरेका होटल व्यवसायीसम्मको रोजीरोटी र व्यवसायमा धक्का लाग्यो । कोरोना महामारीका कारण लकडाउन यता पर्यटन क्षेत्रमा मासिक १० अर्बको क्षति पुगेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । यस हिसाबमा लकडाउनयताको करिब आठ महिनामा झण्डै ८० अर्बको क्षति पर्यटन क्षेत्रले व्यहोरेको छ । बोर्डका अनुसार होटलतर्फ ६८ हजार, ट्राभलमा ४० हजार, ट्रेकिङ तथा पर्वतारोहणका ५१ हजार र वायुसेवामा कार्यरत् करिब चार हजारको रोजगारी जोखिममा छ । महामारीका कारण यतिबेला होटल, ट्राभल, ट्रेकिङ तथा पर्वतारोहण र एयरलाइन्सको करिब १७ अर्बको लगानी संकटमा छ । गत वर्षको तुलनामा यो वर्ष पर्यटन क्षेत्रले १२ प्रतिशत बढी आम्दानी गर्ने लक्ष्य राखिएको थियो । तर, यसको विपरित महामारीले गत वर्षको तुलनामा आम्दानी १९ प्रतिशतमा झारिदियो । व्यवसायीका मर्का गत डिसेम्बरमा छिमेकी मुलुुक चीनमा कोरोना भाइरसको महामारी सुरु हुनेबित्तिकै नेपालमा पर्यटक आगमन ७० प्रतिशतले घटेको नेपाल पर्यटन बोर्डको आकलन छ । बोर्डका अनुसार मार्चसम्म आइपुग्दा नेपालमा पर्यटक आगमन शून्यमा झर्याे । पर्यटकको आगमन घट्नेबित्तिकै पर्यटन क्षेत्र शिथिलतातर्फ गयो । हवाइ सेवामार्फत आउने ८० प्रतिशत पर्यटक सीधै पुग्ने ठमेल पनि दिउसै सुनसान हुन थाल्यो । ठमेल पर्यटक विकास परिषद्का उपाध्यक्ष राजुमान डंगोल सम्झिन्छन्, ‘त्यत्तिको सुनसान त मैले यसअघि कहिल्यै अनुभव गरेको थिइनँ ।’ आयस्रोतको बाटो ठप्पै भएपछि कर्मचारीलाई तलब खुवाउन र घरभाडा तिर्न पनि व्यवसायीलाई हम्मेहम्मे भयो । उनीहरूले सरकार गुहारे । वाणिज्य बैंकमार्फत एक वर्षसम्मका लागि दुई प्रतिशतमा ऋण दिन गरेको आग्रह पनि अहिलेसम्म सरकारले सुनेको छैन । सरकारी पहल कोरोना महामारीबाट थङथिलो भएको पर्यटन क्षेत्रलाई राहत दिन सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ को मा डेढ खर्बको बजेट छुट्याएको छ । चालू खर्चको लागि ५० अर्ब ऋण प्रवाह गर्ने र एक खर्बको पूर्ण कर्जा दिनेगरी छुट्याइएकोमा उक्त राहत प्याकेज वितरण गर्न कार्यविधि अझै बनेको छैन । कोरोनापछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि व्यवसायीलाई डाकेर छलफल अघि बढाइएको बताउँछन्, मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईं । ‘व्यवसायीहरूलाई कसरी सहुलियत दिन सकिन्छ भनेर राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग दर्जनौं छलफल र गोष्ठी गरिएका थिए,’ उनी भन्छन् ।तर, यस्तो सहुलियत व्यवसायीले हालसम्म पाउन सकेका छैनन् । ‘सिंगो पर्यटन क्षेत्रमात्र नभएर अन्य धेरै क्षेत्र पनि जोडिएका छन्, नीतिगत रुपमा अर्थ मन्त्रालय र राष्ट्र बैंकले यो विषयको टुंगो लगाउने हो,’ मन्त्रीका स्वकीय सचिव गुरागाईं भन्छन्, ‘मन्त्रीज्यूको एकल प्रयासबाटमात्रै सबै सम्भव हुँदैन ।’ मन्त्रालयका प्रवक्ता कमल भट्टराईका अनुसार राहत प्याकेजबारे कार्यविधि बनाएर मन्त्रालयले राष्ट्र बैंकमा पठाएको छ । राहत प्याकेजमा कर छुुट दिने, ऋणकोे ब्याजदर घटाउनेलगायतका विषय उल्लेख भएको मन्त्रालय बताउँछ । तर, राष्ट्र बैंकले उक्त विषयलाई अझै टुंग्याउन सकेको छैन । कोरोना महामारीको असर कम गर्न आफूले गर्न सक्ने प्रयास गरेको मन्त्रालयको दावी छ । नेपाल एयरलाइन्समार्फत विदेशमा रहेका कोरोना संक्रमितलाई स्वदेश ल्याउने, कोरोना विरामीको उद्वार गर्ने, विमानस्थलमा हवाई कम्पनीलाई पार्किङ छुट दिने लगायतका प्रयत्न गरिएको मन्त्रालय बताउँछ । पहिलो चरणको लकडाउन हुँदा नेपालमा पनि महामारी फैलिने देखिएपछि क्वारेन्टाइन व्यवस्थापन गर्नतिर लागिएको मन्त्रालयका स्वकीय सचिव गुरागाईं बताउँछन् । ‘नेपालमा पनि महामारी फैलिने सम्भावना देखिएपछि चैतदेखि त उहाँ शनिबार पनि व्यस्त रहनुहुन्थ्यो,’ गुरागाईंले भने, ‘सुरुमा क्वारेन्टिन व्यवस्थापनको संयोजक नै मन्त्रीज्यू हुनुहुन्थ्यो । नगरकोट, जनमैत्री अस्पताल, पशुपतिका धर्मशाला र काठमाडौं तथा नगरकोटको होटलहरू क्वारेन्टिन बनाउनेतिर जुट्नुभयो ।’ सचिवालयका अनुसार योगेश भट्टराईले लकडाउनका अवधिमा गरेका काम  भ्रमण वर्षको स्थगन र विघटन लकडाउनका कारण नेपालमै थुनिएर बसेका विदेशी पर्यटकको उद्वार लामो समय ‘ग्राउन्डेड’ भएका जहाजको पार्किङ शूल्क मिनाहा चार्टर्ड फ्लाइटमार्फत् विदेशमा अलपत्र नेपालीको उद्वार र स्वदेश फिर्ता कोभिडको लागि स्वास्थ्य प्रोटोकल बनाउने नियमित फ्लाइट सुचारु, प्रोटोकल जारी गरी होटल लगायतका पर्यटकीय क्षेत्र खुलाउने पर्यटन क्षेत्रले व्यहोरेको क्षति कम गर्न राहतको प्रयास राज्यबाट अपेक्षित सहयोग पाएनौं—व्यवसायी कोरोना महामारीको संकटमा राज्यबाट पाउनुपर्ने सहयोग नपाएको व्यवसायीको गुनासो छ । पर्यटन क्षेत्रको आजसम्मको विकास निजी क्षेत्रले नै गरेको दावी गर्दै नेपाल एएसोसियसन अफ ट्राभल एण्ड टुर्स (नाट्टा)का अध्यक्ष अच्यूत गुरागाईं भन्छन्, ‘पर्यटन क्षेत्रको जिम्मेवारी भोेलि पनि निजी क्षेत्रकै काँधमा हो, तर यस्तो बेला गर्न सक्ने काम पनि राज्यले गरेन ।’ व्यवसायीका लागि राहत प्याकेज ल्याएर तुरुन्तै कार्यन्वयन गर्नुपर्ने उनको भनाइ छ । राज्यले पर्यटन क्षेत्रको लागि छुट्याएको बजेट कार्यान्वयन गर्न अब निकै ढिला भइसकेको बताउँछन्, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष दीपक महत । ‘कति व्यवसायीहरू बैंकको मेसेजका कारण डिप्रेसनमा पुगिसके,’ उनी भन्छन्, ‘यस्तो बेला व्यवसायीलाई राहत मिल्नेगरी सरकारले सम्बोधन गर्नुपर्छ ।’ कोरोना सुरु हुँदाको समयमा भन्दा अबको केही महिनामा पर्यटन क्षेत्रमा आर्थिक ह्रास आउने सम्भावना उनी देख्छन् । ‘अहिले चाडपर्वको मौसम भएकाले बैंकहरूले पनि कर्जा र किस्ता सम्झाइदिएका छैनन्,’ उनी भन्छन्, ‘छठपछि व्यवसायीको अवस्था दयनीय हुने देखिन्छ ।’ कोरोना कहरमा विदेशको पर्यटन नेपालको जस्तै सन् २०२० का लागि मलेसियाले पनि भ्रमण वर्ष घोषणा गरेको थियो । तर, कोरोना महामारी फैलिएपछि मलेसियाले भ्रमण वर्षको कार्यक्रम विघटन गर्यो । भ्रमण वर्षको विघटनलगत्तै मलेसियाले आन्तरिक पर्यटन प्रवद्र्र्धनका लागि ‘कुटी कुटी मलेसिया क्याम्पियन’ अघि बढाएको छ । मलेसियाले यसअघि ११ सेप्टेम्बर १९९९ मा नै सुरु भएको यो अभियानको सहारा लिएको हो । मलेसियाका संंस्कृृति तथा पर्यटनमन्त्री दातुक सेरी नान्सी शुक्रीले सन् २०२१ सम्म मलेसियामा विदेशी पर्यटक आउन नसक्ने अनुमान गरी आन्तरिक पर्यटनलाई नै चलायमान बनाउन यो अभियान प्रभावकारी बनाउनुपर्ने बताएकी छिन् । चीन, बेल्जियम, क्रोएसिया, ब्राजिल, कोस्टारिका, फ्रान्स, फिनल्यान्ड, जर्मनी, ग्रिस, इजिप्टलगायतका देशहरूले स्वास्थ्य प्रोटोकोल अपनाउँदै सीमित देशका लागि पर्यटन खुला गरेका छन् ।