NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

काठमाडौं भित्रिने सवारी साधन धुनुपर्ने !

काठमाडौं । अब नाकामा धोइपखाली गरेरमात्र सवारीसाधनहरू काठमाडौं भित्रिन पाउने भएका छन् । यातायात व्यवस्था विभागले बाहिरबाट उपत्यका भित्रने सवारी साधनलाई धोएरमात्रै भित्रिन दिन धुलाई केन्द्र (वास सेन्टर) सञ्चालन गर्ने योजना बनाएको छ । काठमाडौं उपत्यकामा सवारी साधनले भित्र्याउने प्रदूषण कम गर्न धुलाई केन्द्रको अवधारणा ल्याइएको विभागले जनाएको छ । धुलाई केन्द्र सञ्चालनका लागि गृहकार्य गरिरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । नका अनुसार गत आर्थिक वर्ष ०७६/७७ मा सरकारको नीति तथा कार्यक्रम र बजेट दुवैमा केन्द्र सञ्चालनको विषय समावेश थियो । उनले भने, ‘गत आवमा दुई करोड छुट्याइएको भए पनि हामीले खर्च गर्न सकेका थिएनौँ ।’ सरकार आफैँले केन्द्र सञ्चालन गर्नेभन्दा पनि सरकारले अनुमति दिने र नियमन गर्ने गरी छलफल भइरहेको निर्देशक पौडेलले बताए । निजी क्षेत्रले सरकारले तोकिएअनुसार केन्द्र सञ्चालन गर्न सक्ने गरी छलफल भइरहेको छ । केन्द्र सञ्चालन गर्ने व्यक्तिले तोकिएको रकम लिएर सवारी साधन धुन सक्ने गरी छलफल भइरहेको उनले जानकारी दिए । त्यसका लागि आवश्यक मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउनेछ । उनले भने, ‘वास सेन्टर कसरी सञ्चालन गर्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौँ ।’ केही दिन पहिले भौतिक पूर्वाधार मन्त्रालयको पहिलो त्रैमासिक समीक्षा बैठकमा विभागका महानिर्देशक गोगनबहादुर हमालले केन्द्र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको र मङ्सिरभित्रमा निर्णय गरिने बताएका थिए । केही वर्ष पहिलेदेखि नै काठमाडौँ उपत्यकामा प्रदूषण कम गर्न सवारी साधन धोएर मात्रै प्रवेश गराउनुपर्ने माग भइरहे पनि मन्त्रालयले निर्णय गरेको थिएन ।