NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

अन्ततः गले केपी ओली : शुक्रबार सचिवालय बैठक

काठमाडौं । लामो रस्साकस्सपछि नेकपा अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक बोलाउन तयार भएका छन् । ओली इतर पक्षले निरन्तर बैठक माग गर्दा पनि बेवास्ता गर्दै आएका ओली शुक्रबार बैठक बोलाउन तयार भएका हुन् । ओलीले महासचिव विष्णु पौडेललाई जिम्मा दिएपछि शुक्रबार साढे चार बजे बस्नेगरी बैठक बोलाइएको हो । नेकपामा सचिवालय बैठकका लागि अध्यक्ष प्रचण्ड, नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले पटकपटक अनौपचारिक बैठक गरी औपचारिक बैठकको लागि ओलीसँग मौखिक र लिखित आग्रह गर्दै आएका थिए । मंगलबार पनि उनीहरुले कुनै हालतमा शुक्रबारसम्म सचिवालयको बैठक राख्न ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले बैठकका नाममा गुटगत भेला भन्दै आफूले बैठक डाक्दै नडाक्ने अडान लिंदै आएका थिए । इतर पक्षले अब पनि बैठक नडाके सचिवालयको बहुमतको औपचारिक बैठक राख्ने चेतावनी दिएपछि ओली गलेका हुन् । खासगरी कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध महाअभियोग, मन्त्री हेरफेर, रअका प्रमुखको नेपाल भ्रमणपछि नेकपाको आन्तरिक शक्ति संघर्ष उत्कर्षमा पुगेको थियो । ओलीले पार्टी फुटाएर पहिले जस्तै अलगअलग हिडौं भन्ने प्रस्ताव गरेको भन्दै नेकपामा तीव्र ध्रुवीकरण हुँदै आएको छ ।