NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

उपत्यकाका अस्पतालमा रगत अभाव

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालहरूमा रगतको चरम अभाव भएको छ । रगत अभाव भएपछि विरामीको मागअनुसारको आपूर्ति दिन नसकेको रक्तसञ्चार केन्द्रहरूले बताएका छन् । कोरोना महामारी र ठूला चाडपर्वका कारण रक्तदान गर्नेहरू कम भएपछि रगतको अभाव भएको हो । रगत अभाव हुन थालेपछि उपत्यकाका रक्तसञ्चार केन्द्रहरूले विरामीका आफन्तबाट समूहका आधारमा रगत शोधभरण गराउन थालेका छन् । शोधभर्ना अन्तर्गत विरामीका आफन्तले रगत लिएबापत जुनसुकै समूहको रगत अस्पतालमा जम्मा गराउनुपर्छ । थापाथलीस्थित स्त्री तथा प्रसुती अस्पताल रगत अभाव भएका कारण विरामीका आफन्त लगायत अस्पतालको कर्मचारीबाटै रक्तसमूहका आधारमा रगतको शोधभरण गराउँदै आएको बताउँछ । कमलपोखरी स्थित हिमाल अस्पतालको रक्तसञ्चार सेवाले पनि शोधभरणकै आधारमा विरामीबाट रगत संकलन गर्दै आएकोे छ । शोधभरणबाट अस्पतालले अभावकै बीच पनि दैनिक २५ देखि ३० युनिट रगत संकलन गर्दै आएको छ । ‘क्याम्प आयोजना भएको बेलामा त हामीले सामान्य अवस्थामै रगत वितरण गर्दै आएका हुन्छौं,’ हिमाल अस्पतालको रक्तसञ्चार सेवा इन्चार्ज किरण योगीले भने, ‘अभावको समयमा भने मौज्दात व्यवस्थापन गर्न विरामीबाटै शोधभर्ना गराउँछाैं ।’ योगीका अनुसार अस्पतालमा दैनिक ५० देखि सय युनिट रगतको माग छ । जबकी अस्पतालले २५ देखि ३० यूनिट रातो रगत सहित दैनिक ६० देखि ७० युनिट रगत उपलब्ध गराउँदै आएको छ । ‘अहिले क्याम्पहरू चलिरहेका छैनन्, यस्तो अवस्थामा शोधभरण गर्नुको विकल्प छैन,’ उनी भन्छन् । सेतो रगत वा प्लेट्लेट्स लिने विरामी, एक वर्ष भन्दा मुनिका बालबालिका तथा क्यान्सरका विरामीका हकमा भने शोधभरण लागू नहुने योगीले बताए । मागको आधा रगत पनि आपूर्ति हुन सकेन कोरोना संक्रमणका कारण रगत संकलन स्वात्तै घटेको नेपाल रेडक्रस सोसाइटी बताउँछ । मागअनुसारको आपूर्ति नहुँदा रगत शोधभरण गर्नुको विकल्प नरहेको सोसाइटीका सूचना अधिकारी दिव्य राज पौडेल बताउँछन् । ‘रक्तदान गर्नेको संख्या निकै कम भएको अवस्थामा भन्नेबित्तिकै रगत पाइहाल्ने अवस्था छैन ।’ उनी भन्छन् । उनका अनुसार उपत्यकामा दैनिक ७० यूनिट रगत माग हुने गरेको छ । जबकी नेपाल रेडक्रस सोसाइटीले भने २० देखि ४० यूनिट रगत मात्र उपलब्ध गराउँदै आएको छ । कोरोनाको त्रास र संक्रमणको जोखिम, मानिसहरूको चहलपहल कम हुनु, रक्तदान गर्नको अनिच्क्षा, चाडपर्व लगायतका कारण दशैंयता उपत्यकाका रक्तसञ्चार केन्द्रहरूमा रगतको कमी भएको उनले बताए । ‘चाडवाडका बेला त पहिले पनि घट्थ्यो, तर अहिलेको जस्तो अभाव हुँदैनथ्यो,’ सोसाइटीका सूचना अधिकारी पौडेल भन्छन् । उनका अनुसार सामान्य अवस्थामा रक्तसञ्चार केन्द्रहरूले दैनिक ८० देखि ९० प्रतिशत रगत उपलब्ध गराउँदै आएका थिए । त्यसमध्ये १० प्रतिशतमा शोधभर्ना गर्दै आएका थिए । तर, पछिल्लो समय ५० प्रतिशत रगतको जोहो शोधभर्नामा आधारित छ । रगत अभावले दीर्घरोगी र दुर्घटनाका विरामी मारमा काठमाडौं उपत्यकामा हाल ७३ वटा रक्तसञ्चार केन्द्र छन् । त्यसमध्ये प्रसुती गृह, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायत केहीको आफ्नै रक्तसञ्चार केन्द्र छन् । पछिल्लो समय रगतको अभाव भएपछि रगत नभइ नहुने मुटु रोगी तथा डायलासिसका विरामी लगायतका दीर्घरोगी तथा दुर्घटनामा परेकाहरू मारमा पर्ने गरेका छन् । एक तथ्यांक अनुसार नेपालमा डायलासिस गर्नेको संख्या २५ सय देखि तीन हजारको हाराहारीमा छ । त्यसमध्ये एक तिहाई विरामीलाई महिनामा एक देखि दुई पोका रगत आवश्यक पर्छ । ‘उपत्यकामा रगत अभाव हुदाँ टाढाटाढाबाट खोजेर वा आफैंले जोहो गरेर मानिस रगत व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।’ राष्ट्रिय मृगौला रोग केन्द्र बनस्थलीका डा. ऋषि कुमार काफ्ले भन्छन् ।