NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रचण्डको ‘काउन्टर’ मा ओलीको अर्को प्रस्ताव आउने, अध्यक्षद्वयको प्रस्ताव केन्द्रीय कमिटीसम्म जाने

काठमाडौं । आज बसेको नेकपा सचिवालय बैठक सकिएको छ । आगामी १३ गते पुनः बैठक बस्नेगरी आजको बैठक समापन भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । गत शुक्रवारको सचिवालय बैठकमा नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको प्रत्युत्तर (काउन्टर)मा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले अर्को प्रस्ताव पेस गर्ने प्रवक्ता श्रेष्ठले बताए । दुवै अध्यक्षको प्रस्ताव सचिवालयबाट स्थायी समिति हुँदै केन्द्रीय समितिसम्म लैजाने निर्णय पनि आजको सचिवालय बैठकले गरेको छ । आगामी बैठकमा दुवै अध्यक्षको राजनीतिक प्रस्तावमाथि छलफल गरी निकास निकाल्ने प्रयत्न हुने पनि प्रवक्ता श्रेष्ठले बताए । नेकपाले यसअघि तय गरेको केन्द्रीय समितिको बैठक केही समय पर धकेलेर त्यसअघि स्थायी समितिको बैठक डाकिएको छ । प्रवक्ता श्रेष्ठका अनुसार आगामी १८ गते स्थायी समिति र २५ गते केन्द्रीय समितिको बैठक बस्नेगरी मिति तोकिएको छ ।